काठमाडौं- अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले कृत्रिम बौद्धिकतासम्बन्धी पूर्वाधारमा बढ्दो खर्च व्यवस्थापन गर्न करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्ने विकल्प अगाडी सारेको छ।
अमेरिका, क्यानडा, भारत र बेलायतका कर्मचारीलाई लक्षित गरी सुरु गरिएको यो योजना कम्पनीको कुल २ लाख २३ हजार कर्मचारीमध्ये करिब २२ प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ।
कम्पनीले ‘स्वैच्छिक बहिर्गमन प्रस्ताव’ नाम दिएको योजनाअन्तर्गत उपाध्यक्ष तहसम्मका योग्य कर्मचारीले जागिर छाड्न सक्नेछन्। माइक्रोसफ्टले कृत्रिम बौद्धिकतासम्बन्धी सेवा सञ्चालन गर्न विशाल तथ्याङ्क केन्द्रमा लगानी बढाइरहेको छ। कम्पनीले गत जुलाईमा चालु आर्थिक वर्षको सेप्टेम्बर त्रैमासिकमा पुँजीगत खर्च ५० अर्ब अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरेको थियो। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत खर्च र वित्तीय भाडाको कुल रकम ३४ अर्ब ९० करोड डलर थियो।
कम्पनीले यसअघि पनि कर्मचारी सङ्ख्या व्यवस्थापनका लागि विभिन्न कदम चालेको थियो। अप्रिलमा अमेरिकाका कर्मचारीका लागि स्वैच्छिक अवकाश योजना ल्याइएको थियो भने जुलाईमा ४ हजार ८०० कर्मचारी कटौती गर्ने योजना सार्वजनिक गरिएको थियो। अघिल्लो स्वैच्छिक अवकाश योजनामा योग्य कर्मचारीमध्ये ३० प्रतिशतभन्दा बढी सहभागी भएको कम्पनीले जनाएको थियो।
माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख मानव संसाधन अधिकारी एमी कोलम्यानले नयाँ योजनाले कर्मचारीलाई आफ्नो करिअरको आगामी दिशा आफैँ छनोट गर्ने अवसर दिने बताएकी छन्। कम्पनीले कृत्रिम बौद्धिकताका नयाँ अवसर उपयोग गर्दै खर्च नियन्त्रण गर्ने र आवश्यक दक्ष जनशक्ति कायम राख्ने लक्ष्य लिएको छ। कम्पनीले आफ्ना प्रोग्रामर, बिक्री तथा आपूर्ति व्यवस्थापनसम्बन्धी कर्मचारीलाई कृत्रिम बौद्धिकताका उपकरण प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ।
समाचारअनुसार योग्य कर्मचारीले डिसेम्बरको सुरुआतसम्ममा प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णय गर्नुपर्नेछ। प्रस्ताव स्वीकार गर्ने कर्मचारीको जागिर डिसेम्बर ३१ मा समाप्त हुनेछ। यद्यपि, माइक्रोसफ्टले कति कर्मचारीले यो प्रस्ताव स्वीकार गर्नुपर्ने भन्ने निश्चित लक्ष्य तय गरेको छैन। कम्पनीको यो कदम कृत्रिम बौद्धिकतामा बढ्दो लगानी र बदलिँदो व्यावसायिक मोडेलसँग जोडिएको बताइएको छ।