आइतबार, वैशाख २३, २०८१

रियलमा मार्सेलोको १६ वर्षे उडान

१६ वर्ष, २५ उपाधि। हजारौैं समर्थकको प्रेम। रोबर्टो कार्लोसको सफल प्रतिस्थापन। अनि टिममा प्रिय पात्र। ब्राजिली खेलाडी मार्सेलो भिएराले पाएको ठूला
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

१६ वर्ष, २५ उपाधि। हजारौैं समर्थकको प्रेम। रोबर्टो कार्लोसको सफल प्रतिस्थापन। अनि टिममा प्रिय पात्र। ब्राजिली खेलाडी मार्सेलो भिएराले पाएको ठूला उपलब्धि हुन् यी। यद्यपि मड्रिडवासीको मनमा र लस ब्लांकोसलाई आफ्नै मान्नेहरुको हृदयमा उनीप्रति जति प्रेम छ, त्यसको तुलनामा बाँकी सबै कुरा फिक्का लाग्छन्।

triton college

डेढ दशकअघि दक्षिण अमेरिकाबाट विमानमा एटलान्टिक ओसन माथिको घण्टौं लामो यात्रामा जति रोमाञ्चकता थियो, आज मार्सेलो त्यति नै दुःखी छन्। अनि दुःखका पनि कारण  छन्। उतिबेला रियल मड्रिडमा अनुबन्ध हुने खुसी थियो भने आज आफूले सबैभन्दा माया गरेको क्लबलाई छोड्नुपर्दाको पीडा छ मार्सेलोमा।

पछिल्लो दशकमा स्पेनिस क्लब रियल मड्रिडले पाँच पटक च्याम्पियन्स लिगको उपाधि जित्यो। त्यसबीच लगातार तीनपटक (सन् २०१६, २०१७ र २०१८) युरोपियन च्याम्पियन बन्दा क्रिस्टियानो रोनाल्डो मात्र टिमका खेलाडी थिएनन्।

यही कुरा रोनाल्डो बाहिरिएको केही समयपछि मड्रिडका डिफेन्डर मार्सेलोले पत्रकारसँग भनेका थिए। उनको यो कुराले आफैंलाई चाहिँ संकेत गरेको थिएन। ‘समर्थकहरुले यो बुझ्नुपर्छ कि क्लबले उत्कृष्ट प्रशिक्षक जिनेदिन जिदान र राउल पनि गुमाएको छ,’ उनले भनेका थिए। उनी सबैलाई बराबरी जस दिनुपर्नेमा जोड दिन्छन्।

रोनाल्डोले क्लब छोडेपछि रियल ध्वस्त भयो भन्नेहरूका लागि काउन्टर थियो मार्सेलोका यी कुरा। यद्यपि मार्सेलो रोनाल्डोको सबैभन्दा नजिकका साथी हुन्। सानातिना घटनाले उनीहरुको सम्बन्धलाई छुँदैन। किनभने यी दुवै एक अर्काका प्रिय पात्र जो ठहरिए।

corrent noodles
Metro Mart

मार्सेलोको यस्तै सम्बन्ध टोनी क्रुस, लुका मोड्रिच, करिम बेञ्जिमा, ग्यारेथ बेल, कासिमोरोसँग पनि त रह्यो। रियललाई अझैसम्म एउटा क्लबभन्दा पनि परिवारका रुपमा लिन्छन् धेरै खेलाडीले। जब रियलले लगातार विश्वकै क्लब फुटबलमा राज गरिरहेको थियो त्यसै समयमा रोनाल्डोले नयाँ क्लबबाट च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित इटाली उडेका थिए। त्यसपछि मार्सेलोले उनलाई पछ्याउने आकलन पनि नगरिएको भने होइन।

‘मेरो दिमागमा यो विचार आएन कि मैले युभेन्टस जानुपर्छ। म सधै रियल र रियलबासीसँग जोडिएको छु,’ मार्सेलोले त्यतिबेला आफ्नो यात्राबारे भनेका थिए, ‘यो वर्ष मलाई समर्थकहरुले प्रायः इटालियन क्लबसँग जोडेका छन्। तर, त्यो मात्र अफवाह हो। सत्य भने रियलप्रतिको मेरो माया हो। यो मेरो घर हो र रियल विश्वकै उत्कृष्ट क्लब हो।’

सन् २०१८ मा रियलबाट रोनाल्डो र मुख्य प्रशिक्षक बाहिरएसँगै क्लबको प्रदर्शन खस्कियो। उपाधि गुम्यो। अनि मार्सेलोको आलोचना पनि सुरु भयो। ब्राजिलको टिममा सदाझैँ ठाउँ बनाउँदै आएका मार्सेलो २०१९ को कोपा अमेरिकाको लागि छानिएनन्। बीचमा चोटले पनि सतायो। त्यतिबेलै उनको आलोचना भएको हो।

तर त्यसले उनलाई असर गरेन। भित्रभित्रै पीडा भयो वा भएन उनैलाई थाहा होला। तर अनुहार र व्यवहारमा देखिएन। ‘मेरो आफ्नो बारेमा सबैभन्दा बढी मलाई थाहा हुन्छ । म लयमा छु या छैन। त्यसैले मलाई आलोचनाले कुनै फरक पार्दैन। म आफ्नो कमजोरी सुधार गर्न कडा मेहन गर्छु,’ उनले आम समर्थकलाई नै जवाफ दिए।

सबैलाई थाहा छ, स्पेनिस महारथिको कथा जसरी अघि बढिरहेको छ, मार्सेलोको कथा पनि त्यसरी नै जान्छ। ‘पछिल्लो सिजन जुन घटना घट्यो त्यो रियलमा मेरो करियरको सबै आलोचनामध्ये एक हो। मैले त्यसबाट धेरै सिकेको छु,’ उतिबेला रियलका समग्र खेलाडीकै अवस्था झल्किने गरी मार्सेलोले भनेका थिए, ‘जबदेखि म रियलमा आए, तबदेखि क्लबले मलाई उपाधिका लागि लड्न सिकाएको छ। यस सिजन पनि त्यस्तै हुनेछ । यदि हामी आफ्नो काममा केन्द्रित भयौं भने हामी सबै उपाधि जित्न सक्छौं।’

तर अहिले रोनाल्डोले क्लब छोडेको पनि चार वर्ष पुगिसकेको छ। उनको बहिर्गमनले लागेको घाउ पुरिएको छ। रियलले फेरि एकपटक च्याम्पियन्स लिग जितेको छ। अनि विस्तारै खेलाडी प्रतिस्थापनमा अघि सर्दै छ। एक वर्षदेखि रियलको आर्मब्यान्ड सम्हालिरहेका मार्सेलोको विदाइ भयो। रियलमा मार्सेलोले धेरै तलमाथि बेहोरे। क्लबमा उनको कमजोर अवस्थाको भन्दा पनि उपलब्धिको कुरा गर्नु न्यायपूर्ण हुन्छ।

मार्सेलोका हरेक उपलब्धि उनले गरेको मेहनत हजुरबुवा पेड्रो भियराको योगदानको साक्षी हुन्। रियो दि जेनेरियोको गरिब परिवारमा जन्मिएर १३ वर्षको उमेरमै फुटबल खेल्न थाले उनले। तर, घरको आर्थिक अवस्थाले उनलाई बलबाट टाढा पुर्यायो।

धन्न हजुरबा थिए जसले उनको खुट्टा र फुटबलको सम्बन्धलाई टाढा हुन दिएनन्। ब्राजिलको राष्ट्रिय टिममा नपुगुन्जेल हजुरबाले उनलाई आर्थिक सहयोग गरिरहे। १४ वर्षको फुच्चे मार्सेलो पहिलो पटक क्लबको युवा टोलीको जर्सीमा देखिएका थिए।

क्लबबाट खेल्दा उनले लाउने गरेको जर्सीमा फ्लुमिनेन्सेको लोगो हुन्थ्यो। फ्लुमिनेन्सेबाट उनले तीन सिजन मात्र खेले। ती खेलकै दौरान उनी ब्राजिलको यू–१७ टिममा परिहाले। ब्राजिलको टिम सदावहार शक्तिशाली टिम हो। त्यहाँ पर्नु भनेको युरोपका ठूलो क्लबमा खेल्नका लागि टिकट काट्नु पनि हो।

यू–१८ बाट यू १९ हुँदै सिनियर टिमसँगको यात्राका लागि उनलाई थप एक वर्ष मात्र लागेको थियो। त्यसबीच त हो उनले एटलान्टिक महासागरको आकाशमा यात्रा गरेका। उनको यू २३ मा त सिनियर टिममा परेपछि मात्र खेलेका थिए।

अनि भनियो– मार्सेलो भनेको आधा युरोपले चाहने मोती हो। यो कहानी पनि आज पुरानो भइसकेको छ। उतिबेला क्लबका अध्यक्ष रोमन न्याल्डेरनले मार्सेलोलाई इंगित गर्दै बोलेको वाक्यले खुबै चर्चा पाएको थियो। मार्सेलोसँग फोटो खिचाउनुअघि रोमनले भनेका थिए, ‘उनी त्यस्ता युवा खेलाडी हुन्, जसले टिममा शक्ति प्रदान गर्नेछन्। मार्सेलो त्यस्तो मोती हुन् जसलाई आधा युरोपले चाहन्छ।’

जनवरी विन्डोमा अनुबन्ध भएका उनले त्यही महिनाको सात तारिखमा डेब्यु गरे। उनको र रोबर्टो कार्लोसको स्थान एकै थियो। कार्लोससँग उनले बाँकी आधा सिजन बिताए।

जतिबेला उनी रियलमा अनुबन्ध भए सिनियर खेलाडीहरुले उनलाई आफ्नो फोन नम्बर दिएका थिए। ‘यहाँ केही समस्या परे मलाई फोन गर्नु,’ बर्नाबेउमा पाइला राखेकै दिन सुनेका यो वाक्यले मार्सेलोलाई सुरुमै ढुक्क बनायो।

त्यतिबेला रोबर्टो कार्लोस रियल छोड्ने विचारमा थिए। अनि मार्सेलोले भनेका थिए,’ उनी मेरो आदर्श पात्र हुन्। उनीसँगै हुनु धेरै राम्रो पनि हो। एउटै क्लबमा उनको ठाउँमा आउनु, त्यसलाई त म विश्वासै गर्न सकिरहेको छैन।’ त्यसको छ महिनामा कार्लोसले क्लब छोडिहाले। त्यसपछि उनले भन्दै आएका छन्, ‘मार्सेलो मभन्दा राम्रा खेलाडी हुन्।’

उनले राम्रो खेल्न कहिल्यै छोडेनन्। बायाँबाट डिफेन्स मात्र होइन विंगरको भूमिकामा पनि मार्सेलो कमजोर कहिल्यै देखिएनन्। उनको गति, रक्षा, क्षमता र आक्रमण जसरी चम्किँदै गयो, रियल उति नै बलियो र उज्यालो बन्दै गयो। फलस्वरुप रियलले ला लिगा मात्र जितेन। पाँच च्याम्पियन्स लिग, चार क्लब विश्वकप, तीन युरोपियन सुपर कप, पाँच स्पेनिस सुपर कप र दुई पटक कोपा डेल रे पनि जित्यो।

तर पछिल्लो दुई सिजनमा मार्सेलोबाट अपेक्षित प्रदर्शन हुन सकेको छैन। ब्राजिलको टिममा उनी पर्न छोडेका छन्। अथवा भनौँ, उनले ब्राजिल छोडिसकेका छन्। सन् २०११ देखि दोहोरो पोसपोर्ट लिएका उनी ब्राजिल छोड्ने दाउमा थिए। तर कोभिड १९ को महामारीका कारण उनको त्यो प्रयास सफल हुन सकिरहेको थिएन।

यद्यपि पछिल्लो सिजन रियलको आर्मब्यान्ड सम्हाल्दा उनलाई रियलका विदेशी खेलाडीका रुपमा नै चर्चा गरिएको थियो। यता, उनले स्पेनिस पासपोर्ट लिएपछि उनी युरोपियन युनियनको कोटामा खेल्ने खेलाडी चाहिँ बनिसकेका थिए। ला लिगाले युरोपियन युनियन बाहेकका देशबाट खेल्ने खेलाडीका लागि तीन वटा ठाउँ मात्र उपलब्ध गराउँछ। सन् २०११ मा मार्सेलोसँगै डि मारिया र फरनान्डो गाओ नन युरोपियन खेलाडी कोटामा रियलमा थिए।

दुई पासपोर्ट लिए पनि उनले ब्राजिलको टिमबाट नै खेलिरहेका थिए। पछिल्लो पटक खेलेको ठूलो प्रतियोगिता रसिया विश्वकप हो, जुन सन् २०१८ मा भएको थियो।

त्यो विश्वकपपछि ब्राजिलको टिममा उनको स्थान लगातार छैन। कहिले पर्छन् कहिले पर्दैनन्। विश्वकपपछि ब्राजिलले अर्जेन्टिना र साउदी अरेबियासँग मैत्रीपूर्ण खेलका लागि उनी टिममा परेनन्। लामो समयपछि त्यो समयमा उनी टिममा नपरेका हुन्। अनि, सन् २०१९ को कोपा अमेरिकामा पनि प्रशिक्षक टिटेको टिममा थिएनन्। राष्ट्रिय टिममा पर्न छोडेको लामो समयपछि पनि उनले संन्यास भने घोषणा गरिसकेका छैनन्।

अहिले रियल मड्रिडको डिफेन्स लाइनमा ठूला परिवर्तनहरु देखिन थालेका छन्। अघिल्लो सिजनको बीचबाटै कप्तान सर्जियो रामोस रियलको लाइनअपका देखिन छोडेका थिए। अहिले उनको ठाउँ डेबिड अल्वाले लिइसकेका छन्। रामोस छिमेकी देश फ्रान्स पुगिसकेका छन्।

त्यस्तै, लेफ्ट ब्याकमा यो सिजनको सुरुमा देखिने गरेका मार्सेलोको ठाउँमा पनि अहिले फरल्यान्ड मेन्डीले स्थान जमाइसकेका छन्। यो वर्षबाट रियलको डिफेन्समा सहयोग गर्नका लागि जर्मनीका एन्टोनियो रुडिगर पनि रियलमा जोडिने भएका छन्।

रियलको खेलाडी विदाइ र अनुबन्ध बार्सिलोनको भन्दा फरक देखिन्छ। गएको दुई सिजनमा बार्सिलोनाले ठूला गल्ती गरिरहेको थियो। सिजनबीच नै मुख्य प्रशिक्षक परिवर्तन गरिरहेको थियो भने नयाँ प्रशिक्षकले क्लबको ड्रेसिङ रुपमा अवस्था नबुझिकनै खेलाडीहरु परिवर्तन गरिहेको थिए। खासगरी यो कुरा रोनाल्ड कोम्यानको पालामा धेरै भयो।

यी सबै परिवर्तन बार्सिलोनाका लागि स्थायी थिएनन्। अस्थायी बन्न परिस्थिति र सम्झौताले दिएन। अब कतिपय बाहिरिएका खेलाडी फर्काउन बार्सिलोनाका लागि सहज छैन।

एकैपटक खेलाडी छाँटकाँट गर्दा टिममा कस्तो असर पर्छ, रियल मड्रिडले नजिकबाट देखेको छ। त्यसैले त कोभिड–१९ को महामारीबीच क्लबलाई ठूलो आर्थिक संकट परे पनि सिनियर र धेरै तलब लिने खेलाडीहरु विदाइ गरिहालेन।

उसले विस्तारै परिवर्तन गर्ने रणनीति बनायो। त्यो काम अहिले क्लबले गरिरहेको छ। त्यसैको नजिता हुनुपर्छ। लिगमा उसको अवस्था बार्सिलोनाको जस्तो खराब भने भएको छैन। अब रियलको सुरक्षा कवच क्रमैसँग परिवर्तन भइरहेको छ। रियललाई आफ्नो घरजस्तै मान्ने सर्जियो रामोसलाई उसले पछिल्लो सिजन मात्र विदाइ गरेको हो। यो वर्ष रियलले डिफेन्डर मार्सेलोलाई विदाइ गर्यो।

उसो त उसले गएको सिजन नै लुका मोड्रिचलाई विदाइ गर्ने मनसाय नबनाएको होइन। तर क्लबमै राख्यो। ३६ वर्षे क्रोएसियन मिडफिल्डरको रियल बसाइ पनि अब धेरै लामो छैन। त्यो क्लबलाई पनि थाहा छ, मोड्रिचलाई पनि। पछिल्लो तीन वर्षमा रियलमा मोड्रिचले एकएक वर्ष सम्झौता थप गर्दै बसिरहेका छन्।

यो वर्ष पनि च्याम्पियन्स लिग जितेपछि मात्र उनको सम्झौता पक्का भएको हो। सम्भवतः अब क्रमशः बाहिरिने खेलाडी हुन् कासिमेरो (३०), लुका मोड्रिच (३६) र टोनी क्रुस (३२)। उनीहरुलाई फेडेल भालभर्डे, एडुवर्डो कामाभिंगा र अउरेलियन छुवामेनीले रिप्लेस गर्ने विश्वास गरिएको छ। तर आर्मब्यान्ड धारण गरेका डिफेन्डर भने बाहिरिसके।

‘मैले यो क्लबसँगै केही गर्न बाँकी छ। म फर्किनेछु,’ मार्सेलोले भनेका छन्, ‘मसँगै केहि फुटबल अझै बाँचेको छ। तर म आउनेछु। एक दिन रियल मड्रिड फर्किनेछु।’ रियलका अहिलेका प्रशिक्षक कार्लो आन्सोलोटीले मार्सेलोलाई ‘लेजेन्ड र मेरा प्रिय मित्र’ भनेर सम्बोधन गरेका छन्।
रियलका पूर्व डिफेन्डर फरनान्डो हिरेराले मार्सेलोलाई खेलमा कलात्मकता भित्र्याउने खेलाडीको रुपमा व्याख्या गरेका छन्। उनले भने, ‘मार्सेलो विषेश खेलाडी हुन्। उनले खेलमा धेरै रोमाञ्चकता, रचनात्मकता भित्र्याउँछन्, साथै खेलमा उनलाई खेर्न खुब रमाइलो लाग्छ। मलाई खुसी लागेको छ कि उनी क्लबको सबैभन्दा शृंगारिक खेलाडी बने।’

रियलबाट विदाइ हुँदै गर्दा आँखाभरी आँशु बनाएर मार्सेलोले भनेका छन्, ‘थ्यांक्स फर द ग्रेट मोमोरी।’ उनले थपे, ‘रियल म्याड्रिड सधैं घर हो र हुनेछ। विश्वको उत्कृष्ट क्लबमा हासिल गरेको सबै कुरामा धेरै गर्व गर्नुपर्छ।’

–बीबीसी, गोलडटकमलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा  

प्रकाशित: Jun 14, 2022| 13:30 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।