बिहीबार, भदौ १२, २०८२

गाजाको दहमा पानी सुक्न थालेपछि स्थानीयवासी चिन्तित

 |  बिहीबार, मंसिर १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १३, २०८१

vianetvianet

बागलुङ- यहाँस्थित ऐतिहासिक गाजाको दह नजिकै व्यापार गर्दै आएका नरबहादुर थापाले दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देखिन्थे। पछिल्लो समय दहमा बिस्तारै पानी सुक्दै गएको छ।

Kumaribank

बर्सातमा हावा चल्दा तालको छालले छेउका घरमा असर गर्ने डर हुन्थ्यो। तर अहिले त बर्सातमा पनि यो ताल सुख्खा जस्तै भयो। भरिभराउ हुनुपर्ने तालको आधा पनि पानी नभरिएपछि स्थानीय बासिन्दा चिन्तामा छन्। २ हजार ५ सय मिटर उचाइको गाजा दहको पानी सुक्दा पर्यटकीय स्थल ओझेलमा पर्ने, तल्लो खण्डमा पानीको समस्या बल्झिने चिन्ता बढेको थापाले बताए।

सयौँ वर्षदेखि पहाडको धुरीमा रहेको बागलुङको प्रसिद्ध गाजाको दह पछिल्लो समय सुक्दै जान थालेको हो। हिउँदमा नसुक्ने, बर्सातमा धमिलो पनि नहुने विशेषता बोकेको यो दहमा डोजर लगाएर संरक्षण गर्न खोज्दा पानी घटेको स्थानीयको अनुमान छ।

पाँच वर्षअघि यहाँ पर्खाल लगाएर पानी संरक्षण प्रयास गरिएको थियो। यसका लागि डोजर लगाएपछि पानीको सतह सुक्दै जान थालेको स्थानीयले जनाएका छन्। बागलुङ सदरमुकामदेखि २४ किमी पश्चिमको यात्राबाट पुगिने गाजाको दह पर्यटकीय र धार्मिक गन्तव्य हो। यहाँ सिद्ध बराहको थान छ। यो थानमा जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकावासी पूजा गर्न पुग्छन्। त्यसबाहेक अन्यत्रबाट पनि घुम्न जानेहरु धेरै छन्।

यो दहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित मनास्लु हिमाल समेत देखिन्छ। उच्च पहाडमा भएकोले हिउँदमा हिउँ पर्छ। जंगल छेवैमा भएर पनि यो ताल सधैँ सफा हुन्छ। यसैले यहाँ पर्यटक जाने-आउने गर्छन्। यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङ्जाका धेरै क्षेत्र देखिन्छन्। त्यसैले यहाँ पैदल यात्रा गरेर पनि पर्यटकहरु पुग्ने गर्छन्।

Metro Mart

'यो दह धार्मिकरुपमा पनि प्रसिद्ध छ, तर संरक्षणको नाउँमा डोजर लगाएर पानी घट्यो', स्थानीय थापाले भने, 'अब मौलिक रुपमै संरक्षण नगरे दहको अस्तित्व सकिन्छ।' सडक अप्ठ्यारो भएकोले गाजा दह पुग्ने सडकलाई स्तरीय बनाउन पनि उनले माग गरे।

गाजा दहको छेवैमा रहेको सिद्ध थानमा बैकुष्ठ चर्तुदर्शी तथा बाला चर्तुदर्शीमा मेला लाग्ने गरेको छ। बाला चर्तुदर्शीमा त सतबिज झर्नेको भीडसमेत लाग्छ। पूर्णिमा मेला र विभिन्न चाडपर्वमा यहाँ गाजा दह नुहाउने भक्तजन पनि पुग्छन्। धार्मिक र पर्यटकीय स्थान भएकोले पर्यटन क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ।

गण्डकी प्रदेश सरकारले यो दहलाई पर्यटन क्षेत्रमा सूचीकृत गरेको छ। तर पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीयले गुनासो गरेका छन्। सिद्ध बराह मन्दिर र ताल संरक्षण गर्न स्थानीयले महायज्ञसमेत लगाएका छन्।

शनिबारदेखि सुरु भएको महायज्ञ सातदिन चल्ने जैमिनी नगरपालिका वडा नंं ३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले बताए। यो महायज्ञ धार्मिक मात्र नभइ सांस्कृति र दह संरक्षणको अभियान भएको उनको भनाइ छ।

पानी सुक्दा पर्यटकीय गतिविधि पनि ठप्प हुने स्थानीय यानुकला कालामगरले गुनासो गरे। 'ताल छ भनेरै धेरै मानिस घुम्न आउने हो, पानी सुक्यो भने त यहाँ कोही आउँदैन’, कालामगरले भने, 'यहाँको महत्व जोगाउनुपर्छ।'

गाजा दहको आसपासमा बस्ने मगर र छन्त्याल समुदाय बसोबास गर्दछन्। उनीहरुले यहाँको धार्मिक मठमन्दिरमा पूजा गर्छन्। साथै, मेलापर्व पारेर लोकदोहोरी, सोरठी, सालैज्यो र बिनासालैज्यो जस्ता संस्कृतिसमेत देखाउने चलन छ। रासस

प्रकाशित: Nov 28, 2024| 21:01 बिहीबार, मंसिर १३, २०८१
प्रतिक्रिया दिनुहोस्