म्याग्दी- कालीगण्डकी नदीले विद्यालय बगाएको छ। अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय बुधबार कालीगण्डकीले बगाएको हो।
कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए। कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन्।
केही दिनदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ। कालीगण्डकीको बाढी करिब ४० मिटर बस्तीतर्फ पसेको छ। बाढीले लगातार जग्गा कटान गरिरहेको छ। पाँच दिनअघि कालीगण्डकीले आफ्नो धार परिवर्तन गरेर कटान सुरू गरेको हो। बाढीका कारण मुस्ताङ प्रवेश गर्ने पदमार्गमा पर्ने कोप्चेपानीको बस्ती जोखिममा रहेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए। कोप्चेपानीमा २४ घरधुरीको बसोबास छ।
‘क्षतिबारे गाउँपालिका र जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराएको छु,’ फगामीले भने। भवन बगाएपछि पठनपाठन प्रभावित भएको छ। कक्षा सञ्चालनका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४