बिहीबार, असार ३२, २०८३

जग्गासँग दाउरा साट्छन् श्रीलंका टापुवासी !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बेलका (उदयपुर)- एकातिर बग्छ, उर्लंदो धमिलो कोशी । अर्कोतिर छ, पहिले कोशी नै बगेको एउटा सानो भँगालो । दुवैको बीचमा टापुझैं बसेको छ, विशाल भूमि । त्यही हो श्रीलंका टापु । 

हिन्द महासागर र अरेबियन सागरबाट घेरिएको दक्षिण एसियाली मुलुक श्रीलंकाजस्तै चारैतिर कोशीले घेरेकाले यस क्षेत्रलाई श्रीलंका टापु भनिएको हो । 

एकातिर सुनसरी र अर्कोतिर उदयपुरको बीच भागमा पर्छ, यो टापु । सुनसरी र उदयपुरका पाँच वटा वडामा फैलिएको छ । बराहक्षेत्र नगरपालिकाको वडा-६ र ९ अनि उदयपुरको बेलका नगरपालिकाका २, ३ र ९ वडा पर्छन् यसमा । 

हिउँदमा उदयपुरतिरबाट जसोतसो गाडी र पैदल पुग्न सकिन्छ । सुनसरीतर्फ भने सप्तकोशीमा चल्ने जोखिमयुक्त डुंगा चढेर मात्रै बाहिरी दुनियाँसँग आउजाउ गर्न सकिन्छ । 

सप्तकोशी नदी र त्यसको भँगालोले घेरेको टापुमा सडक छैन ।  बिजुली पुगेको छैन, उच्च शिक्षा पढाउने विद्यालय छैन । सामान्य उपचार गराउने स्वास्थ्य चौकी छैन । प्रहरी छैन । समग्रमा राज्यको कुनै प्रभावकारी उपस्थिति छैन । 

हरेक वर्ष कोशीले बर्सेनि गर्ने कटानको तुलनामा ती समस्या फिका लाग्छन् । टापुको करिब १० हजार जनसंख्यालाई उभिने भुईं मात्र छ । र, त्यसमा दुःखै दुःखको जीवन बिताइरहेका छन् । 

त्यही भुईं पनि हरेक वर्ष कोशीको उर्लंदो बाढीले कटान गरेर लैजान्छ । 'म यहाँ आउँदा पहिले जमिन परसम्म थियो,' बराहक्षेत्र-६ का वडा सदस्य श्यामबहादुर लिम्बुले आफ्नो घरबाट कोशी बगेको पल्लो कुनोतर्फ औंलो सोझ्याउँदै नेपाल समयसँग भने, 'अहिले त कोशी मेरो घरभन्दा सय मिटर मात्रै पर आइसकेको छ ।' 

एक दशकमा कोशी कटानले धेरै जनालाई विस्थापित बनाएको वडा सदस्य लिम्बु बताउँछन् । श्रीलंका टापुका एक्ला जनप्रतिनिधि हुन्, उनी ।
 
'बर्खाको मध्यरातमा स्वाँ आवाज निकालेर हावा चले पनि कोशीले आफ्नो घर छोप्न आएजस्तै लाग्छ ।'

'जमिन लान्छ, दाउरा दिन्छ कोशी'

टापुवासीको तनाव कोशीको जमिन कटानसँग छ । कोशीले कटान गरेर दुःख दिए पनि वर्षभरि पुग्ने दाउरा दिएर राम्रो पनि गरेको बताउँछन्, उनीहरू । बाढीले आफ्नै आधारभूमिलाई खियाउँदै गर्दा टापुका बासिन्दाको ध्यान भने बाढीमा बगेर आएका दाउरा सकिनसकी तान्नतिर जान्छ ।

२८ साउनमा भेलमा हेलिँदै दाउरा तान्न व्यस्त भेटिए, १७ वर्षीया बिना माझीदेखि ७० वर्षीय जगतबहादुर मगरसम्म । छोरा करण र बुहारी सम्झनाले कोशीबाट झिकेका दाउरा किनारामा काखको नाति च्यापेर तान्दै थिइन्, खड्गमाया श्रेष्ठ ।

६० वर्षीय बखतबहादुर श्रेष्ठको पूरै परिवार पनि दाउरा टिप्न व्यस्त थियो । डिल्लीराम माझी भने कुनै ठूलो दाउरा, मुढा बोकेर ल्याउने भेलमा पसेर पौडिँदै च्याप्प समातेर ल्याउँदै थिए । चालेर फाल्न मिल्ने सीधै फाल्थे । तान्न नमिल्ने मुढा भित्तामा राखेको बञ्चरोले पानीमै काटेर साना टुक्रा पार्दै जमिनतिर फाल्दै थिए । 

टापुवासीले दाउरा तान्दै गर्दा कोशीको प्रवाह बलौटे भित्तो भत्काउँदै सनसनाहट छाड्दै थियो । ३५ वर्षदेखि टापुमा बसेका ६० वर्षीय बखतबहादुर मगर भन्दै थिए, 'पोहोर सय मिटर माटो काट्यो । यो पाला त अलिक थोरै काट्यो ।' २८ साउन दिनभर गरेर चार मिटर माटो काटेको मगरले बताए । 

'हरेक वर्ष कोशीले हाम्रो जमिन लान्छ तर दाउरा दिन्छ,' पानीमै मुढा चिर्दै डिल्लीराम माझीले भने, 'कोशीले ल्याइदिएकै दाउराले हामी वर्षभरि आगो बाल्छौं ।'

सरकारले १० हजार जनसंख्याको थातथलो जोगाउन कटान मात्रै रोकिदिए शान्तसँग बाँच्न पाइने परिवारसहित दाउरा बटुल्न व्यस्त बखतबहादुर श्रेष्ठ बताउँछन् । भन्छन्, 'बर्खाको मध्यरातमा स्वाँ आवाज निकालेर हावा चले पनि कोशीले आफ्नो घर छोप्न आएजस्तै लाग्छ ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।