काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुशल भाषणकला भएका नेता हुन्। व्यंग्य, उखान र टुक्का मिश्रण गरेर उनले घन्टौं प्रवचन दिन सक्छन्। कसैलाई व्यंग्य गर्नुपरे उनी उदाहरण र टुक्का जोडेर प्रहार गर्छन्। आलोचना, छुद्र टिप्पणी, उखान–टुक्का मिश्रित व्यग्यंवाण ओलीको भाषणका विशेषता हुन्।
नेपाली राजनीतिमा उनको भाषणलाई जोडेर धेरैको टिप्पणी हुने गर्छ- उनी लामो समय भाषण गर्न रुचाउने नेता हुन्। समयको ख्यालै नगरी लामो भाषण गर्ने उनको बानी छ।
खासगरी, २०६४ को निर्वाचनपछि नेकपा माओवादी मुलुकको पहिलो शक्तिका रुपमा उदायो। भर्खरै युद्धबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादीले सत्ता सञ्चालनमा कच्चा देखियो। सँगै वाइसिएल गठन गरेर जनतालाई दुःख दिएको गुनासोसमेत बढ्न थाले। त्यसपछि ओलीले हरेक भाषणमा माओवादीको चर्को आलोचना गर्न थाले। उनको भाषणको क्रेज त्यही बेलादेखि बढेको थियो।
जब २०७२ असोजमा संविधान जारी गरियो। त्यसबेला मधेस केन्द्रित दलको आन्दोलनको जगमा भारतले नाकाबन्दी गरेपछि ओलीको भाषणको क्रेज चुलियो। उनले भारतीय नाकाबन्दीको चर्को आलोचना विरोध गरे। त्यसले ओलीको कद अझ बढाइदियो। ओलीको छवि राष्ट्रवादी नेताका रुपमा स्थापित भयो। त्यो समयमा ओलीका भाषण सुन्न खचाखच भीड हुन्थ्यो।
तर, अहिले परिस्थितिले ओलीलाई भाषण सुन्नेहरूको संख्या कम भएकोमा गुनासो गर्नुपर्ने अवस्थामा पुर्याइदिएको छ। खासगरी स्थानीय तहको निर्वाचनअघि आत्मविश्वासका साथ भाषण गर्ने ओली अहिले गुनासो पोखिरहन्छन्। उनका गुनासो कहिले भाषण सुन्नेहरूको संख्यालाई लिएर हुने गरेको छ, कहिले ध्यानपूर्वक भाषण नसुनेकोमा।
जेठ २२ गते विश्व वातावरण दिवसका अवसरमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा ओलीले भाषण सुन्न आउनेको संख्या काम भएको गुनासो गरेका थिए। अझ उनले आफ्नो भाषण ध्यान दिएर नसुनेकोमा समेत गुनासो व्यक्त गरेका थिए। वातावरण, विज्ञानका विषयमा धाराप्रवाह बोलिरहँदा हलमा हल्ला भएको गुनासोसहित उनले भनेका थिए, ‘के भएर हल्ला भइरहेको छ, त्यहाँ पछाडितिर?’ ओलीसँगै मन्च शेयर गरेका एक जनाले भन्छन्, ‘बाहिरको होला।’ तर ओलीले थपिहाल्छन्, ‘बाहिरको होइन, यहीको हो।’
ओलीको गुनासो त्यतिमा मात्र सीमित रहँदैन। करिब ५० मिनेट बोलिसकेपछि मन्तव्य अन्त्य गर्नुअघि अर्को गुनासो तेर्साउँछन्–हल किन भरिएन?
भाषण सुन्न मान्छे आउन छाडेको र आफ्ना कुरा ध्यानपूर्वक नसुनेको गुनासो उनले त्यो कार्यक्रममा मात्र सीमित राखेका छैनन्। बिहीबार एमालेले स्थानीय तहमा नवनिर्वाचित भएका जनप्रधितिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा समेत यस्तै गुनासो राखे।
‘यस्तो महत्वपूर्ण विषयमा तपाईंहरूले गोष्ठी आयोजना गर्दा महिला पनि यति मात्रै हुने र वातावरणसँग रुचि भएकाहरू पनि यति मात्रै हुने ? कुर्सी खाली भएको देख्दा अचम्म लाग्यो,’ उनले भनेका थिए, ‘यति महत्वपूर्ण विषयमा तपाईहरू सेमिनार गर्दै हुनुहुन्छ। मानिलिऔं अरुको फोक्सो छैन, सास नै फेर्न पर्दैनजस्तो।’
रुख र फोक्सोको सम्बन्धलाई जोडेरसमेत उनले गुनासो मिश्रित आक्रोश पोख्न भ्याएका थिए। ‘हामीले थाहा पाउनुपर्छ। हाम्रो आधी फोक्सो छातिभित्र छ, आधी रुखमा छ। रुख भएन भने फोक्सो चल्दैन, फोक्सो भएन भने रुख चल्दैन। त्यसकारण फोक्सो बुझ्ने मान्छे यति मात्रै हुँदा अचम्म लाग्यो,’ उनले भनेका थिए, ‘तपाईंहरूले आमन्त्रण गर्न कन्जुस्याइँ गर्नुभयो कि? आफ्ना कुरा सुनाउन कन्जुस्याइँ हो कि? मान्छेहरूको रुचि हराएको हो कि? तपाईहरूको सक्रियता हराएको हो। यति सानो हलमा त मान्छे नअटनुपर्ने हो, त्योचाहिँ मैले बुझ्न सकिनँ। खबर पाएर कोही आएन भनेचाहिँ कठैबरा भन्नुपर्छ, त्यस्ता व्यक्तिहरूलाई।’
भाषण सुन्न मान्छे आउन छाडेको र आफ्ना कुरा ध्यानपूर्वक नसुनेको गुनासो उनले त्यो कार्यक्रममा मात्र सीमित राखेका छैनन्। बिहीबार एमालेले स्थानीय तहमा नवनिर्वाचित भएका जनप्रधितिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा समेत यस्तै गुनासो राखे। प्रशिक्षण लिन आएका जनप्रतिनिधि आफूले भाषण गरिरहँदा निदाएको भनेर उनले गुनासो पोखेका थिए।
बिहीबारको कार्यक्रममा ओलीले भनेका थिए..
स्थानीय तहको निर्वाचनको रुपमा एउटा महासंग्राम आयो। निर्वाचन जनताको बीचमा भयो। तर यहाँ जनमतको मात्र कुरा भएन। कुप्रचार षडयन्त्र, अनेक प्रकारका अनेक जालझेलका हत्कण्डा अपनाइए। त्यतिले नपुगेर अपहरण गर्ने, कुट्नेपिट्ने, अंगभंग गर्ने, मान्छे मार्ने, बुथ कब्जा गर्ने, यस्ता अनेक अपराधिक क्रियाकलापहरु राज्यशक्तिको दुरुपयोग गरेर राज्यको योजनामा गरियो। कहाँबाट आएको हो थाहा छैन तर पैसाको व्यापक दुरुपयोग भयो। हामीले चुनाव मात्र लडेनौं, एउटा अधिनायकवादविरुद्ध लड्नुपर्यो। एउटा लोकतन्त्रको नाम जप्ने तर अलोकतान्त्रिक, प्रशासनिक हिसाबले भन्ने हो भने अधिनायकवादी, तानाशाही, दमनकारी शासनका आडमा सम्पूर्ण प्रतिकृयावादी शक्तिहरु एकजुट भएर एमालेविरुद्ध लागेको स्थितिमा हामीले लड्यौं। प्रहरी प्रशासन नै लागेर पैसा बाँडेको, बुथ कब्जा गरिएको स्थितिमा तपाईंहरु लडेर विजयी भएर आउनुभएको छ। त्यसैले मैले तपाईंहरुलाई महासंग्राम लडेर आउनुभएको भनेको हुँ।
माइक ठ्याकठ्याक पार्दै...
मैले साथीहरुलाई एउटा कुरा भन्नुपर्छ कि जस्तो लाग्यो। निन्द्रा नलागेका साथीहरु ढल्केर बसे पनि हुन्छ। निन्द्रा लागेका साथीहरु सीधा बस्नुहोला। कसैलाई निन्द्रा लाग्यो भने सीधा बसेपछि भाग्छ। तपाईंहरुलाई थाहा छ, म एकतिर हेरेर बोल्दिनँ के। यता, यता, यता..सबैतिर हेरिराखेको हुन्छ। आँखा झिमिक्क गर्नुभयो भने देखिहाल्छु। त्यसकारण यसपट्टि पनि साथीहरु सजग हुनुहोला। अलि कसोकसो भएर अल्छी लागिहाल्यो भने, ढ्याक्क यसो (ठाडो भएर) गरेर बस्नुहोला।
अब त्यस ठाउँमा त्यस्ता मान्छेहरुबाहेक अरु नै अनधिकृत मान्छे ल्याएर करका दर तोकिन्छ। व्यापारीसँग मिलेर करका दर तोकिन्छ। कमिसन खाएर करका दर तोकिन्छ। यस्तो त कुनै राज्यको कुनै प्रालिमा पनि कल्पना गर्न सकिँदैन। पञ्चायतकालमा पनि हुँदैनथियो। यहाँ त बनाउँदै गर्दा पनि व्यापारीका प्रतिनिधि राखेर बजेट बनाइन्छ भने देशको के हालत भयो? यस्तो अवस्थामा तपाईंहरुले चुनावको सामना गरेर जित्नुभयो। यो चानचुने कुरा हैन। यति घेराबन्दीका बीचमा यति राज्यशक्तिको दुरुपयोको बीचमा एमाले भएकै कारण यति धेरै संख्यामा सिट जितेर आएको छ। एमालेलाई बधाई, जितेका प्रतिनिधिलार्ई बधाई, एमालेका शुभचिन्तकलाई बधाई।
हामीले थोरै अन्तरले हारेको ठाउँमा भोट किन जितनौं भन्ने कुरामा म धेरै भन्न चाहन्न। हाम्रा आफनै कमजोरीका कारण धेरै ठाउँमा आउनुपर्ने बढेबढे मत आएका छैनन्। हाम्रा स्थिति कमजोर छैन। यत्रो ज्यादती हुँदा, हाम्रा मान्छेहरु कुटिँदा... एउटा रिपोर्ट आउँछ, यस्तो किन भइरहेको छ भनेर भन्न भ्याएको छैन, अर्को रिपोर्ट आएको छ। जसले जहाँ छ, त्यहाँबाट ज्यादती भएको छ।
चुनावी सभामा ओली कुनै बेला नेकपा हुँदा सँगै रहेको नेकपा माओवादी केन्द्र र एमालेबाटै टुक्रिएको नेकपा एकीकृत समाजवादीप्रति रुखो सुनिन्थे नै। सँगै, वर्तमान सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांंग्रेसको समेत चर्को आलोचना गर्थे।
२०१५ सालको इलेक्सन मैले हेरेको छु। त्यहाँदेखि अहिलेसम्म तर यस्तो इलेक्सन, यति अनैतिकता, यति अलोकतान्त्रिक मैले कुनै चुनावमा कहिले देखिनँ। पञ्चायतमा पनि यो हद भएन क्या। कहीँ केही भएको छैन, यसै प्रहरीले बुथ छोडेर हिँडेको छ। एमालेले जित्यो भनेपछि छोडेर हिंडेको छ। एउटा बुथमा समस्या होला, तर सिंगै पालिकामा निर्वाचन गर्नुपर्ने जहाँ उजुरी पनि छैन। तर त्यहाँ सबै गर्नुपर्ने किन त? अहिले एउटा सिटको लागि सम्पूर्ण राज्यशक्तिको दुरुपयोग भयो।
अहिलो गठबन्धनलाई पनि सभ्य भाषामा भन्नुपरेकोले मैले साथीहरु भनेको हुँ।
फेरि माइक ठ्याकठ्याक पार्दै..
मैले भनेको कुरालाई साथीहरुले ठिकै मात्र बुझदा हुन्छ। हामी जेलमा बस्दा एउटा शिक्षकहरुको हुल आएको थियो। त्यहाँ मलाई प्रशिक्षण गर्न भने । प्रशिक्षण गर्दै गएपछि एक जना साथी निदाए। अनि सर निदाउनुभयो कि भनेको, हैन म एकदमै महत्वपूर्ण कुरा भनिराख्नुभएको कमरेडले त्यस कारण एकदम सार खुम्चिरहेको छु।
तर धेरसार नखुम्चिएर बुझम् न, आँखा हेरीहेरी बुझम्। ननिहुरी बुझम्, मुन्टो नलरकाइ बुझम्। सम्भवतः लाइभ प्रसारण भइरहेको छ तपाईंहरु निदाएको फोटाचाहिँ अलि.... यो क्यामेरा वालाहरुको बुझ्नुभएको छ नि, के गर्छन् भने निदाएको फोटोचाहिँ स्वाट्ट दिइहाल्छन् के, त्यति कुराचाहिँ बुझम्। खैर साथीहरु चुनावमा थाक्नुभएको पनि होला, त्यो त हो। मिहिनेत गर्नुभएको होला, थकाइ मरे्को छैन होला, त्यो बुझन सकिन्छ।
०००
स्थानीय तहको निर्वाचनअघि ओली विपक्षीप्रति लक्षित गरेर आक्रामक भाषण गर्थे। कार्यक्रममा मान्छे कम भएको, भाषण ध्यानपूर्वक नसुनेकोमा उनको गुनासो हुन्थेन। तर निर्वाचन परिणामले एमालेलाई दोस्रो दलका रुपमा मात्रै खुम्चाइदिएन, ओलीलाई आफ्ना कुरा सुनाउन बारम्बार झकझाउनुपर्ने स्थितिमा समेत पुर्याइदिएको छ।
हुन त, ओलीले एमाले पराजयको कारण सत्तापक्षबाट धाँधली नै भएको दाबी निरन्तर गरिरहेका छन्। जेठ १२ गते प्रतिनिधिसभामा बाल्दै सरकार पक्षले बुथ कब्जा गरेको आरोप लगाएका थिए। ‘सरकार पक्षले नै बुथ कब्जा गर्यो। मतदाताको हत्या गर्यो। जसरी भए पनि परिणाम आफ्नो पक्षमा पार्न सत्तापक्ष लाग्यो। लोकतन्त्रको पक्षमा सरकार लागेन,’ उनले भनेका थिए।
पाँच वर्षमा घटेको शाख
त्यसो त, २०७४ सालको निर्वाचनमा एमाले पहिलो दलका रुपमा स्थापित हुनुमा ओलीको राष्ट्रवादी छवि र बाम गठबन्धन नै प्रमुख कारण थिए।
जब उनी दोस्रो कार्यकालका लागि (२०७४ फागुन ३ मा) प्रधानमन्त्री बने। त्यसपछि उनको क्रेज निरन्तर घट्दै गएको छ। करिब साढे तीन वर्ष सरकार संचालन गर्दा ओली दर्जनौं पटक विवादमा परे। विश्वभर कोरोना नामक नौलो भाइरस फैलियो। जसबारे वैज्ञानिकहरुलाई नै धेरै कुरा थाहा थिएन। तर ओलीले कोरोनाबारे वैज्ञानिकझैं अनेक टिप्पणी गरे, व्यख्या गरिदिए। उनी नेतृत्वको सरकार निरन्तर विवादमा तानिनु र तथ्यबाट टाढै रहेर ओलीले हरेक विषयमा नयाँनयाँ व्यख्या प्रस्तुत गर्न थाले। जसका कारण ओलीको कद र क्रेजको ओह्रालो यात्रा सुरु भयो। अझ २ पटक (०७७ पुस ५ र २०७८ जेठ) गते प्रतिनिधिसभा विघटनको असफल प्रयास गरेपछि ओली विवादको केन्द्रमा रहे नै, सँगै उनको राजनीतिक करियरको ग्राफसमेत ओर्लिँदै गयो। २०७४ सालको निर्वाचनमा बनेको बाम गठन्धनको जगमा निर्मित करिब दुई तिहाइ प्राप्त नेकपा अहिले तीन टुक्रामा विभाजित भएको छ। नेकपा विभाजनको प्रत्यक्ष/परोक्ष कारक उनै रहेको आरोप लाग्ने गरेको छ।
राष्ट्रवादी नेताको छवि बनाएका शक्तिशाली प्रधानमन्त्री भएका उनले प्रतिनिधिसभा विघटनको असफल प्रयास गरेर आफ्नो कद होच्चाउने काम गरेका छन्। शक्तिशाली प्रधानमन्त्री, शक्तिशाली पार्टीको अध्यक्ष हुँदै उनी आफ्नै कर्मका कारण प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा उभिएका छन्।
अझ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामले ओली नेतृत्वको एमाले पहिलो दलबाट दोस्रो दलमा खुम्चिएको छ। पाँच वर्षअघि २९४ तह जितेर पहिलो पार्टी बनेको एमाले यसपटक दोस्रो दलमा खुम्चिएको छ। यसपटक एमालेले २०५ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ।
तर, नेताहरुले लोकप्रिय मतमा पहिलो बनेको दाबी गर्दै आएका छन्। जसलाई यही वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कार्यकर्ताको मनोबल कायम राख्ने टुल्सका रुपमा एमाले नेताहरुले प्रयोग गरिरहेका छन्। तर एमालेको गर्तमा निर्वाचन परिणामले ठूलै हलचल ल्याइदिएको छ। त्यो हलचललाई घटनाक्रमले पुष्टिसमेत गरिरहेका छन्। अझ अध्यक्ष ओलीका लागि निर्वाचन परिणाम अनपेक्षित नै बनिदिएको छ।
निर्वाचनअघि ओलीलगायतका नेताहरुले ६० प्रतिशत तह जित्ने दाबी गर्दै आएका थिए। देशभरका चुनावी सभामा एकल प्रचारकजस्ता देखिएका ओलीले पाँचदलीय गठबन्धनको हैसियत चुनावी परिणामले देखाइदिने बताउँदै आएका थिए। चुनावी सभामा ओली कुनै बेला नेकपा हुँदा सँगै रहेको नेकपा माओवादी केन्द्र र एमालेबाटै टुक्रिएको नेकपा एकीकृत समाजवादीप्रति रुखो सुनिन्थे नै। सँगै, वर्तमान सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांंग्रेसको समेत चर्को आलोचना गर्थे।
उनले एमालेसँग लड्ने कांग्रेसको हैसियत समाप्त भएको बताउँदै आएका थिए। उनले एमाले क्विन्टलको ढक भएको र गठबन्धनका पाँच दल एक–एक किलोका ढक भएको दाबीसहित पाँच किलोका ढकले क्विन्टलको ढकसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गर्दै आएका थिए। तर मतपरिणामलाई हेर्ने हो भने ओलीले दाबी गरेजस्तो एमाले क्विन्टलको ढक रहेन। न गठबन्धनका दलहरु एक–एक किलोका ढकमा मात्रै सीमित रहे। ओलीले हैसियत सकिएको भनेको कांग्रेस ३२९ तह जित्दै पहिलो पार्टी बनिदियो। जुन नतिजा एमाले र ओलीका लागि अपेक्षित होइन।
निर्वाचन परिणामपछि ओलीमा तीव्र छटपटी देखिन्छ। उनीभित्रको त्यो छटपटी कहिले धाँधलीको आरोपमा अभिव्यक्त भइरहेको छ भने अहिले अन्तरघात र भाषण सुन्न नआएको/नसुनेको गुनासोमा देखा पर्ने गरेको छ।
ओलीले जेठ १९ गते एमालेलाई नेताबाटै जोगाउन चुनौती देखा परेको बताएका थिए। ‘जनताले एमालेलाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन्। तर समस्या हामीभित्रै देखिएको छ। आफ्नै पार्टीभित्र एउटाले अर्कोलाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बन्यो,’ पार्टीको एक कार्यक्रमा ओलीले भनेका थिए, ‘नेताहरुबीच मेल भएन, स्पिरिट भएन। यथार्थमा पार्टीलाई कसरी बचाउने भन्ने चुनौती थपिएको छ।’ उनले यो अभिव्यक्ति दिएको केही दिनमै नेता घनश्याम भुसाललाई कारबाही गर्ने निर्णय एमालेको अनुशासन विभागले गरेको छ। जेठ ३१ गते आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ। आयोगको पूर्ण बैठकले भुसालको अभिव्यक्ति कारबाहीयोग्य भएको भन्दै यसअघि आयोगकै सचिवालयको निर्णयलाई अनुमोदन गरेको थियो।
भुसालले हिमालय टेलिभिजनसँगको एक अन्तर्वार्तामा स्थानीय तह निर्वाचनमा पार्टी हारको जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिका कारण भुसालमाथि कारबाहीको डन्डा चलाउने प्रयास ओलीले गरेका छन्।
ओलीले बिहीबार पार्टीमा अन्तरघात भएको कुरा फेरि उप्काए। उनले पार्टीभित्रै सकुनीहरु निस्किएको बताएका थिए। ‘कतिपय उम्मेदवार चयनमा ढंग भएन होला। अनेक प्रतिकूलता र अनेक नकारात्मकता... त्यो सबैको योगमा हामीले जित्यौँ। विरोधीहरुले मात्र हराउन सक्ने थिएनन्। हामीलाई हराउन हाम्रा विरोधीले मात्र सक्दैनन्। तर हाम्रै भित्रबाट सकुनीहरु निस्किए। हाम्रै भित्रबाट मिर्जाफरहरु निस्किए। मिर्कआसिमहरु निस्किए। मिर्जाफर भनेको बंगालमा एउटा सेनापति थियो,’ उनले भनेका थिए, ‘अंग्रेज आयो, उसले बंगाल कब्जा गर्न सक्ने थिएन। तर मिर्जाफर भन्ने बंगालको सेनापतिलाई आफूतिर मिलाएर कब्जा गर्न खोज्यो। मिर्जाफर विस्तारै एक्सपोज हुन थालेपछि उसलाई अपदस्थ गरेर मिर्कासिनहरुलाई ल्याइयो। मिर्कासिनले विरोधीसँगै मिलेर बंगाल कब्जा गराइदियो। उनलाई सुरुमा नवाव हुन्छस् भनेका थिए। तर पछि नवावसवाव लोप्पा खुवाइदिए। किनभने यस्ता विश्वासघातीहरुलाई त्यस्तै किसिमबाट जवाफ जसले पनि दिन्छ।’
निर्वाचनपछि एमालेमा अहिले चार विषय चर्चामा छन्। पहिलो–पालिका नेतृत्वमा पराजित भए पनि लोकप्रिय मत पाएको दाबीसहितको आत्मसन्तुष्टि। दोस्रो– हारको प्रमुख कारण गठबन्धन, धाँधलीको आरोप। तेस्रो– अन्तरघात अनि अनुशासनको प्रश्न। र, ओलीमा बढेको छटपटी ।