मंगलबार, वैशाख २५, २०८१

चाँदीको ताल्चा खोलेर उद्घाटन गरिएको त्यो त्रिचन्द्र क्याम्पसको यस्तो हालत!

२७ असोज १९७६ मा आएर राजा त्रिभुवनले कलेजको उद्घाटन गरेका थिए। चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर कलेज भवनको उद्घाटन गरिएको थियो। ढुंगा, इँटा, चुना, सुर्ती, काठ, फलाम जस्ता सामग्री प्रयोग गरेर निर्माण गरिएको यो भवन सम्पन्न गर्न १४ महिना लागेको थियो।
 |  बिहीबार, असार २, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, असार २, २०७९

काठमाडौं– झट्ट हेर्दा कुनै फिल्ममा देखाइने ‘भूत बंगला’ जस्तो भवन छ। भित्ताहरु लेउले भरिएका छन्। चिराचिरा परेर चर्किएका छन्। त्यही चिराबाट पलाएका छन्, नयाँ पालुवाहरु। भवनमा लगाइएको सेतो रंगमाथि दागैदाग पोेतिइसकेको छ। पुरानो ‘डिजाइन’मा बनाइएको यो भवनको शीरमा मधुरो अक्षरमा लेखिएको छ– त्रिचन्द्र कलेज।

triton college

देशकै जेठो क्याम्पस त्रिचन्द्रको भवन यसको नामजस्तै पुरानो भइसकेको छ। न शैक्षिक कुरामा यसले आफ्नो साख कायम गर्न सकेको छ, न भौतिक संरचनाकै संरक्षण। रानीपोखरी र घण्टाघरलाई साक्षी राखेर लामो समयदेखि चलिरहेको यो कलेज अहिले नाममात्रैको ‘त्रिचन्द्र’ बन्न पुगेको छ। बाँकी कुरामा यसले आफ्नो गरिमा कायम राख्न सकेको देखिँदैन।

घण्टाघरसँग जोडिएर फैलिएको भवन पूरै जीर्ण बनिसकेको छ। ०७२ सालमा आएको भूकम्पले थिलथिलो बनाएको छ। सँगै जोडिएको घण्टाघर रंगरोगन गरेर पुनः टिलिक्क टल्काइसक्दा कलेजको संरचनामा भने कुनै फेरबदल छैन। बरु दिनप्रतिदिन थप कमजोर हुँदै गएको छ।

तपाईं कल्पना गर्नुहुन्छ? यस्तो जीर्ण र जोखिमयुक्त भवनमा पनि नियमित पढाइ हुन्छ। शैक्षिक गतिविधि अझै सञ्चालन हुन छाडेको छैन। जबकि झट्ट हेर्दा ‘मान्छे पनि को छिर्ला र?’ भने जस्तो लाग्छ। तर, त्रिभुवन विश्वविद्यालयभन्दा पनि अगाडि सञ्चालनमा आएको त्रिचन्द्रले अहिले जोखिम मोलेरै कक्षा सञ्चालन गर्न बाध्य बन्नुपरेको छ। जसलाई लिएर विद्यार्थीहरु दिनप्रतिदिन आन्दोलित बन्दै गइरहेका छन्।

नबनुन् पनि किन? सुरक्षित भएर ढुक्कले अध्ययन गर्न नपाएपछि जोकोही आन्दोलित बन्नसक्छ। त्यसमाथि त्रिचन्द्रको शैक्षिकमात्र नभएर ऐतिहासिक महत्व छ। जसकारण यसको पुनर्निर्माण गर्नैपर्ने दबाब विद्यार्थीहरुले दिइरहेका छन्। कक्षालाई अन्यत्र स्थानान्तरण गरेर भवनको पुनर्निर्माण गर्नुपर्ने माग उनीहरुको छ।

corrent noodles
Metro Mart

घण्टाघरसँगै जोडिएको त्रिचन्द्रको भवन छिरेर नजिकबाट नियाल्दा यसको ‘जीर्णता’ झन् छताछुल्ल हुन्छ। जस्तो– कलेज परिसर छिर्नासाथ पहिला तपाईं ‘डिपार्टमेन्ट अफ मेटेरियोलोजी’मा ठोकिन पुग्नुहुन्छ। त्यसपछि पहिलो तल्लामा क्रमशः भूगोल शिक्षण समिति, कोठा नं. ११० मा जिओग्राफी डिपार्टमेन्टको कार्यालय छ। सँगैमा अंग्रजी शिक्षण समिति र ‘डिपार्टमेन्ट अफ जीओलोजी’ लेखिएको कोठा छ।

मेटेरियोलोजी डिपार्टमेन्टमा पानी चुहिरहेको थियो। भित्तामा पनि दागैदाग र मनपरी लेखिएका अक्षर छन्। चर्किएर प्वालका धर्साहरु बनेका छन्। तर, हामी पुग्दा यो डिपार्टमेन्टबाट विद्यार्थीहरु आफ्नो ‘भाइबा’ सकेर भर्खरै निस्कँदै थिए। आकाशबाट झरिरहेको पानी त्रिचन्द्रको छतले धान्न सकेको थिएन। पानी छिचोल्दै विद्यार्थीहरु बाहिर निस्किए। 

‘नआउँ पढ्नैपर्यो, आउँदा यस्तो जोखिम मोलेर पढ्नुपर्छ,’ एक विद्यार्थी मुर्मुरिँदै हिँडिन्। विद्यार्थीहरुको बोलीमा भवन भत्किने कुराको त्रास र क्याम्पस प्रशासनप्रतिको आक्रोश छताछुल्ल देखिन्थ्यो। 

त्यसको छेउमा रहेको जिओग्राफी डिपार्टमेन्टमा पनि शिक्षकहरु बसिरहेका छन्। जीर्ण भवनभित्रै यो डिपार्टमेन्टको कार्यालय छ। त्यस्तै, बन्द भएर बसेका जुओलोजीलगायतका डिपार्टमेन्टमा चराचुरुंगीले गुँड लगाएका छन्। पानी चुहिने रोगले भवनको पल्लो छेउसम्मै छोडेको छैन।

त्यहीँ नजिकै सानो टहरोजस्तोमा कलेजकै सुरुक्षा गार्ड बस्छन्। उनी बस्ने झुपडी पनि एकदमै जोखिमयुक्त छ। झुपडीको आडमै रहेको अर्को ‘ब्लक’ पनि धराप छ। जहाँ पठनपाठनजस्ता कुनै पनि गतिविधि सम्भव छैन। लामो समयदेखि कसैले रेखदेख र सरसफाइ नगर्दा भवनभरी लहरा र घाँसपात जेलिएका छन्।

दोस्रो तलामा पुग्दा भवनको अवस्था झन् नाजुक छ। भौतिक विज्ञान समाज र त्यो छेउछाउका कोठामा शिक्षकहरु बसिरहेका छन्। घण्टाघर मर्मत गर्ने मान्छेको कोठा पनि त्यहीँ भित्र छ। ८ नम्बर कोठामा पठनपाठन भइरहेको छ। जहाँ पानी चुहिरहेको थियो। नजिकै केन्द्र बनाएर सानो कम्पन आयो पनि भवन भत्किएला जस्तो भइसकेको छ। तर, यहाँबाट विद्यार्थी र शिक्षकलाई स्थानान्तरण गराउन क्याम्पसले सकिरहेको देखिँदैन।

कलेजका अनुसार त्रिचन्द्रमा २५ वटा भन्दा धेरै विभाग छ। छुट्टाछुट्टै विषयको अलगअलग विभाग यहाँ छ। विभागमा नै विद्यार्थीहरुको हाजिर हुन्छ। स्नातकोत्तरको लागि त विषयगत छुट्टै कार्यक्रम संयोजक हुन्छन्। उनीहरुको लागि छुट्टै कार्यकक्षको व्यवस्था गरिनुपर्छ। यस्ता प्रशासनिक संरचनाको कारण पनि त्रिचन्द्रको भवनले धेरै ठाउँ ओगटेको छ।

तर, अहिले पुरानो भवनमा क्षति पुर्याएपछि कक्षाकोठाको अभाव छ। त्यस्ता कार्यालयलाई ‘मर्ज’ गरेर व्यवस्थापन गर्न सक्दा पनि १५ वटाभन्दा धेरै कक्षाकोठा निकाल्न सकिने कलेजका सूचना अधिकारी तथा क्याम्पसका सहायक प्रमुख बालकृष्ण पौडेल बताउँछन्। यद्यपि, ती कोठाहरु साना छन्। पठनपाठनको लागि यो अल्पकालिन उपायमात्र हुनसक्छ।

यसरी कक्षा अभाव भएपछि त्रिचन्द्र कलेज प्रशासनले डिपार्टमेन्टहरु नै मर्ज गर्नुपर्ने अवस्था आएको छ। केही समयअगाडि घण्टाघरतिरको सातवटा डिपार्टमेन्ट रानीपोखरी छेउको भवनमा सार्ने निर्णय क्याम्पसले गरेको थियो। ती सातमध्ये साइकोलोजी, नेपाली स्नातकोत्तर, स्ट्याट डिपार्टमेन्टलाई रानीपोखरी छेउको भवनमा नै व्यवस्थापन गरिसकिएको छ। 

‘स्ट्याटका सरहरु त फेरि यता असहज भयो भने रजिस्टर उठाएर पारी (घण्टाघर पट्टी) जानुभएछ। उहाँहरुलाई फेरि भन्नुपर्ला। अल्पकालिन समाधानको लागि पनि यतै (रानीपोखरी साइड) मर्ज गरेर बस्नुको विकल्प छैन,’ उनले भने।

फाइल तस्बिर
मर्जको मतलब कलेजले विषयहरुलाई मिसाएर एउटै बनाएको भने हैन। दुई वा त्यो भन्दा धेरै विभागको कार्यालय एउटै कोठामा अटाउने क्याम्पसको सोच हो। जस्तो– अहिले राजनीतिशास्त्र विभाग भएको ठाउँमा अंग्रेजी विभाग पनि राखिएको छ। कोठाको एउटा कुनो राजनीतिशास्त्र र अर्को कुनोबाट अंग्रेजी विभाग सञ्चालन हुन्छ। त्यस्तै, गणितमा लगेर स्ट्याटको विभाग मिसाइएको छ। इतिहास विभागमा साइकोलोजीलाई पनि लगेर राखिएको छ। 

रानीपोखरीतिरको सबै कोठाहरु बिहान विज्ञानको कक्षाले नै ओगट्छ। दिउँसो पनि धेरैजसो विज्ञानका कक्षाहरु नै हुन्छ। पढाउने कक्षाकोठा पनि क्याम्पसलाई अपुग छ। त्यसैले डिपार्टमेन्टभित्रै कक्षाहरु सञ्चालन गर्न कलेज बाध्य हुनुपरेको पौडेलको भनाइ छ। साँघुरो रहेकोले डिपार्टमेन्टको कोठामा पनि कक्षा सञ्चालन हुन गाह्रो छ। जसकारण घण्टाघर तिरको थोत्रो भवनमै विद्यार्थीहरुलाई राख्नुपर्ने अवस्था छ। करिब १० हजार हाराहारी विद्यार्थी त्रिचन्द्रमा अध्ययनरत छन्। 

हुन त क्याम्पसले पनि भवन पुनर्निर्माणको काम हुनुपर्ने भन्दै पहल नगरेको हैन। केही समय अघिसम्म त्रिचन्द्रको एउटा टोली सबै दलका प्रमुख नेताहरुलाई गुहार्न धाइबस्थ्यो। तर, परिस्थिति यस्तो बन्यो, जति गुहारे पनि उनीहरुले वास्ता गरेनन्। बरु सम्बन्धित निकायले नै ‘डीपीआर तयार भइसकेको छ, अब ठेग्काको प्रक्रियामा जान्छ’ भनेर ढाँटिदियो। त्यसपछि यो टोलीले दलका नेताहरुलाई गुहार्न छोडिदिए। बरु अब विकल्पमा काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन शाहलाई भेट्ने तयारी भइरहेको टोलीका एक सदस्यले बताए।

उनका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीदेखि शिक्षामन्त्रीसम्मलाई उनीहरुले भेटेका छन्। शीर्ष तहका नेताहरुलाई खासमा त्रिचन्द्र पुनर्निर्माणको जानकारी नै नरहेको उनी बताउँछन्। ‘हामीले कुरा राख्दा अब म पहल गर्छु। यसअघि त मलाई केही पनि थाहा थिएन। त्यस्तो अवस्था छ र भन्ने खालको जवाफ दिनुहुन्छ। खासमा यो विषय के हो भनेर उहाँहरुलाई थाहा नै छैन,’ उनले भने।

गृहमन्त्री बालकृष्ण खाण, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, केपी शर्मा ओलीलगायत नेताहरुलाई पनि उनीहरुले भेटे। रोचक त के भने, शिक्षामन्त्रीले त्रिचन्द्रको टोलीलाई डीपीआर तयार भइसकेको अवस्था छ भनेर झुट बोलेका रहेछन्। यो कुरा उनीहरुले प्रचण्डको भेटपछि मात्र थाहा पाए।

टोलीमा गएका अर्का सदस्यले बताएअनुसार प्रचण्डलाई त्रिचन्द्र पुनर्निर्माण गर्ने पहल गरिदिन अनुरोध गर्दा उनले सिधै शिक्षामन्त्री देवेन्द्र पौडेललाई फोन गरे। जवाफमा शिक्षामन्त्रीले ‘अब डीपीआर बनाउने तयारीमा जानुपर्ला’ भनेर प्रचण्डलाई बताए। जबकि यता क्याम्पसलाई डीपीआर करिब अन्तिम चरणमा पुगिसकेकोले ढुक्क हुन उनले आग्रह गरेका थिए।

यसअघि केपी शर्मा ओली प्रधानमन्त्री रहँदा पनि यो टोली छलफलको लागि गएको थियो। त्यसबेला तत्कालको लागि दरबार हाइस्कुलमा कक्षा सञ्चालन गर्ने वातावरण मिलाउने भद्र सहमति भएको थियो। तर, त्यो सहमति पनि त्यसै खेर गयो। न राज्यले कक्षा सञ्चालन गर्न अनुमति दियो, न पुनर्निर्माणको लागि कुनै काम सुरु भयो। बरु भूकम्पपछि टाँसिएको ‘रातो स्टिकर’ हटाएर त्यहीँ कक्षा सञ्चालन गर्न कलेज बाध्य छ।

त्रिचन्द्रको यो हालत देख्दा जो कोही प्राध्यापक पनि बेचैन हुन्छ। करिब पाँच वर्षअगाडि त्रिचन्द्र कलेज पुग्दा त्यस्तै बेचैन हुनुपरेको कथा केदारभक्त माथेमा सुनाउँछन्। उनले आफैँले पढेको–पढाएको कोठा पेन्ट पनि नगरेको, फर्निचर उस्तै, भवन उस्तै, वरिपरि झार उम्रेको र फोहोर देखे। कलेजको यो दुर्दशा हेरिरहन नसकेको उनी बताउँछन्। त्यसमाथि घण्टाघरतिरको भवनका पछाडि गँजडीको अखडा रहेको सुनेपछि उनमा छटपटीको सीमा रहेन। यसबाट त्रिचन्द्र कुन अवस्थामा पुगेको छ भनेर सहजै बुझ्न सकिन्छ।

त्रिचन्द्रको त्यो साख

वि.सं. १९७० को दशकमा काठमाडौंमा हल्ला चल्यो– नेपालमा अब कलेज स्थापना हुँदैछ। काठमाडौंमा रहेका तत्कालीन रेजिडेन्सी कर्णेल बेलीलाई ३१ डिसेम्बर १९१६ (वि.सं. १९७३) मा कलेज स्थापनाका लागि पहल गर्दै चन्द्र शमशेरले पत्र लेखेपछि यस्तो हल्ला फैलन सुरु भएको थियो। अन्यत्र पनि उनले कलेज खोल्न पहल गरिरहेका थिए। पटक–पटकको नेपालको प्रस्तावलाई स्वीकार गर्दै भारत सरकारले पनि पटना विश्वविद्यालयअन्तर्गत रहेर कलेज सञ्चालन गर्न अनुमति दियो। र, अन्ततः १२ भदौ १९७५ मा स्थापना भयो, त्रिभुवन–चन्द्र कलेज।

२७ असोज १९७६ मा आएर राजा त्रिभुवनले कलेजको उद्घाटन गरे। चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर कलेज भवनको उद्घाटन गरिएको थियो। ढुंगा, इँटा, चुना, सुर्ती, काठ, फलाम जस्ता सामग्री प्रयोग गरेर निर्माण गरिएको यो भवन सम्पन्न गर्न १४ महिना लागेको थियो। वि.सं. १९८१ मा आइपुग्दा यसले नयाँ नाम पायो– त्रिचन्द्र कलेज।

फाइल तस्बिर
कलेज स्थापना हुँदा सुरुमा जम्मा पाँच जना विद्यार्थी भर्ना भएका थिए। त्यसबेला पटना विश्वविद्यालयबाट खोल्न अनुमति पाएको त्रिचन्द्रलाई सम्बन्धन लिन भने त्यति सहज भएन। नेपाली पुस्तक नै पर्याप्त नभएको त्यो समयमा पुस्तकालयको राम्रो व्यवस्था पनि थिएन। तर, जसरी हुन्छ सम्बन्धन लिन कलेजले पुस्तकालयको व्यवस्था गर्नैपर्ने थियो। सोही ताका पटना विश्वविद्यालयबाट नेपाली पढाउने पुस्तकहरू के–कस्ता छन् भनेर जाँच गर्न अनुगमन टोली आउने भयो। जतिबेला पुस्तक विभागका प्रमुख थिए, रुद्रराज पाण्डे।

अनुगमन गर्न विश्वविद्यालयको टोली आउने भएपछि पाण्डेमा छटपटी बढ्यो। अन्ततः उनले जुक्ति फुराए। त्यसबेला पाण्डे आफैँले ‘रुपमति’ किताब लेखेका थिए। त्यसैको संग्रह गरेर उनले पुस्तकालय बनाए। एउटै पुस्तकका विभिन्न प्रति निकालेर कुनै कता फर्काए, कुनै कता फर्काएर राखे। यसरी अनुगमनमा आएको टोलीलाई सहजै झुक्याउन सफल भए पाण्डे। 

अन्ततः पटनाको टोली त्रिचन्द्र कलेजलाई सम्बन्धन दिन तयार भयो। सम्बन्धन लिँदाबखतको यो संघर्षलाई भैरव रिसालले आफ्नो लेख ‘त्रिचन्द्र कलेजः राणा शासन ढाल्ने बञ्चरो’मा उल्लेख गरेका छन्।

लेखक अभि सुवेदी तत्कालीन समयमा त्रिचन्द्र कलेज उज्यालोको पर्यायको रुपमा रहेको सम्झन्छन्। नेपालका चर्चित साहित्यकार बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाजस्ता लेखकहरूले पढाएको त्यो कलेजमा पुग्नु धेरैको सपनाको कुरा हुन्थ्यो। तीमध्येका अभि सुवेदी पनि एक थिए। 

नाम चलेका प्राध्यापकले पढाउने भएकोले पनि त्रिचन्द्रको बेग्लै साख थियो। लेखक सुवेदी सम्झन्छन्, ‘एक दिन कमलादीबाट त्रिचन्द्र कलेज पुग्दा मैले बालकृष्ण समलाई देखेँ। रिक्साबाट ओर्लिंदै गरेका समलाई देख्दा खुसीको सीमा थिएन। यसरी नाम चलेका प्राध्यापक, लेखकले पढाउने त्रिचन्द्र कलेजमा पढ्ने आम नेपालीकै सपना हुन्थ्यो। त्रिचन्द्रको महत्व त कति थियो थियो। प्रायजसो बौद्धिक जमघटको थलो हुन्थ्यो यो कलेज।’

तर, अहिले ठिक उल्टो छ। अन्यत्र कतै विकल्प नभएपछि त्रिचन्द्र पुग्ने विद्यार्थी अधिकांश भेटिन्छन्। कि त राजनीति गर्न इच्छुक विद्यार्थी त्यहाँ जाने गरेको पाइन्छ। त्यसबाहेक प्रायः विद्यार्थीले निजी कलेजमै पढ्ने इच्छा राख्छन्। त्रिचन्द्रले आफ्नो पुरानो साखलाई कायम गर्न सकेको देखिँदैन। हुँदाहुँदा भौतिक संरचना पनि मेटिँदै गएको छ।

त्रिचन्द्रको सरस्वती सदन जहाँसम्म नेपालकै पहिलो आरसीसी ढलान भएको भवन हो। त्यसबेला ‘सिमेन्ट कल्चर’बारे प्रायः मान्छे अनविज्ञ थिए। सोही भवनबारे भैरव रिसालको एउटा रमाइलो किस्सा छ। त्यसबारे उनले लेखेका छन्, ‘सरस्वती सदनको प्रवेशद्वारमाथि बाछिटा छेक्ने ढलान बनाइएको थियो। नेपालमा त्यसबेला सिमेन्ट कल्चर भित्रिइसकेको थिएन। तसर्थ, त्यो ढलान खस्ला र टाउको फुट्ला भन्ने त्रासले ढोकाभित्र पस्दा जहिले पनि विद्यार्थी दौडन्थे रे।’

रोचक त के भने, भैरव रिसालले भनेजस्तो त्रिचन्द्रमा त्यसरी विद्यार्थी भाग्ने ‘कल्चर’ पुनः दोहोरिएको छ। पहिला सिमेन्ट कल्चर नबुझेर विद्यार्थी दौडन्थे भने अहिले त्यही सिमेन्टको ढलान खस्ला भनेर दौडन्छन्। उहिले भर्खरै संरचना बन्न थाल्दा विद्यार्थीहरु हतारिएर कट्न खोज्थे, अहिले भत्केला भन्ने डरले दौडन्छन्। जुन तत्काल पुनर्निर्माण हुने छाँट भने देखिँदैन।



 

प्रकाशित: Jun 16, 2022| 14:40 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्