काठमाडौं- नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) र हवाई सेवा संचालक संघबीचको 'टसल' तत्कालका लागि अन्त्य भएको छ। बुधबार दिउँसो बसेको क्यान र संघबिचको छलफलले सहमति जुटाएको हो।
संघका अध्यक्ष रामेश्वर थापाले रात्रिकालीन बिसानका लागि पूर्वाधार तयार पार्नेसम्मका लागि समय थप गर्ने निर्णयसहित सहमति भएको बताए। नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का उपमहानिर्देशक एवम् प्रवक्ता जगन्नाथ निरौलाले पनि असमझदारी सकिएसँगै नियमित उडान सुरु भएको बताए। ‘सञ्चालकहरुको बुझाइमा केही फरक परेको रहेछ स्पष्ट पार्यौँ,' उपमहानिर्देशक निरौलाले भने, ‘उहाँहरूका मागका विषयमा हामी सकारात्मक छौँ।’ रात्रिकालीन बिसान बाहेकका मागहरु आवश्यकता अनुसार पुरा गरिने निरौलाको भनाइ छ।
प्राधिकरणले असार ५ मा निर्देशन जारी गर्दै हेलिकप्टर कम्पनीले असार ७ बाट र हवाइजहाज कम्पनीले असार १३ गतेदेखि तोकिएको आधार विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने बताएको थियो। सोही निर्देशनमा कम्पनीहरले असहमति जनाएका हुन्।
रात्रिकालिन विसान उपत्यका बाहिर गर्ने निर्णय र्फिता लिनुपर्ने लगायतका पाँच बुदे माग राख्दै संघले सेवा अवरुद्ध गर्ने चेतावनि दिएको थियो।
मंगलबार दुवै पक्षले पत्रकार संम्मेलन गर्दै संघले सेवा अवरुद्ध गर्ने चेतवनी दिएका थिए भने प्राधिकरणले रोके सरकार हेरेर नबस्ने चेतावनी दिएका थिए। यद्यपि मंगलबार राति दुवै पक्षको वार्ताले बुधबार दिउँसो वार्ता गर्ने सहमतिमा सेवा अवरोध नगर्ने निर्णय गरेका थिए।
यद्यपी कम्पनीहरु तोकिएकै बेस स्टेसन (रात्रिकालिन बिसान) बाट दिनको पहिलो उडान गर्न तयार भएपनि कहिलेदेखि लागु गर्ने भन्ने निचोड निस्किएको भने छैन।