शनिबार, वैशाख २७, २०८२

राजनीतिक दबाबमा बन्छन् जहाज नउड्ने विमानस्थल

देशभर ५६ वटा विमानस्थल छन्, तर हवाईजहाज उडान र अवतरण ३२ वटा विमानस्थलबाट मात्रै हुन्छ। सञ्चालनमा रहेका पनि करिब एक दर्जन विमानस्थलमा सातामा एक वा दुईवटा मात्रै उडान हुन्छ।
 |  आइतबार, साउन २४, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

आइतबार, साउन २४, २०७८

vianetvianet

काठमाडौं– देशभर ५६ वटा विमानस्थल छन्, तर हवाईजहाज उडान र अवतरण ३२ वटा विमानस्थलबाट मात्रै हुन्छ। सञ्चालनमा रहेका पनि करिब एक दर्जन विमानस्थलमा सातामा एक वा दुईवटा मात्रै उडान हुन्छ।

triton college

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २० वटा विमानस्थलमात्रै सहज रुपमा सञ्चालित छन्। अन्य विमानस्थल जेनतेन चलेका छन्। १६ वटा विमानस्थल वर्षौंदेखि ठप्प छन्।

मनाङको हुम्डे विमानस्थलमा १० वर्षमा दुई पटक मात्र विमान अवतरण गरेको छ। उक्त विमानस्थल २०३९ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो। ९०० मिटर लामो धावनमार्ग रहेको सो विमानस्थलमा अन्तिम पटक ०७६ भदौ २८ गते समिट एयरको विमान अवतरण गरेको थियो। 

हुम्डे मात्रै होइन, यस्ता १६ विमानस्थल छन् जहाँ वर्षौंदेखि एउटा पनि उडान भएको छैन। विमानस्थलमाथिको लगानी बालुवामा पानी हालेजस्तो भएको छ। कैयौं विमानस्थल त गौचरण बनिसकेका छन्। 

गोरखाको पालुङटार विमानस्थलमा ०३५ सालदेखि कुनै विमान अवतरण भएको छैन। यो विमानस्थल ०१६ सालमा निर्माण सुरु भई ०१८ सालदेखि सञ्चालनमा आएको थियो। बाग्लुङको बलेवा विमानस्थल पनि वर्षौंदेखि बन्द छ। 

National life insurance

दाङको टारीगाउँ विमानस्थलको उडान पनि करिब बन्द अवस्थामा छ। खोटाङको लामीडाँडा विमानस्थल पनि बन्द नै छ।

बैतडीको पाटनमा रहेको विमानस्थल र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर विमानस्थल पनि गौचरणमा परिणत भएको छ। कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पनि वर्षौंदेखि बन्द छ। 

बझाङ विमानस्थल, ढोरपाटन विमानस्थल, डोटी विमानस्थल, जिरी विमानस्थल, काँगेलडाँडा विमानस्थल, लाङटाङ विमानस्थल, मसिनेचौर विमानस्थल, रोल्पा विमानस्थल, स्याङ्बोचे विमानस्थल, कैलालीको टीकापुर विमानस्थल र अछामको कमला विमानस्थलमा पनि उडान हुन सकेको छैन।

सञ्चालनमा रहेका एक दर्जन बढी विमानस्थलमा पनि जहाजको खासै चाप छैन।  ओलखढुंगाको रुम्जाटार विमानस्थल सञ्चालित विमानस्थलको सूचीमा रहे पनि पछिल्लो एक वर्षयता त्यहाँ जहाज अवतरण भएको छैन। 

सरकारी स्वामित्वको नेपाल एयरलायन्ससँग जहाज कम हुनु र भएका जहाज उडाउने पाइलट अभावका कारण विमानस्थलमा नियमित उडान हुन नसकेको निगमका अधिकारी बताउँछन्। निजी हवाई सेवा प्रदायकले पनि परीक्षण उडान गरे पनि यात्रु नपाएको भन्दै उडान रद्द गरेका छन्। यिनै कारणले सञ्चालित विमानस्थल पनि विमानविहीन अवस्थामा पुगेको उड्डयन क्षेत्रका विज्ञ वीरेन्द्रबहादुर देउजा बताउँछन्। 

उनका अनुसार विना अध्ययन स्थानीयको माग र नेताहरुको रुचिमा विमानस्थल बनाएकै कारण कैयौं विमानस्थल गौचरण बनेका छन्। ‘गाडी पुग्न कठिन रहेका कतिपय पहाडी र ग्रामीण क्षेत्रमा आपतकालीन अवस्थाका लागि भए पनि विमानस्थल निर्माण गर्नु ठिकै रहे पनि राजनीतिक दबाबमा जथाभावी विमानस्थल बनाउनु राज्यको पैसा स्वाहा बनाउनु मात्रै हो’, उनले भने। 

एकातिर भएका विमानस्थल वर्षांैदेखि गौचरण बनेका छन् भने नयाँ विमानस्थल पनि धमाधम बनिरहेका छन्। दाङको तुलसीपुरस्थित टरीगाउँ विमानस्थल करिब अलपत्र अवस्थामा छ। तर अर्को विमानस्थल बनाउने तयारी सुरु भएको छ। नारायणपुरमा विमानस्थल बनाउन इन्जिनियरिङ र प्राविधिक काम धमाधम भइरहेको छ। प्राधिकरणकै अधिकारीहरु उक्त क्षेत्रमा विमानस्थल आवश्यक नभएको बताउँछन्। तर, काम भइरहेको छ। 

‘भएको विमानस्थल बन्द छ। तर, त्यही ठाउँमा अर्को विमानस्थल बनाउनुपर्ने आवश्यक थिएन। तर यहाँ दबाबले काम गर्छ,’ एक अधिकारीले भने। उनका अनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरलेको दबाबमा दाङमा अर्को विमानस्थल बनाउने काम अघि बढाउन लागिएको हो। संघीय सरकारमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जुन मन्त्री आउँछ, उसले आफ्नो क्षेत्रमा विमानस्थल निर्माणको घोषणा गर्ने केही भए पनि काम अघि बढाउने प्रवृत्ति छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काभ्रेको दुरी मुस्किलले ५० किलोमिटर छ। यति दुरीको बीचमा अर्को विमानस्थल बनाउने तयारी भइरहेको छ। काभ्रेको नागीडाँडा नभए बनेपा त्यो पनि नभए धुलिखेलमा बनाउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ। नागिडाँडामा एयरपोर्ट बनाउन १० अर्बसम्म लागत लाग्ने अनुमान नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक अनुमान छ। 

त्यहाँ बढीमा १२ सय मिटर लामो धावनमार्ग भएको विमानस्थल बन्ने छ। यति सानो धावनमार्गमा अहिले आन्तरिक उडान गरिरहेका एटीआर र त्यस्तै ठूला जहाजले उडान र अवतरण गर्न सक्दैनन्। त्यो एयरपोर्ट दुर्गममा उडान गर्ने ट्विनअटर साइजका जहाज र हेलिकप्टरले मात्र प्रयोग गर्न सक्छन्। यस्तो अवस्थामा उक्त ठाउँमा विमानस्थल बनिहाले पनि काठमाडौंबाट लुक्ला, तुम्लिङटार र पूर्वका पहाडी जिल्लाका उडान मात्र सार्न सकिनेछ। यो विमानस्थल पनि काभ्रेका एमाले नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको दबाबमा बनाउन लागिएको हो। 

धनकुटा, धरान, इलाम, गुडेल (सोलुखुम्बु), अर्घाखाँची, गुल्मी, हुम्ला (मदनखोला), पाँचथर (रानीटार), प्यूठान (स्वर्गद्वारी), निजगढ विमानस्थल (बारा), तेह्रथुम (चुहानडाँडा), उदयपुर (जोगिदह), सिन्धुली, बागलुङ (अरङकोट) र चरङ (मुस्ताङ)मा विमानस्थल बनाउन प्रस्ताव गरिएको छ। 

यीमध्ये काभ्रे, दाङको नारायणपुर, तेह्रथुमको चुवानडाँडा, उदयपुरको जोगीदास र सिन्धुलीमा सम्भाव्यता अध्ययन भइरहेको छ भने इलाम, अर्घाखाँची, गुल्मी र गुडेल (सोलुखुम्बु) विमानस्थल निर्माणका क्रममा छन्। 

निर्माण हुँदै गरेका र अध्ययन भइरहेका अधिकांश विमानस्थल राजनीतिक पहुँच र प्रभावका आधारमा भएको प्राधिरकणकै अधिकारीहरु बताउँछन्। प्रस्तावित विमानस्थल बनाउन त परको कुरा, अध्ययनमा मात्रै अर्बांै खर्च हुने उनीहरुको भनाइ छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आन्तरिक उडानका लागि एउटा विमानस्थल तयार पार्न कम्तीमा १५ अर्बभन्दा बढी लाग्छ। 

सरकारले आगामी ५ वर्षभित्र विमानस्थलको स्तरोन्नतिका लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। प्राधिकरणका अनुसार देशको हवाई पूर्वाधार निर्माणका लागि सो रकम खर्च गरिनेछ। ५ वर्षभित्र अन्तर्राष्ट्रिय हवाई पूर्वाधारतर्फ २ खर्ब ५० अर्ब रुपैयाँ खर्च गर्ने योजना रहेको प्रवक्ता क्षेत्रीले बताए। त्यसमा १ खर्ब ५० अर्ब रुपैयाँ निजगढ विमानस्थलको पहिलो चरणको काम सम्पन्न गर्न खर्च हुनेछ।

आन्तरिकतर्फ हवाई पूर्वाधार निर्माणमा ४६ अर्ब रुपैयाँ खर्च हुने भएको छ। जग्गा अधिग्रहणका लागि भने आगामी ५ वर्षभित्र आन्तरिक विमानस्थलका लागि ३४ अर्ब ६० करोड रुपैयाँ लागत लाग्ने अनुमान छ। यो रकम विराटनगर, नेपालगन्ज, धनगढी र महेन्द्रनगर विमानस्थलको स्तरोन्नतकिा लागि खर्च हुनेछ। 


प्रकाशित: Aug 08, 2021| 14:19 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्