बुटवल- तिनाउ नदीमा बुटवलका एक व्यक्तिको शव फेला परेको छ। सोमबार बिहानै बुटवल उपमहानगरपालिका-११ प्रगतिनगरस्थित तिनाउ नदीको किनारमा एक वयस्क पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुर मृत फेला परेका व्यक्ति बुटवल-११ बुद्धनगरका ६५ वर्षीय किशोरबहादुर नेपालीको रहेको छ। इलाका प्रहरी कार्यालय बुटवलले शवको पहिचान भए पनि उनको मृत्यु कसरी भयो भन्नेबारे खुल्न सकेको छैन।
तिनाउ नदीको बीचमा थुप्रिएको गेग्रानमाथि नेपालीको शव घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सोमबार बिहानै बुटवलमा ठूलो पानी परेको र तिनाउ नदीमा आएको बाढीले बगाएर ल्याउने दायरा समात्ने जाने क्रममा नेपालीलाई बाढीले बगाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।