काठमाडौं- एमाले निकट अनेरास्ववियु र राप्रपा नेपाल निकट जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन्। अनेरास्ववियूले मूल्यवृद्धिको विरोधमा साँझ त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रर्दशन गरेको हो।
राप्रपा नेपाल सम्बद्ध जनवर्गीय संगठनहरुले काठमाडौंको विशालनगरबाट राँके जुलुस सुरु गरेका थिए। बालुवाटार राष्ट्र बैंक अगाडिबाट बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको पार्टीका केन्द्रीय सदस्य पुरु दाहालले जानकारी दिए।
जुलुसमा मुल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने, कालोबजारी र भ्रष्टाचारको अन्त्य हुनुपर्ने, भ्रष्ट ,दलाल , घुसखोरलाई कार्बाही हुनुपर्ने जस्ता नारा लागेको थियो। युवा संगठनका अध्यक्ष कैलाश कटुवालले मूल्यवृद्धि फिर्ता नलिए विरोध थप चर्काएर लैजान्ने बताए।
सरकारले सोमबारदेखि पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढाएर पेट्रोलको मूल्य प्रतिलिटर रु १९९, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु १९२ कायम गरेको छ।