बुधबार, कात्तिक ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मुस्ताङमा कात्तिक १३ र १४ गते विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

मुस्ताङमा कात्तिक १३ र १४ गते विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

 |  बुधबार, कात्तिक ११, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ११, २०८३

मुस्ताङ- सम्भावित वर्षा, हिमपात र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा पर्यटकलाई आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कात्तिक १३ र १४ गते विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।

प्रशासनका अनुसार उक्त अवधिमा गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र उक्त अवधिमा सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध गरेको छ। वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै जोखिमयुक्त स्थान तथा सडक छेउछाउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित विपद्बाट बच्न आवश्यक पूर्वतयारी गर्न तथा मौसमको अवस्थाबारे जानकारी लिइरहन सम्बन्धित सबैलाई आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र प्रतिकूल मौसममा विशेष सावधानी अपनाउनसमेत सूचनामार्फत अनुरोध गरिएको छ।

प्रकाशित: Oct 28, 2026| 11:40 बुधबार, कात्तिक ११, २०८३
प्रतिक्रिया दिनुहोस्