काठमाडौं- नेपाली उत्पादन प्रवर्द्धन तथा विक्री बितरणको लागि 'एमएसएमई नेपाल' साइट सार्वजनिक भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा नेपाल घरेलु तथा साना उद्योगले ई-कमर्स साइट बिहीबारदेखि सार्वजनिक गरेको हो।
यहाँबाट रोजौं नेपाली, खाजौं नेपाली नाराका साथ स्वदेशी उत्पादन बिक्रीवितरण वितरण गरिने छ।
ई-कमर्स साइट उद्घाटन कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगीले बजारीकरणको लागि डिजिटल प्लेटफर्म खोज्नु सह्रानीय कार्य भएको बताए।
मन्त्री बडूले विगत केही वर्षदेखि आर्थिक वृद्धि र विकास सकारात्मक हुन नसकेको बताउँदै निर्यात बढाउनु पर्ने बताए।
उनले उत्पादन लागत घटाउने र गुणस्तर बढाउने सरकारको योजना रहेको बताए। यसले मुलुक आत्मनिर्भर हुनुका साथै व्यापार घाटा कम हुने विश्वास व्यक्त गरे।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले अहिलेसम्म स्थानीय उत्पादनले सहजै बजार नपाउने अवस्था रहेको बताए। उनले आगामी दिनमा भने डिजिटल माध्यमबाट स्थानीय उत्पादन प्रवर्द्धन र बिक्रीवितरणमा सहयोग पुग्ने बताए।
घरेलु तथा साना उद्योगबाट उत्पादित गुणस्तरीय हुँदा पनि बजार नपाउने समस्यालाई डिजिटल व्यवसायले चिर्ने बताए।
तत्काल नेपाली बजार हुँदै अन्तर्राष्ट्रिय बजारमा स्थानीय उत्पादन पुर्याउने लक्ष्य रहेको उनको भनाइ थियो। अन्तर्राष्ट्रिय बजारमा लैजान भुक्तानीमा हुने समस्या सहजीकरण गर्न सरकारलाई आग्रहसमेत गरेका छन्।
कोभिडका कारण विगतमा बजारमा लैजान वञ्चित भए पनि अब भने डिजिटल प्रणालीबाट वस्तुको बिक्रीवितरण उनले गरिने बताए।
उनले स्थानीय स्तरमा भएका उत्पादन घरबाटै बसेर बिक्री गर्न सकिने र किन्न सकिने बताए। पहिलो पटक भएका कारण अहिले राष्ट्रिय स्तरमा सञ्चालन हुने र बिस्तारै विश्व बजारमा पुर्याउने अध्यक्ष सिंहले बताए।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले डलरमा निर्यातमा गर्न सकिने व्यवस्था गराउन सरकारले सहयोग गरेमा अन्तर्राष्ट्रिय बजारमा व्यापारलाई विस्तार गर्न सकिने बताए।