खोटाङ- वर्षात् सुरु भएसँगै आएको भलबाढी तथा पहिरोका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएको छ।
कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं संघीय राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु समस्यामा परेका छन्।
हिउँदको समयमा जिल्लाका १० वटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि अहिले दिक्तेल-काठमाडौं, दिक्तेल-इटहरी-विराटनगर र दिक्तेल भोजपुर सडकमा मात्र यातायात सञ्चालनमा रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए। 'कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सबै ग्रामीण सडक भारी वर्षाका कारण अवरुद्ध भएको छ', उनले भने, 'बर्सेनि अवरुद्ध हुँदै आएको सडक बाह्रै महिना सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।'
दिक्तेल-बाक्सिला, दिक्तेल-ऐंसेलुखर्क, दिक्तेल-पाथेका, दिक्तेल-खार्मी, दिक्तेल-मात्तिम-पञ्चमी, दिक्तेल-रेग्मीटार-रसुवा सडक पूर्ण अवरुद्ध बनेको यातायात व्यवसायीले बताएका छन्। अवरुद्ध ग्रामीण सडक पुनः मर्मत गरेर सञ्चालनमा ल्याउनेबारे अहिलेसम्म कसैको ध्यान नगएको यातायात व्यवसायीको आरोप छ।
अवरुद्ध ग्रामीण सडक दशैंअघि सञ्चालन हुने अवस्था छैन। जिल्लाका १० वटै स्थानीय तहले आ-आफ्नो क्षेत्रमा निर्माण गरिएका ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन। -रासस