लन्डन- २६ वर्षीय बालकुमार खत्री नर्थ नोटिङह्याम्सायरमा स्ट्रबेरी टिपिरहेका भेटिए। हरेक वसन्तमा बेलायतमा फलफूल टिप्नका लागि हजारौं 'मौसमी कामदार'हरु आउने गर्छन्। तर, यस वर्ष भने अलि फरक क्षेत्रबाट मानिसहरु आउन थालेका छन्।
ब्रेक्जिटअघि बेलायतका बारीमा पोल्यान्ड, रोमानिया र बुल्गारियाका मानिसहरु भेटिने गर्थे। तर, पछिल्लो समय नेपालीसहित इन्डोनेसिया, मंगोलिया र ताजिकस्तान, काजकिस्तान र क्रिर्गिस्तानका कामदारहरु पनि भेटिन थालेको बीबीसीले जनाएको छ।
बालकुमार नर्थ नोटिङह्याम्सायरमा आएको धेरै भएको छैन। उनी थोरै अंग्रेजी बोल्न जानेका छन् र धेरै मिहनती छन्। बारीका मालिक उनको काम गराइबाट निकै सन्तुष्ट छन्।
बेलायतमा वसन्त मौसममा लागि सधैं कामदारको अभाव हुने गरेको र कामदारको चुनौतीको सामना गर्नुपरेको थियो। तर, यस वर्ष फलफूल टिप्ने मौसमको सुरु हुने समयमा नै धेरै उत्पादकहरु कामदार नपाउने समस्याबाट चिन्तित थिए।
रेटफोर्ड नजिक रहेको हारबिल फार्ममा जेनी टास्करले वेटरोज, टेस्को, मार्क र स्पेन्सरलाई फलफूल आपूर्ती गराउने गरेकी छन्। यस वर्ष उनले विभिन्न मुलुकहरुबाट कामदारहरु प्राप्त गरेकी छन्। जसमा ३५ जना नेपालीहरु, ४५ जना ताजकिस्तानका कामदारहरु छन् भने तीन जना इन्डोनेसियाका कामदारहरु रहेका छन्।
टास्करले नयाँ कामदारहरुले राम्रो काम गरिरहेका छन् भने धेरै चुनौतीहरु रहेको उनले बताएका छन्। उनले भनिन्, 'हामीले धेरै कामदारलाई अभ्यास गराएका छौं। त्यस कारण काममा केही ढिलाइ भएको देखिएका छ।' उनले बेरी खेर जानुअघि नै यसलाई टिप्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ता रहेको छ।
बेलायतमा सफ्ट फ्रुटको उत्पादन विस्तारै बढ्दै गएको बेलायतको बेरी उत्पादकहरुले बताएका छन्। तर, यसको खेर जाने समस्या पनि उत्तिकै बढ्दो क्रममा रहेको छ। बेरी कहिले टिप्न योग्य हुन्छ भन्ने कुराको अनुमान लगाउन नै गाह्रो भएका कारण खेर जाने मात्रा बढ्दै गएको छ।
बेलायती बेरी उत्पादकहरुको तथ्यांक अनुसार हरेक दुई वर्षमा खेर जाने बेरीको परिमाण दोब्बर बन्दै गइरहेको छ। गत वर्षको कामदारको अभावले बेलायतमा ३६ मिलियन पाउन्ड स्टर्लिङ बराबरको बेरी खेर गएको थियो।
हारविलको फार्ममा खत्री र उनका भाइहरुलाई बस्न खान र नि:शुल्क वाइफाइको व्यवस्था गरिएको छ। ब्रेक्जिटपछि युरोपियन कामदारहरु फर्किने क्रम बढेसँगै बेलायतले एसियाली मुलुकहरुबाट कामदार खोजी गर्न थालेको हो। गत वर्ष युक्रेनका कामदारहरुले बेलायतका बारीका बेरीलगायतका फलफूलहरु टिपे पनि यस वर्ष भने युक्रेनी नागरिकहरु आफ्नै प्रताडित भएका छन्।
दक्षिण पूर्वी इङ्ल्यान्डमा २४ फार्म सञ्चालक टिम च्यामबर्सले भने इन्डोनेसिया, भियतनाम र फिलिपिन्सका कामदारहरुलाई नराखेको बताएका छन्। उनले बिल्कुल नयाँ मुलुकबाट कामदारहरु लिँदा उनीहरुको जीवनशैलीले समस्या निम्त्याउनसक्ने उनको बुझाइ छ।
उनले पहिलो सिजनमा नयाँ कामदारहरु राख्दा उत्पादमा २५ प्रतिशत गिरावट आएकव थियो। उनले भने, 'यसमा संस्कृति र जीवनशैलीले गर्दा कामदारहरुले राम्रसँग काम गर्न सकेनन्।'
१० हजार नर्स पठाउने सरकारको तयारी
कोरोना महामारीका कारण बेलायतका स्वास्थ्यकर्मी अभाव भएपछि विश्वका विभिन्न मुलुकहरुबाट नर्सहरु माग गरेको थियो। नेपाल सरकारले कामदार भिसामा बेलायतको माग अनुसार १० हजार नर्स पठाउने भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको मन्त्री किसान श्रेष्ठले बताएका छन्। नेपालस्थित बेलायती राजदूतावासले नै मन्त्रालयसँग सरकारी तहको सम्झौता गरेर १० हजार नेपाली नर्स लैजाने प्रस्ताव गरेको हो।
सो प्रस्तावमाथि छलफल गरी श्रम सम्झौताको खाका बनाउन थालिएको मन्त्री श्रेष्ठले बताएका छन्। उनका अनुसार नेपाल र बेलायतबीच अबको केही समयभित्रै यससम्बन्धी सम्झौता भएमा सन् २०२२ को मध्यतिरबाट रोजगारीका लागि नेपाली नर्स बेलायत पठाइने छ।
मन्त्रालयका अनुसार बेलायत पठाइने नर्सको तलब मासिक दुई लाख ५० हजार रुपैयाँभन्दा बढी हुनेछ। मन्त्रालयले रोजगारी सुनिश्चितता, स्वास्थ्यररोजगार र अन्य बीमा, पारिवारिक सुविधा, नेपाल आउनेरजाने खर्च र तलब एकीन गरी बेलायत जान लाग्ने खर्च पनि बेलायतस्थित रोजगारदाता कम्पनीले नै ब्यहोर्नेगरी सम्झौता हुने मन्त्रालयले जनाएको छ।
सन् २००५ मै बेलायतले चार हजार नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने प्रस्ताव गरे पनि नेपालले प्रक्रिया अघि नबढाउँदा पठाउन सकिएको थिएन। पछिल्लोपटक नेपालमा ६० हजार नर्स अध्ययन सकेर सेवाका लागि तयारी अवस्थामा बसेका छन्। बेलायतले अनुभव भएका नर्स नेपालबाट त्यहाँ लैजान चाहेको छ।