काठमाडौं। शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरवलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ।
आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार, बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन गरिएको हो।
‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित)को परिच्छेद १५ अन्तर्गत व्यवस्था भएबमोजिम आयोगले प्राप्त कागजात र प्रमाणहरूको अध्ययन गरी सम्बन्धित जिल्ला तथा तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने गरी नतिजा प्रकाशन थालेको आयोगले जनाएको छ।
विभिन्न प्रदेशका शिक्षा हेर्ने मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालयबाट भएका कार्यसम्पादन मूल्यांकनमाथि परेका उजुरीमाथिको अध्ययन/छानबिनबाट पुनरवलोकनको नतिजा प्रकाशन गर्दै आएकामा पछिल्लो ६ महिना आयोगका पदाधिकारी रिक्त रहेका कारण पुनरवलोकन कार्य रोकिएको थियो। आयोगले यही कात्तिकमा माध्यमिक द्वितीय तहको इलाम, सुनसरी, झापा, सोलुखुम्बु तथा गत असोज २९ गते प्राथमिक द्वितीयको लमजुङ, बाग्लुङ, गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व र कास्कीको पुनरवलोकन नतिजा प्रकाशन गरेको छ।
नेपाल सरकारले गत भदौ २५ गते आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्सालसहित पदाधिकारी नियुक्त गरेको थियो। गत वैशाख १८ गते जारी भएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बाट आयोगका पदाधिकारी रिक्त भएका थिए। रासस