काठमाडौं- सबल अर्थतन्त्रको सूचक सेयर बजारमा निरन्तर गिरावट आएपछि सरकारले बजार सुधारका लागि समिति नै गठन गरिसकेको छ। सेयर बजार सुधारको माग गर्दै लगानीकर्ता अनशनमा समेत बसेका छन्।
तर साताको पाँचौं कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक ४५.२५ अंकले घटेको छ।
बिहीबार नेप्से परिसूचक १ हजार ८४८.२८ बिन्दुमा झरेको हो। कारोबारमा आएका २३७ कम्पनीको ५० लाख ८ हजार ७७१ कित्ता सेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३४.९२ मा खरिद बिक्री भएको छ।
बजार सुधारका लागि लगानीकर्ता आन्दोलित भइरहँदा नेप्से झनै ओरालो लागेको छ। ३२०० मा पुगेको बजार १ हजार ८४८ बिन्दुमा झर्दा लगानीकर्ताले खर्बौं गुमाइसकेका छन्।
त्यसो त सेयर बजार नेपालमा मात्र घटेको होइन। पछिल्ला केही महिनायता विश्वका प्रायः सेयर बजार ओरालो लागेका छन्। कोभिडको असर कम भए पनि ब्याजदर र मूल्यवृद्धिले नयाँ रेकर्ड कायम गरिरहेकाले सेयर बजारमा उच्च गिरावट आएको हो। अमेरिका, युरोप र एसिया क्षेत्रका सेयर बजारमा उच्च गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
अमेरिकी सेयर बजार वालस्ट्रिटका प्रमुख सूचक बुधबार घटेर बन्द भए। वित्तीय एवं सेवा क्षेत्रका कम्पनीको बाहुल्य भएको ‘एस एन्ड पी ५००’ सूचक ०.१३ र सूचना प्रविधि एवं बायोटेक्नोलोजी कम्पनी सूचीकृत रहेको ‘नास्डाक’ कम्पोजिट ०.१५ प्रतिशत घटेको थियो। मासिक रूपमा ‘एस एन्ड पी ५००’ सूचक ५.३८ र वार्षिक रूपमा ११.३६ प्रतिशत घटेको देखिन्छ। यस्तै मासिक रूपमा ‘नास्डाक’ मा ४.१८ र वार्षिक रूपमा २२.५५ प्रतिशत गिरावट आएको छ। एक वर्षको अवधिमा अमेरिकाका सबै सेयर बजार कम्तीमा ५ प्रतिशतभन्दा धेरैले घटेको देखिन्छ ।
अमेरिकाजस्तै युरोप क्षेत्रका सेयर बजारमा पनि भारी अंकले गिरावट भएको छ। बुधबारको कारोबारमा पेरिसस्थित ‘क्याक ४०’ सूचक ०.२४ र फ्र्यांकफर्टस्थित ‘ड्याक्स’ सूचक १.१३ प्रतिशत घटेर बन्द भएका छन्। मासिक र वार्षिक रूपमा पनि ती सूचकमा भारी गिरावट भएको देखिन्छ। यसअनुसार ‘क्याक ४०’ सूचक मासिक ७.१५ र वार्षिक १०.९५ प्रतिशत घटिसकेका छन्। ‘ड्याक्स’ सूचकमा मासिक र वार्षिक रूपमा क्रमशः ८.३२ र १५.९२ प्रतिशतको गिरावट आएको छ।
यता एसिया क्षेत्रका प्रमुख सेयर बजारमा पनि उच्च गिरावट छ। जापानको ‘निक्केई’ मासिक २.१६ प्रतिशत र वार्षिक रूपमा ९.३६ प्रतिशत घटेको छ। हङकङको ‘हेङसेङ’मा २६.१८ प्रतिशतको गिरावट आएको छ। चीनको ‘सांघाई कम्पोजिट’ वार्षिक १५.६१ प्रतिशतले घटेको छ।
दक्षिण एसियामा भारतको सेयर बजारमा पनि भारी गिरावट आएको छ। आर्थिक रूपले टाट पल्टेको श्रीलंकाको बजार पनि घट्ने नै भयो।