शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'अग्निपथ'ले भारतमा आगो सल्कियो, अन्य देशमा यस्तो छ अभ्यास

भारतीय रक्षामन्त्री राजनाथ सिंहले अग्निपथ योजना घोषणा गरेसँगै भारतका कैयौं स्थानमा विरोध भइरहेको छ। विरोधलाई दमन गर्न खोज्दा हिंस्रक झडपहरु भएका छन्। विरोधमा उत्रिएका सयौंलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ।
 |  आइतबार, असार ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं- भारत सरकारले गत मंगलबार छोटो अवधिका लागि सेना नियुक्त गर्ने घोषणा गर्‍यो। सरकारले यसलाई 'अग्‍निपथ योजना' नाम दियो। उक्त योजना अनुसार चार वर्षका लागि युवालाई सेनामा भर्ती गरिनेछ र यसरी भर्ती गरिएका युवालाई 'अग्‍निवीर' नाम दिइनेछ।

himalayan bank box

उक्त योजना अनुसार भर्ती भएका युवामध्ये २५ प्रतिशतलाई चार वर्षको अवधिपछि भारतीय सेनामा भर्ती हुने मौका दिइनेछ भने बाँकी ७५ प्रतिशतलाई बिदा गरिनेछ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले यो योजना घोषणा गरेसँगै भारतका कैयौं स्थानमा विरोध भइरहेको छ। विरोधलाई दमन गर्न खोज्दा हिंस्रक झडपहरु भएका छन्। विरोधमा उत्रिएका सयौंलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। 

विरोध प्रदर्शनहरु हिंस्रक झडपमा परिवर्तन भएसँगै भारतका विभिन्‍न राज्यमा जलाइएका सवारीसाधन, स्टेसन कन्ट्रोल रुपमा उडिरहेको धुवाँ, घरका भित्ताहरुमा प्रहार गरिएका पत्थरका निशान, रेलवे स्टेसनमा खटिएका सुरक्षाकर्मीहरु देखिएका छन्। 

चार वर्षसम्म युवाहरुलाई सैन्य अभ्यास गराएका युवाहरु समाजमा फर्किँदा समाज नै सैन्यीकरण हुने खतरा, यस योजनाका कारण भारतीय सेनामा 'नयाँ सेना'हरुको संख्या बढ्दै जाने र समस्या हुनसक्ने, सशस्‍त्र बलको पुरानो रेजिमेन्ट संरचनामा समस्या सिर्जना हुनसक्ने, पाइलट प्रोजेक्ट बिना नै लागु गर्न खोजेको र यसका कारण हरेक वर्ष ४० हजार युवाहरु बेरोजगार थपिनेलगायतका कारणहरुले गर्दा यस योजनाको चर्को विरोध भइरहेको छ। 

भारत सरकारले पहिलो पटक कम अवधिका लागि युवाहरुलाई भर्ती गर्ने योजना बनाएको हो। भारत सरकारले अन्य विभिन्‍न मुलुकहरुमा पनि छोटो अवधिका लागि सेनामा भर्ती गर्ने गरिएकोले भारतमा पनि सुरु गर्न लागिएको बताएको छ। 

Metro Mart
vianet

कहाँ-कहाँ छ यस्तो अभ्यास? 

इजरायल

इजरायलमा सैन्य सेवा पुरुष र महिलाका लागि अनिवार्य गरिएको छ। पुरुषले इजरायली सैन्य बलमा तीन वर्ष र महिलाले दुई वर्ष सेवा गर्नुपर्छ। यो हरेक इजरायली नागरिकहरुका लागि लागु हुन्छ। नयाँ आप्रवासी तथा केही धार्मिक समूहका व्यक्तिहरुलाई भने मेडिकलका आधारमा यस नियमबाट छुट दिने गरिएको छ। यसबाहेक एथलिटहरुले पनि सैन्य बलमा सेवा गर्नुपर्ने हुन्छ। 

दक्षिण कोरिया

दक्षिण कोरियामा राष्ट्रिय सैन्य सेवाका लागि एक बलियो प्रणाली विकास गरिएको छ। शारीरिकरुपमा सक्षम पुरुषले सेनामा २१ महिना, नौसेनामा २३ महिना र वायु सेनामा २४ महिना सेवा गर्नुपर्छ। इसबाहेक दक्षिण कोरिया प्रहरी, तटरक्षक, अग्‍निशमन सेवा र केही विशेष परिस्थितिमा अन्य सरकारी विभागहरुमा पनि सेवा गर्नुपर्ने विकल्पहरु दिइएका छन्। 

ओलम्पिक र एसियाली खेलमा स्वर्ण पदक विजेता खेलाडीलाई भने अनिवार्य सैन्य सेवा गर्नुपर्ने नियममा छुट दिइएको छ। पदक नजित्‍ने खेलाडीहरुले भने फेरि फर्किएर सेवा दिनुपर्ने हुन्छ। 

उत्तर कोरिया

उत्तर कोरियामा विश्वकै सबैभन्दा लामो अनिवार्य सैन्य सेवाको प्रावधान छ। यहाँ पुरुषलाई ११ वर्ष र महिलाका लागि ७ वर्ष अनिवार्य सैन्य सेवा गर्नुपर्छ। 

इरीट्रिया

अफ्रिकी मुलुक इरीट्रियामा राष्ट्रिय सेनामा अनिवार्य सैन्य सेवाको प्रावधान छ। यहाँ पुरुष युवा र अविवाहित महिलाहरुले १८ महिनासम्म सैन्य सेवा गर्नुपर्छ। मानवअधिकार संगठनका अनुसार इरीट्रियामा १८ महिनाको सेवा बढाउने गरिएको छ। कहिलेकाहीँ त यो जीवन कालसम्म पनि सेवा गर्नुपर्ने हुनसक्ने जनाइएको छ। 

इरीट्रिया सरकारको यस किसिमको प्रावधानले युवाहरु देश छोडेर भाग्‍नेक्रम पनि बढ्दो छ। केहीले बेलायतमा शरण मागेका छन् भने केही अन्य विभिन्‍न मुलुकहरु पुग्‍ने गरेका छन्। सेनामा अनिवार्य सेवा गर्न नचाहने युवाहरु देश छोडेर भाग्‍ने गरेका हुन्। 

स्विट्‌जरल्यान्ड

स्विट्जरल्यान्डमा १८ देखि ३४ वर्षका पुरुषहरुलाई अनिवार्य सैन्य सेवाको प्रावधान गरिएको छ। स्विट्जरल्यान्डले यसलाई अन्त्य गर्नका लागि सन् २०१३ मा मतदान गरेको थियो। सन् २०१३ मा यस मुद्दामा तेस्रो पटक जनमत संग्रह थगरिएको थियो। स्विटरल्याण्डमा अनिवार्य सेवाको अवधि २१ हप्ताको बनाइएको छ। यसबाहेक हरेक वर्ष अतिरिक्त प्रशिक्षण दिने गरिन्छ। यहाँ महिलाहरुलाई भने अनिवार्य सैन्य सेवाको नियम लागु गरिएको छैन। यद्पि आफू खुसी सैन्य सेवामा भर्ती हुनसक्छन्। 

ब्राजिल 

ब्राजिलमा १८ वर्षभन्दा माथिका पुरुषका लागि अनिवार्य सैन्य सेवाको नियम बनाइएको छ। उनीहरुले १० देखि १२ महिनासम्म सेवा दिनुपर्ने हुन्छ। स्वास्थ्य अवस्था कमजोर भएकाहरुलाई भने अनिवार्य सैन्य सेवा लागु गरिएको छैन। विश्‍वविद्यालयमा अध्ययन गरिरहेका युवाले पनि उक्त अनिवार्य सैन्य सेवाको नियम लागु गरिएको छ। यस अवधिमा सेवा दिने युवाहरुलाई निश्‍चित तलब, भोजन र ब्यारेकमा बसोबासको प्रबन्ध मिलाइएको हुन्छ।

सिरिया

सिरियामा पुरुषहरुका लागि अनिवार्य सैन्य सेवाको नियम बनाइएको छ। मार्च २०११ मा राष्ट्रपति बशर-अल-असदले अनिवार्य सैन्य सेवाको अवधि घटाएर १८ महिनाको बनाएका थिए। सरकारी नौकरी गरिरहेकाहरुले पनि अनिवार्य सैन्य सेवामा भर्ती हुनुपर्छ। नभएको अवस्थामा उनीहरुलाई सरकारी सेवाबाट नै बर्खास्त गर्न सकिने नियम बनाइएको छ। एम्‍नेस्टी इन्‍टरनेशनलका अनुसार अनिवार्य सैन्य सेवाबाट भाग्‍नेहरुलाई १५ वर्षको जेल सजाय तोकिएको छ। 

जर्जिया 

जर्जियामा एक वर्षको अनिवार्य सैन्य सेवाको प्रावधान गरिएको छ। यसमा तीन महिना युद्ध प्रशिक्षण प्रदान गरिन्छ। बाँकी ९ महिना ड्युटी अफिसरका रुपमा काम गर्नुपर्ने हुन्छ। जर्जियामा अनिवार्य सैन्य सेवालाई बन्द गरिएको भए पनि सन् २०१७ देखि फेरि सुरु गरिएको हो। 

लिथुआनिया

लुथुआनियामा अनिवार्य सैन्य सेवाको नियम सन् २००८ मा अन्त्य गरिए पनि सन् २०१६ मा पाँच वर्षका लागि फेरि यो प्रावधान लागु गरेको थियो। सरकारले बढ्दो रुसी सैन्य खतराका कारण यो नियमलाई जारी राखिएको बताएको छ। यहाँ १८ देखि २६ वर्षसम्मका पुरुषहरुले एक वर्ष अनिवार्य सैन्य सेवा गर्नुपर्छ। यहाँ विश्‍वविद्यालय बढ्ने विद्यार्थी र 'सिंगल फादर' का लागि भने छुट दिइएको हो। 

स्वीडेन

स्वीडेनमा सय वर्षपछि अनिवार्य सैन्य सेवा सन् २०१० मा अन्त्य गरिएको थियो। सन् २०१७ मा यसलाई फेरि सुरु गर्न मतदान गरिएको थियो। मतदानपछि सन् २०१८ को जनवरीदेखि ४ हजार पुरुष र महिलाहरुले अनिवार्य सैन्य सेवामा बोलाउने फैसला गरिएको थियो। सन् २०२५ सम्ममा ८ हजार पुरुष र महिलालाई अनिवार्य सेवामा बोलाउने जनाइएको छ। 

यसबाहेक टर्कीमा २० सालभन्दा माथिका पुरुषलाई ६ देखि १५ महिना अनिवार्य सैन्य सेवा गर्नुपर्छ। ग्रिसमा १९ वर्षभन्दा माथिका पुरुषले ९ महिना, इरानमा १८ सालभन्दा माथिका पुरुषले २४ महिना र क्युबामा १७ देखि २८ वर्षका पुरुषले दुई वर्ष अनिवार्य सैन्य सेवामा भर्ती हुनुपर्छ। 

- बीबीसी हिन्दीबाट

प्रकाशित: Jun 19, 2022| 17:04 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।