काठमाडौं- वायुसेवा सञ्चालक संघले बुधबारका लागि घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयमा आफू पनि सहभागी भएको भन्दै बुद्ध एयरले क्षमा मागेको छ।
बुद्ध एयरले सामाजिक सञ्जालमार्फत आगामी दिनमा उडान नै रोक्ने निर्णयमा सहभागी नहुने जनाएको हो।
'अत्यावश्यक सेवाअन्तर्गतको उडान बन्द गर्ने निर्णय यथोचित होइन। वायुसेवा कम्पनी, यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जनको थलो हो। हाम्रो आन्तरिक समस्या समाधान गर्नका लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय होइन,’ बुद्ध एयरले भनेको छ।
आन्तरिक उडानमा दुईवटा अमेरिकी बिचक्राफ्ट र १४ वटा युरोपियन एटीआर विमान गरी १६ वटा जहाज उडाउँदै आइरहेको बुद्धले मंगबलार संघसँग ऐक्यबद्धता जनाउँदै उडान बन्द गर्ने निर्णयमा साथ दिएकोमा आत्मालोचना गर्दै आगामी दिनमा उडान नै रोक्ने निर्णयमा सहभागी नहुने जनाएको छ। आत्मआलोचना गर्दै आगामी दिनमा आफूहरूका कारण उडान सेवा अवरुद्ध नहुने बुद्ध एयरले प्रण गरेको छ।
काठमाडौंबाट दैनिक ३ सय हाराहारीमा आन्तरिक उडान हुने गरेको छ। त्यसमध्ये बुद्धले मात्रै दैनिक १ सय ४० वटासम्म उडान गर्छ।
बुद्धले हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङतर्फ रातिको समयमा क्षमताभन्दा बढी जहाजहरू रहेको जनाउँदै यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुने उल्लेख गरेको छ।
धेरै अगाडिको अध्ययनले पार्किङ क्षेत्रमा १७ वटा जहाजहरूको क्षमता रहेको देखाइएको र यसै कारणले नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवाहरूलाई त्यसभन्दा बढी जहाजहरू काठमाडौं बाहिर रात्रि बिसान गर्न निर्देशन दिएको बुद्ध एयरको भनाइ छ।
‘आजको परिस्थितिमा त्यस पार्किङ थलोमा सुधार भएको छ र अहिले १७ वटा जहाजहरूभन्दा बढी रात्रि
बिसान हुने अवस्था छ। प्राधिकरणले सोहीअनुरुप काठमाडौंमा रात्रि बिसान हुने जहाजहरूको संख्या बढाउने आश्वासन प्राप्त भएको छ। यसले नेपाली यात्रुहरूलाई उल्लेख्य सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुने छ,’ बुद्धले भनेको छ।