काठमाडौं– बिमा समितिले बिमा कम्पनीहरू मर्जरपछि ३० प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको हुनुपर्ने नयाँ प्रावधान ल्याएको छ।
समितिले बिमा कम्पनीहरूलाई मर्जर, गाभ्ने/गाभिने वा प्राप्ति गर्न सेयर स्वामित्व सम्वन्धमा नयाँ प्रावधान घोषणा गरेको हो। बिमा समितिको कानुन तथा नियामक महाशाखाले सबै बिमा कम्पनीलाई परिपत्र गर्दै अब मर्जर भएका बिमा कम्पनीको न्यूनतम ३० प्रतिशत शेयर सर्वसाधारणको हुनुपर्ने व्यवस्था गरेको छ।
गाभ्ने/गाभिने वा प्राप्तिका लागि सैद्धान्तिक सहमति लिएका वा त्यस्तो सहमति लिन इच्छुक कम्पनीले कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर स्वामित्व सर्वसाधारणलाई छुट्याउनुपर्नेछ।
गाभ्ने/गाभिने प्रक्रियापछि स्थापना हुने बिमा कम्पनीको बिमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिएअनुसार नै हुनुपर्नेछ। यो प्रावधानका कारण बिमा कम्पनीहरूले मर्जर घोषणासँगै सैद्धान्तिक सहमति लिइसकेपछि आफूखुसी मर्जर रद्ध गर्न पाउने छैनन्।