काठमाण्डौं- भारतको पुनास्थित कसमस को-अपरेटिभ बैंकको खाताबाट १ अर्ब ५० करोड (९४ करोड भारतीय रुपैयाँ) भन्दा बढी रकम ह्याकरले गायब पारेका छन्।
ह्याकरले डेबिट कार्ड र स्वीफ्ट कारोबारको सहायताबाट बैंकको खाताबाट दुई दिनको अवधीमै यति ठूलो रकम झिक्न सफल भएका हुन्। ११२ वर्ष पुरानो यो बैंकका अनुसार यी मध्ये १ अर्ब २४ करोड ८० लाख रुपैयाँ विभिन्न २८ वटा मुलुकको एटिएमबाट झिकिएको छ। यति ठूलो रकम झिक्न ह्याकरले एटिएम कार्डबाट १२ हजार पटक कारोबार गरेको देखिएको भारतीय अनलाईन द हिन्दू विजनेशलाईनले उल्लेख गरेको छ।
बैंकले जारी गरेको विज्ञप्ती अनुसार चार करोड रुपैयाँ भारतकै २ हजार ८ सय एटिएम कारोबारमार्फत् झिकिएको छ। बैंकका अनुसार सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेशन(स्वीफ्ट)को सहायताबाट बैंकको खाताबाट २२ करोड २४ लाख रुपैयाँ गायब पारिएको हो।
बैंकले आफ्नो डेबिट कार्ड भुक्तानी प्रणालीमा मालवेयर एट्याक भएकोबारे आइतबारमात्रै चाल पाएको थियो। आइतबार लगातार दुई घण्टासम्म भिसा डेबिट कार्ड र रुपे कार्डको प्रयोगबाट ठूलो रकम झिकिएको कारोबार बैंकका कर्मचारीले कम्पनीको आइटी सिस्टममा देखेपछि बल्ल ह्याकरले साइबर आक्रमण गरेको जानकारी पाएका हुन्।
ह्याकरले आक्रमण गरेको पुष्टी भएलगत्तै कम्पनीले सम्पूर्ण भिसा कार्ड र रुपे डेबिट कार्ड भुक्तानी कारोबार बन्द गरेको थियो। “बैंकले कोर बैंकिङ प्रणालीले डेबिट कार्डको भुक्तानी सम्बन्धमा‘स्वीचिङ प्रणाली’मार्फत् भुक्तानीको आदेश प्राप्त गर्दछ। मालवेयर आक्रमणको अवधीमा प्रोक्सी स्वीच तयार पारेर त्यसैको माध्यमबाट सबै भुक्तानीहरु गरिइएको पाइएको छ”,बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
यसअघि २०७४ कार्तिकमा एनआइसी एशिया बैंकको स्वीफ्ट ह्याक भएको थियो। बैंकको स्वीफ्ट ह्याक गरेर विदेशमा पैसा ट्रान्सफर गरिएको थियो। स्वीफ्ट ह्याक गरेर करिब ५ करोड रुपैयाँ हिनामिना गरिएको खुलासा भएको थियो। अन्य बैंकहरुको स्वीफ्ट ह्याक भए पनि बैंकको छविमा धक्का नलागोस् भनेर त्यसलार्इ गुपचुप नै राख्ने गरिएको छ।
सोसाइटी फर वेलफेयर अर्गनाइजेसनले एउटा बैंकबाट अर्को बैंकमा रकम पठाउने प्रणाली बनाएको छ। यसलाई नै द सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन (स्विफ्ट) भनिन्छ। यो नेटवर्कबाट बैंक तथा वित्तीय संस्थाले विश्वव्यापी रुपमा पैसा पठाउन र प्राप्त गर्न सक्छन्।
स्वीफ्ट आफैमा प्रविधिमा आधारित सेवा भएकोले एउटा तहसम्मको सेवा सदस्य बन्नेकै आधारमा पाइन्छ। स्वीफ्ट ह्याक सामान्यतः मालवेयर पठाएर पनि गर्ने गरिएको पाइएको छ। मालवेयर भनेको एक प्रकारको भाइरस जस्तै हो । इमेल मार्फत कुनै कम्प्युटरमा मालवेयर पठाइन्छ र मालवेयर रहेको कम्प्युटर प्रयोगकर्ताले प्रयोग गरेको पासवर्ड जस्ता गोप्य र महत्वपूर्ण डाटा मालवेयरले कपि गरेर सम्बन्धित ब्यक्ति वा ह्याकरलाई पठाउँछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४