आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यतामा जुट्यो अर्थ मन्त्रालय

हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यतामा जुट्यो अर्थ मन्त्रालय

 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो।

छलफलमा अर्थमन्त्री शर्माले सुरुमा १०० मेगावाटको हाइड्रोन प्लान्टको गृहकार्य अघि बढाउनुपर्नेमा जोड दिए। विकसित देशहरू धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको प्रसंग निकाल्दै अर्थमन्त्री शर्माले तत्काल १०० मेगाावाटको हाइड्रोजन प्लान्ट लगाउने विषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन केयूका पदाधिकारीलाई निर्देशन दिए।

‘हाइड्रोजन प्लान्ट लगाउने विषयमा अर्थ मन्त्रालयका तर्फबाट केही तयारी गर्छौं। तपाईंहरू पनि तयारी गर्नुस्। पुनः साता–दस दिनभित्र अर्को बैठक बसांै,’ उनले भने।

अर्थमन्त्री शर्माले लगानी बोर्डमार्फत लगानीकर्ताको खोजी गरिने प्रतिबद्धता जनाए। रासायनिक मल कारखाना खोल्न विभिन्न देशका अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाइरहेको जानकारी गराउँदै मन्त्री शर्माले हाइड्रोजन इन्धनबाट मल कारखाना सञ्चालन गर्ने बिषयमा छलफल अघि बढाइने बताए।

छलफलमा ग्रीन हाइड्रोइजन ल्याबका प्रमुख विराजसिंह थापाले १०० मेगावाटको ग्रीन हाइड्रोजन प्लान्ट डेढ वर्षमा तयार गर्ने गरी अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरिरहेको सुनाए। उनले विभिन्न देशमा ग्रीन हाइड्रोजनको अभ्यास तथा पेट्रोलियमलाई विस्थापित गरी ग्रीन हाइड्रोजन अवलम्बन गर्ने नीतिबारे जानकारी गराए।

उनका अनुसार १ किलो हाइड्रोजन इन्धन उत्पादन गर्न ९ किलो शुद्ध पानी चाहिन्छ। विश्वको तुलनामा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न धेरै सस्तो भएको उनले जिकिर गरे।

‘हिमालयन देशको शुद्ध पानी हाइड्रोजन उत्पादनका लागि उपयुक्त हुने विभिन्न अध्ययनले देखाएको छ।  त्यसैले नेपालको हिमाली तथा पहाडी क्षेत्रको पानी प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्न सके धेरै फाइदा पुग्छ। निर्यातमा कोसेढुंगा सावित हुन सक्छ,’ थापाले भने।

प्रकाशित: Jun 21, 2022| 15:24 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्