काठमाडौं- सामाजिक सञ्जाल टिकटक, युट्युब र फेसबुकमा मौसमी रोजगारका लागि विभिन्न देशका नागरिकहरू धमाधम बेलायत उड्न थालेको भिडियो अहिले चर्चामा आइरहेको छ। बेलायतबाट मौसमी रोजगारका लागि भिसा पाएको पत्र देखाउँदै भिसा देखाउनेदेखि त्यहाँ कसरी जान सकिन्छ भन्ने जानकारीमूलक भिडियोले धेरै नेपालीको ध्यान खिचेको छ।
कतिपयले ६ देखि १० लाखसम्म रकम तिरेर बेलायतमा मौसमी भिसाका लागि प्रयास गरिरहेको सामाजिक सञ्जालमै बताइरहेका छन्। बेलायतको कृषिसम्बन्धी कम्पनीमा काम गर्न ६ महिना समयावधिको रोजगारमा आकर्षण बढेको छ।
वैदेशिक रोजगार कार्यालय काठमाडौंका अनुसार सन् २०२० जुलाईदेखि २०२१ जुलाईसम्म एक जना मात्र पुरुषले स्वीकृति लिएका थिए। यस्तै सन् २०२१ को जुलाईदेखि डिसेम्बरसम्म ३४ जना पुरुषले बेलायतका लागि श्रम स्वीकृति लिएका छन्।
सन् २०२२ मेसम्म अर्थात् यो वर्षको जेठसम्म ७७५ जनाले स्वीकृति लिएका छन्। सबैभन्दा धेरै जेठमा ४१० जनाले स्वीकृति लिएका छन्। यीमध्ये महिलाको संख्या १२८ जना छ।
तर वैदेशिक रोजगार ऐनले मौसमी कामदार नचिन्ने वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन्। उनी भन्छन्, ‘व्यक्तिगत श्रम स्वीकृति व्यक्ति आफ्नो प्रयासमा जाने हो। व्यक्तिगत श्रम स्वीकृतिमा गएर काम गर्ने गरेको देखिएको छ। बिचौलियाले यही बहानामा ठगी र चलखेल गरेको भन्ने हामीले सूचना पाएका छौं। तर हामीसँग ठगीको उजुरी आएको छैन।’
विकसित देशहरूले मौसमी रोजगारमा विभिन्न देशका श्रमिक लैजाने गर्छन्। नेपालको हकमा भने मौसमी रोजगारबारे स्पष्ट व्यवस्था छैन।
कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।
विभागले यसलाई कानुनी रूपमा वैधानिकता दिनुपर्ने बताउँदै आएको छ। मौसमी कामदारको सामाजिक सुरक्षा, चोटपटक वा मृत्यु हुन सक्छ। त्यस्तो अवस्थामा राहत, उद्दार र क्षतिपूर्तिका विषयमा स्पष्ट व्यवस्था गरेर यसलाई व्यवस्थित बनाउन छलफल भइरहेको पौडेलले बताए। अहिले रोजगारदाता कम्पनी र व्यक्तिबीच श्रम सम्झौता हुन्छ। सम्झौताअनुसार भिसा आउँछ र त्यसपछि प्रक्रियागत रूपमा श्रम स्वीकृत लिएरै जाने गरेका छन्।