काठमाडौं- प्रतिनिधिसभाले बजेटसम्बन्धी तीन वटै विधेयक पारित गरेको छ। सोमबारको बैठकले ‘आर्थिक विधेयक, २०७९’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७९ बहुमतले पारित गरेको छ। यसअघि नै विनियोजन विधेयक २०७९ पारित भएको थियो।
सोमबारको बैठकमा ‘आर्थिक विधेयक, २०४९’ माथि धारणा राख्दै सांसदले आयकर बढी भएको गुनासो गरेका थिए। विद्युत् खपत बढाउने कुरा गरिरहँदा विद्युतीय सवारी साधनको आयातमा बढी कर लगाइएकामा अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए। मध्यमवर्गको ढाड सेक्ने गरी करको दर बढाइएको भन्दै सांसद भरत शाहले यसमा पुनःविचार गर्न माग गरेका थिए। सांसद मेटमणि चौधरीले राज्यले ठूलो मात्रामा बक्यौता उठाउन बाँकी रहेको भन्दै त्यसमा ध्यान दिन अर्थ मन्त्रालयलाई आग्रह गरे।
सांसद प्रकाश स्नेहीले एकाध उद्योगलाई बाहेक अन्य उद्योगलाई समाप्त पार्ने ध्येयका साथ स्टिल उद्योगमा असमान व्यवहार गरिएको बताए। उनले जिआई वायर उद्योग, दाना उद्योग, स्यानेटरी प्याड उद्योगलाई बजेटले राहत दिन नसकेको धारणा राख्दै स्वदेशी उद्योगको प्रोत्साहन गर्न माग गरे।
सांसद दिव्यमणि राजभण्डारीले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने गरी करको सीमा निर्धारण गर्नुपर्ने बताए। वैधानिक माध्यमबाट नै विप्रेषण आउने वातावरण बनाउन उनले सरकारको ध्यानकर्षण गराए। सांसद गजेन्द्रबहादुर महतले राजस्व सङ्कलनलाई सरल र सहज बनाउनुपर्नेमा त्यसो नभएको व्यवसायीले गुनासो गरिरहेको जानकारी दिँदै जनशक्ति बढाएर भए पनि काम गर्न आग्रह गरे। राजस्व सङ्कलन र करको विषयमा सरकारले ख्याल गरोस् भन्ने माग गरे।
सांसद गोकुल बाँस्कोटाले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराइएको विषयमा सरकारको ध्यानाकर्षण गराए।
सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री जनार्दन शर्माले व्यापार घटाउने उद्देश्य राखेर नै ठूला उद्योगलाई विद्युत् महशुलमा छुट दिइएको बताएका थिए।बजेट कार्यान्वयनका सन्दर्भमा सरकारले केही क्षेत्रमा क्षमता विकास गर्नुपर्ने आवश्यकता महसुस गरेर नै प्रक्रिया अगाडि बढाइएको छ।
सरकारले करको दरमा केही परिवर्तन गरिएको र सुविधा वृद्धि गरिएको अर्थमन्त्रीको भनाइ छ। सुपारी र केराउको तस्करी रोक्नका लागि करको दरमा वृद्धि गरिएको उनले सदनलाई जानकारी दिए। स्वास्थ्यलाई हानी गर्ने र विलासी वस्तुमा कर वृद्धि गरिएको जानकारी दिँदै सरकारले मुलुक सञ्चालनका लागि केही क्षेत्रमा केही दायरा विस्तार गरिएको जानकारी दिए।
कुनै पनि समूहलाई लक्षित गरेर स्टील तथा फलाम स्टीलमा करको दरमा हेरफेर नगरिएको उनको भनाइ छ। धौवादी फलाम खानीको फलाम प्रयोग गर्ने गरी सरकारले प्रक्रिया अगाडि बढाएको अर्थमन्त्रीको भनाइ छ। विद्युतीय सवारीसाधनमा पनि अनुहार हेरेर करको दर निर्धारण नभएको र बजारमा १३ प्रकारका सवारी साधन १०० किलोवाट भन्दा कम क्षमताका उपलब्ध रहेको बताए।
माइतीघर मण्डलामा रातो कर हटाउ भनेर आन्दोलन गरेको सन्दर्भ जोड्दै अर्थमन्त्रीले महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर स्यानेटरी प्याडका सन्दर्भमा निर्णय गरिएको जानकारी दिए। सरकारी निकायले नै झण्डै रु दुई अर्ब बराबरको स्यानेटरी प्याड खरिद गर्ने र त्यसमा स्वदेशी उद्योगले नै फाइदा लिने उनको भनाइ छ।
नयाँ नयाँ कथा बुनेर सरकारको हुर्मत लिने र लोकप्रिय बजेटलाई कार्यान्वयन हुन नदिने प्रवृत्ति देखिएको मन्त्री शर्माको दाबी छ। ले सरकार ओम्नी, यति, बालुवाटार जग्गा प्रकरणलगायतको छानबिन गर्न तयार रहेको उनले उल्लेख गरे।