काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग प्रसाद विश्वकर्मा 'प्रकाण्ड' लार्इ काठमाडौं जिल्ला अदालतले दुर्इ दिनको म्याद थप गरेको छ।
गैरकानूनी रुपमा ७ करोडभन्दा बढी चन्दा उठाएको भन्दै साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई अदालतले दुर्इ दिनको म्याद थपको आदेश गरेको हो। उनलार्इ मंगलबार एक दिन म्याद थप गरिए पनि प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भएकोले दुर्इ दिनको म्याद थपको माग गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक मोहन कुमारले बताए।
प्रकाण्डविरुद्ध गैरकानुनी रुपमा चन्दा उठाएको भन्दै दक्षिणकाली नगरपालीकाको चाल्नाखेलबाट पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ।
सर्वोच्चले सोमबार बाटो म्याद बाहेक ४८ घन्टा भित्र उनलार्इ सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कायम मुकायम प्रधानन्यायाधीस ओम प्रकाश मिश्रको एकल इजलासले सरकारको नाममा थुनामा राख्नुको लिखित कारण सहित बाटोको म्याद बाहेक ४८ घन्टा भित्र सर्वोच्च अदालतमा पेस गर्न आदेश दिएको थियो।
अवैध रुपमा चन्दा उठाएको अभियोगम पक्राउ गरी गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै प्रकाण्डका छोरा नरेन्द्र बहादुर सिंह विकले आइतबार बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए।
पटक-पटक गरी उनलार्इ म्याद थप गरिएकोले उनी ९ दिनदेखि थुनामा छन्। २४ दिनसम्म छानविन गर्नका लागि न्यायिक हिरासतमा राख्न पाउने कानुनी प्रावधान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४