काठमाडौं–सरकारी स्वामित्वको नेपाल आयल निगमले एक वर्षे अवधिमा पेट्रोलियम पदार्थको मूल्य झन्डै २० पटक बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थमा मूल्य बढाउनुपरेको निगमले तर्क दिँदै आए पनि मूल्यवृद्धिको शृंखलाका कारण बजार भाउले अकास छोएको छ। तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेका बेला निगमले न्यून मात्रामा मूल्य समायोजन गर्दै आएको छ।
नेपाल आयल निगम सञ्चालक समितिले असार ४ गते पेट्रोलियम पदार्थमा ठूलो परिमाणमा मूल्यवृद्धि गरेपछि सत्तारुढ, प्रतिपक्षी दलका भ्रातृ संगठनहरूले समेत फिर्ता लिन माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन्। एमालेको भ्रातृ संगठन अनेरास्ववियुले जेठ ६ गतेदेखि नै आन्दोलन सुरु गरेको छ।
आयल निगमले पछिल्लो पटक पेट्रोलमा २१ रुपैयाँ मूल्य बढाएर १९९ रुपैयाँ पु¥याएको छ। यस्तै, डिजेल र मट्टीतेलमा क्रमशः २७ रुपैयाँ बढाउँदा १९२ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासमा भने यसअघिकै प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ कायम छ।
निगमले २०७८ वैशाख ४ गते पेट्रोलको मूल्य प्रतिलिटर १२१, डिजेल १०४ र मट्टीतेल १०४ रुपैयाँ कायम गरेको थियो। २०७८ वैशाखदेखि २०७९ असारसम्म लगातार पेट्रोलियम पदार्थको मूल्य बढाइँदा पेट्रोलमा ९९, डिजेटलमा ८८ र मट्टीतेलमा समान ८८ रुपैयाँ प्रतिलिटर मूल्य बढेको देखिन्छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र भारतले नयाँ मूल्य तालिका पठाएकाले मूल्य समायोजन गरिएको बताउँछन्। प्रवक्ताले मूल्य बढाउनुको कारण बताए पनि निगमले चुहावट नियन्त्रणमा खासै ध्यान दिन सकेको पाइन्न।
निगमले २०७८ वैशाख ४ गते पेट्रोल प्रतिलिटर १२१, डिजेल १०४ र मट्टीतेल १०४ रुपैयाँ मूल्य कायम गरेकामा सोही वर्षको जेठ २ गते मूल्य समायोजन गरी पेट्रोल १२३, डिजेल १०६ र मट्टीतेलको मूल्य १०६ रुपैयाँ पु¥यायो। यस्तै, जेठ २२ गते पुनः मूल्य बढाएर पेट्रोल १२५, डिजेल १०८ र मट्टीतेल प्रतिलिटर १०८ रुपैयाँ कायम ग¥यो।
निगमको तथ्यांकअनुसार सोही वर्षको असार ९ गते पेट्रोलियम पदार्थमा पुनः २–२ रुपैयाँ मूल्यवृद्धि गरी पेट्रोल क्रमशः१२७, डिजेल ११० र मट्टीतेल ११० रुपैयाँ पु¥याइयो। यस्तै, २०७८ असार २२ गते निगमले पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि ग¥यो। निगमले पेट्रोलमा २ रुपैयाँ बढाएर १२९, डिजेल र मट्टीतेलमा समान २ रुपैयाँ मूल्य बढाएर क्रमशः १२९,११२ र ११२ रुपैयाँ प्रतिलिटर पु¥याइयो।
निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाउने शृंखला जारी राख्यो। पुनः भदौ ७ गते पेट्रोलियम पदार्थमा १–१ रुपैयाँ मूल्य बढाउँदा क्रमशः पेट्रोल प्रतिलिटर १३०, डिजेल ११३ र मट्टीतेलको मूल्य ११३ रुपैयाँ पुग्यो। आयल निगमले सोही वर्षको कात्तिकमा २–२ पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। निगमले कात्तिक १२ गते पेट्रोलिम पदार्थको मूल्य समायोजनका नाममा पुनः प्रतिलिटरमा ३ रुपैयाँ वृद्धि ग¥यो। मूल्य बढेपछि पेट्रोल क्रमशः प्रतिलिटर १३३, डिजेल ११९ र मट्टीतेल ११६ रुपैयाँ पुग्यो।
अचाक्ली मूल्यवृद्धिले बजार भाउ अकासिँदा सरकार नभएको पिरलोमा परेका छन् सर्वसाधारण।
यस्तै, कात्तिक २४ गते पुनः पेट्रोलियम पदार्थमा ३ रुपैयाँ मूल्य बढाइयो। मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १३६, डिजेल ११९ र मट्टीतेल ११९ रुपैयाँ कायम भयो। निगमले त्यसपछि २ महिना मंसिर र पुसमा भने पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेन।
२०७८ माघमा पुनः पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भयो। त्यतिबेला निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटायो। निगमले पेट्रोलमा ३ रुपैयाँ प्रतिलिटर बढाएर १३९ कायम ग¥यो भने डिजेल र मट्टीतेलमा ७ रुपैयाँ घटाएर ११२ पुर्यायो।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको शृंखला कायमै रह्यो। निगमले माघमै पुनः पेट्रोलियम पदार्थमा मूल्य समायोजन ग¥यो। माघ १८ गते पेट्रोलिय पदार्थमा ३ रुपैयाँ मूल्य बढेर १४५ प्रतिलिटर कायम भयो। डिजेल र मट्टीतेलको मूल्य १३–१३ रुपैयाँले बढाएर क्रमशः प्रतिलिटर १२५ रुपैयाँ प्रतिलिटर कायम गरियो।
निगमले सोही वर्षको फागुनमा पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्यो। फागुन ७ गते पेट्रोलियम पदार्थमा ३–३ रुपैयाँ मूल्यवृद्धि हुँदा पेट्रोल प्रतिलिटर १४५, डिजेल १२८ र मट्टीतेल १२८ कायम भयो। पेट्रोलियम पदार्थमा फागुन १९ गते पुनः मूल्यवृद्धि गरियो। त्यतिबेला पेट्रोल, डिजेल र मट्टीतेलमा समान ५ रुपैयाँ मूल्य बढाइयो। मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १५०, डिजेल १३३ र मट्टीतेल १३३ रुपैयाँ पुग्यो।
निगमले उपभोक्ताको ढाड सेक्ने क्रमले निरन्तरता पाउँदै गयो। निगमले सोही वर्षको चैतमा पुनः पेट्रोलियम पदार्थमा ५–५ रुपैयाँ मूल्य बढायो। मूल्यवृद्धिपछि क्रमशः पेट्रोल प्रतिलिटर १५५, डिजेल १४३ र डिजेल १४३ कायम भयो। निगमले चैत २२ गते पुनः पेट्रोलियम पदार्थमा मूल्यवृद्धि ग¥यो। मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १६०, डिजेल, १४३ र मट्टीतेल १४३ रुपैयाँ पुग्यो।
अन्तर्राष्ट्रिय बजार र भारतले नयाँ मूल्य तालिका पठाएर मूल्यवृद्धि गर्नुपरेको दाबी गर्दै निगमले मूल्य बढाउने क्रम रोकेन। २०७९ वैशाखमा पनि निगमले मूल्य बढायो। स्थानीय तह निर्वाचनको भोलिपल्ट अर्थात् वैशाख ३१ मा निगमले पेट्रोलियम पदार्थमा पुनः १०–१० रुपैयाँ प्रतिलिटर मूल्य बढायो। मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १७०, डिजेल १५३ र मट्टीतेल १५३ रुपैयाँ पुग्यो।
निगमले जेठ ७ गते पेट्रोलियम पदार्थमा पुनः १०–१० रुपैयाँ मूल्यवृद्धि गर्यो। त्यतिबेला खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएर १८०० कायम गरिएको थियो। मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १८०, डिजेल र मट्टीतेल १६३ रुपैयाँ कायम भयो।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेका बेला मूल्य समायोजन गर्ने तर घटेका बेला त्यसलाई निरन्तरता नदिने प्रवृत्तिका कारण निगमको व्यवस्थापन पक्ष कमजोर रहेको उपभोक्ताकर्मी ज्योति बानियाँ बताउँछन्।
निमगले पुनः जेठ २६ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन ग¥यो। त्यतिबेला निगमलाई सरकारले पूर्वाधार कर छुटमा १० प्रतिशत सहुलियत दिएपछि मूल्यमा खासै घटबढ भएन। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ घटाएर १७८, डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँ बढाएर १६५ रुपैयाँ कायम भयो।
मासिक घाटा चुलिएको भन्दै निगमले असार ५ गते पुनः पेट्रोलियम पदार्थमा अचाक्ली मूल्य बढाएको छ। निगमले पेट्रोलमा २१, डिजेल र मट्टीतेलमा क्रमशः २७ रुपैयाँ मूल्यवृद्धि गरेको छ। मूल्यवृद्धिपछि पेट्रोल १९९, डिजेल र मट्टीतेल क्रमशः १९२ रुपैयाँ पुगेको छ।
निगमले २०७८ मा मात्रै १५ पटक मूल्य बढाएको छ। पेट्रोलियम पदार्थमा अचाक्ली मूल्यवृद्धि गरिए पनि निगमले अझै पेट्रोलमा १३.५८ रुपैयाँ र डिजेलमा १३.९५ रुपैयाँ घाटा भएको दाबी गर्दै आएको छ।
सरकारले २०७१ असोज १३ गतेदेखि स्वचालित मूल्यमा जाने निर्णय गरे पनि त्यसलाई पछ्याएन। स्वचालित मूल्य कार्यान्वयन नहुँदा उपभोक्ता मारमा परिरहेका छन्। पछिल्लो पटकको मूल्य वृद्धिपछि पनि निगम मासिक ४ अर्ब ७० करोड रुपैयाँ घाटामा रहेको आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी बताउँछन्।
निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै त्यसको प्रत्यक्ष असर सर्वसाधारणको चुल्होचौकोमै परेको छ। ढुवानी भाडा महँगिएसँगै दैनिक उपभोग्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ। यसले सर्वसाधारणको दैनिकीसमेत असहज बनिरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेका बेला मूल्य समायोजन गर्ने तर घटेका बेला त्यसलाई निरन्तरता नदिने प्रवृत्तिका कारण निगमको व्यवस्थापन पक्ष कमजोर रहेको उपभोक्ताकर्मी ज्योति बानियाँ बताउँछन्। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर उपभोक्तालाई ठगिरहेको उनको बुझाइ छ। बानियाँ भन्छन्, ‘पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको सोझो असर सर्वसाधारण नागरिकमा पर्छ। ढुवानी भाडा महँगिँदा दैनिक उपभोग्य वस्तुको मूल्य स्वतः बढ्छ। यसको मार उपभोक्तामाथि पर्छ। उपभोक्तालाई महँगीमा पारेर सरकारले निगमलाई पोस्ने काम गरेको देखियो।’
मूल्यवृद्धि तत्काल फिर्ता लिन चेतावनी
आयल निगमले सर्वसाधारणको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि उपभोक्ता अधिकारवादी संघ–संस्थाले फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन्। यसले बजार भद्रगोल बनाउने भएकाले तुरुन्त फिर्ता लिन उनीहरूको माग छ।
अन्य विकल्प हुँदाहुँदै मूल्य बढाएर सर्वसाधारणको जीवन कष्टकर बनाएको उनीहरूको गुनासो छ। ‘कृत्रिम मूल्यवृद्धि नियन्त्रण गरी उपभोक्तालाई राहत र स्वच्छ बजार कायम गर्न आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिना, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना, राष्ट्रिय उपभोक्ता मञ्चका उपाध्यक्ष पुष्पराम पौड्याल र कन्जुमर आई नेपालका अध्यक्ष विमना खनालद्वारा जारी संयुक्त विज्ञप्तिमा यथाशीघ्र मूल्यवृद्धि फिर्ता लिएर सर्वसाधारणलाई मारमा नपार्न उनीहरूले आग्रह गरेका छन्।
गत वर्ष प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर सार्वजनिक यातायातमा २९ प्रतिशत भाडा बढाएको थियो। त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाउँदै लगेपछि एक वर्षमै सार्वजनिक यातायातको भाडा ६५ प्रतिशतले बढेको छ। यसले गर्दा सर्वसाधारणको दैनिकीमा समेत असर परिरहेको छ।
२०७८ वैशाख ४ देखि २०७९ असार ४ गतेसम्म निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि
वैशाख ४ गते पेट्रोलको मूल्य प्रतिलिटर १२१, डिजेल १०४ र मट्टीतेल १०४ रुपैयाँ
जेठ २ गते पेट्रोलको मूल्य प्रतिलिटर १२३, डिजेल १०६ र मट्टीतेल १०६ रुपैयाँ
जेठ २२ गते पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल १०८ र मट्टीतेल १०८ रुपैयाँ
असार ९ गते पेट्रोलको मूल्य प्रतिलिटर १२७, डिजेल ११० र मट्टीतेल ११० रुपैयाँ
असार २२ गते पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजेल ११२ र मट्टीतेल ११२ रुपैयाँ
भदौ ७ गते पेट्रोलको मूल्य प्रतिलिटर १३०, डिजेल ११३ र मट्टीतेल ११३ रुपैयाँ
कात्तिक १२ गते पेट्रोलको मूल्य प्रतिलिटर १३३, डिजेल ११६ र मट्टीतेल ११६ रुपैयाँ
कात्तिक २४ गते पेट्रोलको मूल्य प्रतिलिटर १३६, डिजेल ११९ र मट्टीतेल ११९ रुपैयाँ
माघ ५ गते पेट्रोलको मूल्य प्रतिलिटर १३९, डिजेल ११२ र मट्टीतेल ११२ रुपैयाँ
माघ १८ गते पेट्रोलको मूल्य प्रतिलिटर १४२, डिजेल १२५ र मट्टीतेल १२५ रुपैयाँ
फागुन ७ गते पेट्रोलको मूल्य प्रतिलिटर १४५, डिजेल १२८ र मट्टीतेल १२८ रुपैयाँ
फागुन १९ गते पेट्रोलको मूल्य प्रतिलिटर १५०, डिजेल १३३ र मट्टीतेल १३३ रुपैयाँ
चैत २ गते पेट्रोलको मूल्य प्रतिलिटर १५५, डिजल १३८ र मट्टीतेल १३८ रुपैयाँ
चैत २२ गते पेट्रोलको मूल्य प्रतिलिटर १६०, डिजेल १४३ र मट्टीतेल १४३ रुपैयाँ
२०७९ वैशाख ३१ गते पेट्रोलको मूल्य प्रतिलिटर १७०, डिजेल १५३ र मट्टीतेल १५३ रुपैयाँ
जेठ ७ गते पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टीतेल १६३
जेठ २६ गते पेट्रोलको मूल्य १७८, डिजेल र मट्टीतेलको मूल्य १६५ रुपैयाँ
असार ५ गते पेट्रोलको मूल्य १९९, डिजेल र मट्टीतेल क्रमशः १९२ रुपैयाँ
स्रोतः नेपाल आयल निगम