भद्रपुर- स्थानीयले कर वृद्धि गरिएको करको विरोधमा झापाको मेचीनगरमा प्रदर्शन गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजी गरेका थिए । उनीहरुले नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएको राससले जनाएको छ ।
उनीहरूले अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी गरिएको कर वृद्धि तत्काल फिर्ता गरी वैज्ञानिकरूपमा कर निर्धारण गर्न माग गरेका छन् । आफूहरू कर र विकासविरोधी नभएको तर जनताको सामर्थ्यभन्दा बाहिर गएर जबर्जस्ती ढङ्गले कर वृद्धि नगर्न नगरपालिकालाई सचेत गराए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीलाई उनकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै पार्टीका नेता प्रकाश खड्काल यो शान्तिपूर्ण आन्दोलनलाई स्थानीय सरकारले बेवास्ता गरी समयमै उचित सम्बोधन नगरे चरणवद्ध आनदोलनमा जाने चेतावनी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४