काठमाडौं- संघीय राजधानी काठमाडौंमै झाडापखालाका बिरामी भेटिन थालेपछि नेपालको स्वास्थ्य प्रणालीप्रति चिन्ता व्यक्त गर्न थालिएको छ। गत बिहीबार मात्रै काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाका बिरामी उपचारार्थ गएपछि यसको फैलावट बढ्दै गएको देखिएको हो।
वैशाख पहिलो सातादेखि काठमाडौंमा थुप्रिएको फोहोरका कारण त्यसको संक्रमणले हैजाका बिरामी देखिन थालेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको बुझाइ छ।
गत मंसिरमा कपिलवस्तुको कृष्णनगर नगरपालिका–७, ८ र ९ मा हैजा फैलियो। हैजा फैलिएको करिब दुई महिनामा सरकारले हैजाविरुद्धको खोप स्यानकोल खुवाएपछि नियन्त्रणमा आएको थियो।
कपिलवस्तुमा हैजा फैलिएका पालिकाहरूको पानीको स्रोत फोहोर भएका कारण यसको पुष्टि भएपछि संक्रमितको उपचारसँगै समुदायमा पानी शुद्ध गर्न क्लोरिन ट्याबलेट वितरण र व्यक्तिगत सरसफाइ गर्न थालिएपछि बल्ल नियन्त्रणमा आएको थियो।
कपिलवस्तुमा हैजा नियन्त्रणमा आइसकेको छ। तर काठमाडौंमा हैजा फैलँदो अवस्थामा रहेको विज्ञहरूले बताउँदै आएका छन्। आइतबार काठमाडौंमा दुई जनामा हैजा पुष्टि भएसँगै सशंकित हुनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।
काठमाडौंको बागबजारस्थित दुई दिदीबहिनीमा हैजा पुष्टि भएको हो। स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरू उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयूमा बिहीबार भर्ना भएका थिए। परीक्षणका क्रममा उनीहरूमा हैजा पुष्टि भएको हो।
हाल उनीहरूको अवस्था सामान्य रहेको अस्पतलाले जनाएको छ। तर काठमाडौंका अन्य मानिसमा पनि हैजा फैलिएको हुन सक्ने अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
जेठ अन्तिम सातादेखि नै शुक्रराज अस्पताललगायत उपत्यकाका केही अस्पतालमा झाडापखालका बिरामीको संख्या बढ्न थालेपछि यसको महामारीको रूप लिन सक्नेतर्फ स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका छन्।
जेठ अन्तिम सातादेखि नै शुक्रराज अस्पताललगायत उपत्यकाका केही अस्पतालमा झाडापखालका बिरामीको संख्या बढ्न थालेको थियो। उपत्यकामा झाडापखालाका बिरामी बढ्न थालेपछि विज्ञहरूले सचेत गराएका थिए।
शुक्रराज अस्पतालमा आइतबारसम्म झाडापखालाका १० जना बिरामी उपचाररत छन्। दैनिक ५ जना बढी झाडापखालाका बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतम बताउँछन्। उनका अनुसार एकै दिन २२ जना झाडापखालाका बिरामी पनि अस्पताल पुगेका छन्। जेठमा मात्रै १४७ जना झाडापखालाका बिरामी उपचारका लागि अस्पताल पुगेका थिए।
झाडापखालाबाट संक्रमित भएकाहरूले सुरुमा फार्मेसीबाट औषधी किनेर खाने र निको नभएपछि मात्रै अस्पताल पुग्ने गरेको डा. पुन बताउँछन्।
जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनी अझै हैजा फैलने समय आउन बाँकी रहेको सुनाउँछन्। ‘हैजाको जोखिम बढ्दो छ’, मरासिनी भन्छन्, ‘सडकमा थुप्रिएका फोहोर व्यवस्थापन हुन नसक्दा त्यसले जोखिम बढाएको हो। एकातिर लामो समयसम्म सडकमा फोहोर थुप्रिनु, फुटेका खानेपानीका पाइपबाट किटाणु भित्र छिरेका छन् भने अर्कोतिर चरा, मुसाले पनि घरभित्र फोहोरसँगै हैजाका किटाणु लैजाने गर्छन्। फोहोर नजिकै रहेका फलफूल पसलमा सरसफाइमा ध्यान दिइएको छैन। यस्तै–यस्तै कारणले हैजा फैलिएको हो।’
काठमाडौंमा थुप्रिएको फोहोर समयमै नउठ्दा पनि झाडापखाला, हैजालगायत सरुवा रोगको जोखिम बढेको मरासिनीको बुझाइ छ।
काठमाडौंका सडकमा असरल्ल खानेपानीका पाइप जताततै फुटेका छन्। त्यही फुटेको ठाउँबाट फोहोरका किटाणु खानेपानीमा मिसिएका छन्। खानेपानीका धारा व्यवस्थित नहुँदा यस्तो समस्या आएको मरासिनी बताउँछन्।
के छ सरकारको तयारी
काठमाडौंमा हैजा देखिएपछि सरकारले नियन्त्रणका लागि तयारी अगाडि बढाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डा. चुनमलाल दासका अनुसार सोमबारदेखि पानीको गुणस्तरको जाँच्ने, अस्पतालहरूमा झाडापखाला तथा हैजाको परीक्षण बढाउने, हैजासम्बन्धी जनचेतना बढाउनेलगायत काम गर्न लागिएको उनले बताए।
दास भन्छन्, ‘हामीले सबैभन्दा पहिला जनचेतनालाई प्राथमिकतामा राखेका छौं। पानीको गुणस्तर जाँच्ने काम आजैदेखि सुरु हुँदै छ भने अस्पतालमा पनि हैजाको ‘सर्भिलेन्स’लाई बढाएका छौं। सम्बन्धित सबै निकायसँग सहयोग मागेका छौं।’
हैजा पुष्टि भएपछि आइतबार नै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौं महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बसेको थियो।
झाडापखाला फैलिन नदिन व्यक्तिगत सरसफाइ, खानेकुरा, खानेपानीको प्रयोगमा सचेतता अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।
हैजाका १० जना संक्रमितमध्ये एक जनालाई गम्भीर अवस्था आउन सक्ने पुन बताउँछन्। यदि समयमै उपचार नपाए ५० प्रतिशतजतिको मृत्यु हुन सक्ने पुनको भनाइ छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हैजा भिब्रियो कलेरा नामक ब्याक्टेरियाको कारणले हुने गर्छ। लगातार दिसा हुनु, बान्ता हुनु, पेट तथा खुट्टाका मांशपेशी बाउँडिनु, तिर्खा लागिरहनु हैजाका लक्षण हुन्।
डा. पुनका अनुसार हैजाका किटाणुको संक्रमण भएको १२ घन्टादेखि ५ दिनसम्म लक्षणहरू देखिने गर्छ। हैजा संक्रमण भएका मानिसमा मुख सुक्खा हुने, मुटुको धड्कन बढ्ने, रक्तचाप घट्नेलगायतका समस्या पनि देखिन्छन्।
डा.पुन भन्छन्, ‘काठमाडौंमा दुई जनामा हैजा पुष्टि भए पनि धेरै फैलिएको अनुमान गर्न सकिन्छ। त्यसैले व्यक्तिगत सरसफाइ, खानेकुरा, खानेपानीको प्रयोगमा सचेतता अपनाउनैपर्छ। त्यसो नगरे भयावह हुन सक्छ।’