काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ। सोमबार नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८८४.८१ बिन्दुमा झरेको हो।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६६ अंक, फ्लोट इण्डेक्स ३.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४८ अंकले घटेको छ। कारोबारमा आएका २३० कम्पनीको ६१ लाख ८६ हजार कित्ता शेयर १ अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.२८ प्रतिशत घटेको छ। त्यसैगरी विकास बैंक उपसमूहको परिसूचक ४.१३ प्रतिशत घटेको छ भने वित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से घटेपनि दुई कम्पनीको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। अन्य कम्पनीहरुको मूल्य वृद्धिदर २ प्रतिशतभन्दा कम रहेको छ। यता तेह्रथुम पावर कम्पनीको सेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा प्रभु बैंकको ११ करोड ८३ लाख २० हजार रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ ।