धनगढी- बाजुराको बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीचमा रहेको द्ववारीमा बुढीगंगा नदी थुनिने खतरा बढेको छ।
बर्षातका कारण त्रिवेणी नगरपालिका-९ पैमा गाँउबाट पहिरो झर्न शुरु भएपछि नदी थुनिने खतरामा बढेको हो। त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलले एक हप्तादेखि लगातार पहिरो बग्न थालेपछि द्ववारीमा बुढीगंगा नदी थुनिने खतरा बढेको बताए।
बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले नदीको करिब दुई तिहाई भाग थुनिएको र एक भागबाट मात्र पानी बगिरहेको जानकारी दिए। लगातार पहिरो बढदै गएपछि र ठुला ढुङ्गा बीचमा आएर अड्किएपछि जतिबेला पनि नदि थुनिन सक्ने खतरा रहेको उनले सुनाए।
नदी थुनिने जोखिम बढेपछि तीन वटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको उनको जानकारी दिए। पैमा गाँउबाट लगातार पहिरो खसिरहेको र नदि एक छेउतिर गएपछि बुढीगंगा नगरपालिका-१ अम्कोटको तलबाट पहिरो बग्न शुरु भएको स्थानीय नविन थापाले जानकारी दिए। नदी थुनिने खतरासंगै नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल र साँफे–मार्तडी सड्क खण्ड पनि उच्च जोखिममा परेका छन्।
बाजुरामा नदी थुनिने खतरा सँगै छिमेकी अछाममा पनि उच्च सर्तकता अपनाइएको छ। अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायले अछामबाट शसस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा खतराको अध्ययन भईरहेको जानकारी दिए।
नदी थुनिने खतरासंगै त्यहाँ नजिक आवतजावत बन्द गरिएको छ भने झोलुंगे पुलमासमेत आवतजावत बन्द गरिएको छ। द्ववारीबाट पैमा गाँउमा जाने बाटो समेत बन्द भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४