उदयपुर- श्यामबहादुर लिम्बु सुनसरीको स्थानीय बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि हुन्। तर, आफ्नो वडा कार्यालयसम्म पुग्न आफ्नै जिल्लाको बाटो छैन, उदयपुरको बेलका नगरपालिका हुँदै पुग्नुपर्छ। आफ्नो घरबाट वडा कार्यालय पैदल पुगेर आउन-जान दुई दिन लाग्छ।
बराहक्षेत्र-६ का वडा सदस्य लिम्बु एकातिर कोशीको मुलप्रवाह र अर्कोतिर पहिले कोशीको मुल प्रवाह बगेको कोशीकै एक भंगालोले टापु बनाएको खुल्ला क्षेत्रमा बस्छन्। श्रीलंका टापु भनेर चिनिने यो क्षेत्र सुनसरीको बराहक्षेत्र-६ र ९ अनि उदयपुरको बेलाका-२, ३ र ९ वडामा पर्छ।
कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ति क्षेत्रमा पर्ने श्रीलंका टापु पुग्न हिउँदमा बेलकातिरबाट जाँदा सडक अनि पैदल गरी जसोतसो पुग्न सकिन्छ।
बराहक्षेत्र-६ को वडा कार्यालय क्षेत्रबाट आउन भने कि २० किलोमिटर हाराहारीको सडक प्रयोग गर्नुपर्छ अन्यथा कोशीमा चल्ने जोखिमयुक्त डुंगामा यात्रा गर्नुपर्छ। यही कारणले आफ्नो वडा कार्यालय पुग्न वडा सदस्य लिम्बुलाई सधैं सकस पर्छ। त्यही भएर उनी साउन लागिकन वडा कार्यालयको कुनै पनि बैठकमा पुग्न पाएका छैनन्। भन्छन्, ‘बैठक बस्न ज्यानै जोखिममा राखेर डुंगाको यात्रा गर्नुपर्छ। त्यो निक्कै कष्टकर छ।’
जनताको माग पूरा गर्न गाह्रो
वडा सदस्य लिम्बु यो क्षेत्रमा बसेको ०४६ सालपछि हो। उनलार्इ यहाँका बासिन्दाले सम्मान गर्छन्। सोही कारण उनको राजनीतिक जनाधार बन्यो। साविक एमालेबाट वडा सदस्य टिकट पाउँदा पनि उनको त्यही सामाजिक छविले काम गर्यो। पार्टीले वडाको नेतृत्व हारेको अवस्थामा उनले जिते।
कांग्रेसबाट वडाध्यक्ष भएका उद्धवप्रसाद पोखरेलभन्दा धेरै मत उनले ल्याए। ‘वडाध्यक्षज्यूको मत ८२४ आयो मेरोचाहीं ८७९,’ चुनावी गणित सम्झँदै साइकल डोर्याएर यात्रारत लिम्बूले भने, ‘मेरो आग्रह जनताले मानेर जिताए तर जनताको आग्रह जित्न समस्या भयो ।’
कोशी कटान नियन्त्रण, विद्युत सुविधा, उच्च माविसम्मको स्कुल, सुरक्षित सडक र पुल आफ्ना वडावासीको माग भएको लिम्बु बताउँछन्। वडावासीको स्कुलको माग पूरा गर्न उनी अहिले सञ्चालनमा रहेको बालसेवा प्राविलार्इ मावि हुँदै उच्च मावि बनाउने अभियानमा छन्।

विद्युत पुर्याउन राष्ट्रिय प्रसारण लाइन नआउञ्जेल सोलार अनुदान खोजेर वडामा बाँड्ने अभियानमा छन्। कटान नियन्त्रण, सुरक्षित सडक र कोशी वारिपारि पुग्ने झोलुंगे पुल बनाउन भने उनको सामर्थ्य पुग्दैन। ‘कोशीले हरेक वर्ष कटान गरेर जमिन लान्छ, यो सबै राज्यलाई थाहा छ र पनि केही गर्न नसकेको अवस्था छ,' कोशी किनारबाट सय मिटर मात्रै टाढा रहेको घरमा उभिएका लिम्बूको भनाइ थियो, ‘यो गर्न त वडा, नगर, प्रदेश हैन पूरा देश लाग्नुपर्छ ।’
चारैतिर पानीले घेरेको र सडक नभएकाले श्रीलंका टापुमा सप्तकोशीले हरेक बर्खामा हिर्काउँछ। यसरी हिर्काउँदा हरेक वर्ष १०-२० मिटर जमिन कोशीले लान्छ। गत वर्ष त सबैभन्दा धेरै सय मिटरभन्दा बढी लगेको लिम्बु बताउँछन्। सडक नहुँदा स्कुल र अस्पताल जान त सकस छ नै । सँगै, कोशीले हरेक बर्खामा जमिन हिर्काएर कटान गर्ने भएकाले सबैभन्दा पहिले आफ्नो जमिन जोगाउनै मुस्किल भएको लिम्बु बताउँछन्।
‘मेरो घर पहिले कोशीभन्दा धेरै पर थियो, अहिले घरैछेउमा कोशी आउँदैछ,’ कोशीले भत्काँउदै गरेको डिलमा तस्बिर खिचाँउदै मलिन मुद्रामा उनी भन्दै थिए,‘मलार्इजस्तै भएको बेला जनता मलाई सम्झन्छन् तर म मुख्यमन्त्री र प्रधानमन्त्रीलार्इ सम्झन्छु। जनताले मलार्इ दैनिक भेटेर भन्छन्। म मुख्यमन्त्री र प्रधानमन्त्रीलार्इ भेटेर भन्न पाउँदिनँ।’