काठमाडौं- अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा दुई जना सहसचिवलाई महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ। यसअघि महाशाखा प्रमुख रहेका रमेशकुमार केसीको सरुवा नगरी सहसचिव राजेश्वर ज्ञवालीलाई उक्त महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको हो।
मन्त्रालयको स्वीकृत संगठन संरचनानुसार एकजना सहसचिव मात्रै महाशाखा प्रमुख हुने व्यवस्था छ। यस महाशाखामा १ जना सहसचिव, ५ जना उपसचिव रहने व्यवस्था छ। ज्ञवालीलाई मन्त्रालयमा तानेर दरबन्दी नै नभएको ठाउँमा अतिरिक्त दरबन्दी थप गरेर जिम्मेवारी तोकिएको छ। मन्त्रालयको वेबसाइटमा महाशाखा प्रमुखको रुपमा दुवै जनाको फोटो राखिएको छ। ज्ञवाली अर्थ मन्त्रालय अन्तर्गतकै सार्वजनिक वित्त तालिम केन्द्रका तालिम प्रमुख समेत हुन्।
उनलाई बजेट निर्माण हुनुभन्दा अगाडिदेखि नै उक्त महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको थियो। अर्थमन्त्री शर्मा निकट मानिने रमेशकुमार केसीलाई अर्थमन्त्रीले सरुवा गर्न नचाहेपछि अहिले एउटै महाशाखामा दुई प्रमुख बन्ने अवस्था आएको मन्त्रालयका एक सहसचिवले बताए। ज्ञवाली नेपाली कांग्रेस निकट मानिन्छन्। रमेशकुमार केसीले महाशाखा छोड्न नचाहेपछि सहसचिव ज्ञवालीले आफ्नो तस्बिर मन्त्रालयको वेबसाइटमा राख्न लगाएको अर्थ मन्त्रालय स्रोत बताउँछ।
आफ्नो तस्बिर मन्त्रालयको वेबसाइटमा किन नराखिएको भन्दै मन्त्रालयको प्रविधि हेर्ने कर्मचारीलाई ज्ञवालीले तस्बिर राख्न लगाएको अर्थ मन्त्रालय स्रोत बताउँछ। पछिल्लो समय अर्थ मन्त्रालयमा अराजकताको सीमा नाघेको मन्त्रालयका एक सहसचिवले बताए। एकपछि अर्को विवादित काम गरिरहेका अर्थमन्त्री शर्माकै कारण 'सुपर मिनिष्ट्री' मानिने अर्थ मन्त्रालयको शाख धूमिल भएको टिप्पणी उनले गरे।
‘अर्थ मन्त्रालयमा एकपछि अर्को गर्दै विकृतिका श्रृङ्खला चलिरहेका छन्,’ ती सहसचिवले भने, ‘मन्त्रीको तजबिजमा काम हुन्छ, मन्त्रालयको शाख केही बाँकी रहेन। सुपर मिनिस्ट्री अब इतिहास भयो।'