काठमाडौं- सन् १९९० को दशकमा अमेरिकाबाट सुरूवात भएको मानिने हिप–अप संगीत अन्तर्गतको रचनात्मक र रोमाञ्चक विधा ‘र्याप ब्याटल’ नेपाली युवामाझ पनि लोकप्रिय हुँदैछ। हिपअप म्युजिकको लोकप्रियताले नेपाललाई पनि छोयो। केहीपछि हिप–अप म्युजिक विधा प्रयोग गरेर रचनात्मक क्षमता भएकाहरूले हिप–अप शैली अर्थात र्याप शैलीमा गाउँदै ब्याटल गर्ने प्रचलन बढ्दै गयो।
नेपालमा र्याप ब्याटलको औपचारिक सुरुवात नै भएको पनि ९ वर्षभन्दा बढी भइसक्यो। पछिल्लो समय युवाहरूको रोजाइ बन्न सफल र्याप म्युजिकअन्तर्गतका ब्याटल श्रृंखलाहरुले बिस्तारै श्रोता–दर्शकको मन तान्न थालेको छ।
नेपालमा र्याप ब्याटलको प्रसंग उठाउनेबित्तिकै अधिकांश युवाहरुले ‘रअ बार्ज’को नाम सम्झिन्छन्। हिपअप संगीतको प्रवर्धनकै लागि स्थापित ‘रअ बार्ज’ले र्याप ब्याटललाई पुनर्जिवित गराउँदै यसलाई व्यावसायिक रूप दिन खोजिरहेको छ।
‘रअ बार्ज’को इतिहास
कोलिन राणाले आफू सेन्ट जेभियर्समा पढ्दादेखि नै ‘एक्सक्लुसिभ इन्टरटेनमेन्ट’ नामको कम्पनी स्थापना गरेका थिए। उनले यो कम्पनीमार्फत हिप–अप ब्याण्डको व्यावसायिक सुरुवात गरे। सन् २०१० मा कम्पनी खोलेका उनको २०११ मा यम बुद्धसँग भेट भयो। त्यसपछि हिप–अपमा गएको मनले यही विधालाई थप प्रवर्धन गर्ने अठोट लियो।
त्यसपछि कोलिन राणाको अगुवाइमा ‘एक्सक्लुसिभ नाइट वान’ नामको इभेन्ट आयोजना भयो। त्यहाँ र्याप ब्याटल पनि भयो। त्यो कार्यक्रम युवामाझ निकै हिट भयो। त्यसपछि यही टिमले सन् २०१३ मा ‘एक्सक्लुसिभ नाइट टु’को आयोजना गर्ने निधो गर्यो। र्याप ब्याटललाई नेपालमा पनि व्यावसायिक बनाउँदै लैजानुपर्ने सोचसहित यम बुद्ध, राणा लगायतको टिमले कार्यक्रमको नाम ‘रअ बार्ज’ राख्यो। ‘रअ बार्जको’ र्याप ब्याटलमा युवाको आकर्षण बढ्दै गयो। ४ जनाले स्थापना गरेको ‘रअ बार्ज’ नामको इभेन्ट लोकप्रिय भएपछि यसैलाई कम्पनीको रूप दिइयो र जन्मियो ‘रअ बार्ज कम्पनी प्रालि’।
‘रअ बार्ज’को जन्मपछि पनि अजब–गजबका र्याप ब्याटल आयोजना भए। त्यहीबीचमा ‘रअ बार्ज’बाट यम बुद्ध अलग भए। तर राणा लगायतको टिमले भने र्याप ब्याटललाई अगाडि बढाउने निधोसहित काम पुनः सुरु गर्यो।
काठमाडाै केन्द्रीत पहिलो र्याप ब्याटल गर्दा त्यसमा १६ जना र्यापर सहभागी भए। ब्याटल पहिला पनि हुन्थ्यो, तर स्टेजमै र्यापरलाई उतारेर व्यावसायिक रूपले त्यस्तो कार्यक्रम आयोजना भएको थिएन।
र्याप ब्याटलको दोश्रो सिजन २०१३ मा भयो। तेश्रो सिजन २०१६ मा भयो। त्यसपछि राणाले नेपाली म्युजिकलाई हिप–अपमार्फत विदेशमा पनि पुर्याउनुपर्छ भन्ने भावनाबाट प्रेरित भई अमेरिकामा ध्यान केन्द्रित गरे। २०१८ देखि ०१९ सम्म त्यही केन्द्रित भई उनले अमेरिकामा र्याप ब्याटलको इभेन्ट नै आयोजना गरी नेपाली गीत–संगीतको प्रवर्धन गरे। त्यसपछि यो टिमले भारत, बेलायत लगायतका देशमा पनि र्याप ब्याटल गर्यो। नेपाली भाषीमात्र नभई विदेशका संगीतप्रेमी युवावर्गमा पनि ‘रअ बार्ज’ले चर्चा बटुल्दै गयो।
अमेरिकामा अर्को संस्करणको ब्याटल आयोजना गर्ने योजना बनाइरहेका बेला कोभिड संक्रमणले महामारीको रूपमा लिन थाल्यो। त्यसपछि युवाहरूको ‘रअ बार्ज’ पनि केही सेलाएजस्तो देखियो।
रायमाझीको प्रवेशपछि ‘रअ बार्ज’को पुनर्जीवन
कोभिडको संक्रमण लगभग नरहेपछि अब राणा लगायतको टिमले पुनः ‘रअ बार्ज’लाई सक्रिय बनाई र्याप ब्याटललाई अगाडि बढाइसकेको छ। हाल देशका मुख्य सहरहरुमा र्याप ब्याटलका लागि अडिसन सकिइसकेको छ।
युवाहरुमार्फत र्याप ब्याटल यति लोकप्रिय भइसक्यो कि, रअ बार्जले ब्याटलका लागि आवेदन आह्वान गर्दा डिजिटल अडिसनमा मात्रै छोटो समयमा ३ हजारभन्दा बढीको सहभागिता भयो।
फिजिकल अडिसनमा पनि र्यापरहरुको उल्लेख्य सहभागिता रहेको ‘रअ बार्ज’का चेयरम्यान प्रवेश रायमाझीले जानकारी दिए। रायमाझी पनि संगीत उद्यमी हुन्। उनी युवाहरुमाझ लोकप्रिय भएर पनि सक्रिय हुन नसकेको ‘रअ बार्ज’लाई ब्युँताएर र्यापरहरुलाई सही बाटोमा ल्याउनेदेखि लिएर हिपअप म्युजिकको राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गर्न तल्लीन व्यक्ति हुन्। हाल रायमाझीको नेतृत्वको ‘रअ बार्ज’ले नयाँ काँचुली फेरेको छ। र्याप ब्याटलका विभिन्न अडिसनहरु भइरहेका छन्। रायमाझीको नेतृत्व पाएपछि ‘रअ बार्ज’ पुनः जागेको छ।
‘प्रवेश दाइ आएपछि हामीमा नयाँ उत्साह थपिएको छ,’ राणा भन्छन्, ‘अब हामी छिट्दै हाम्रो ब्याटलका अडिसन र एलिमेनेसन राउण्ड सकेर लाइभ राउण्डका लागि टप ४० प्रतिस्पर्धी छान्दैछौं।’
प्रवेशलाई पनि सानैदेखि हिप–अप म्युजिकमा चासो थियो। आफू र्यापर नभए पनि र्यापलाई माया गर्ने भएका कारण पछिल्लो समय रायमाझीले ‘रअ बार्ज’लाई टेकओभर गरे।
नेपालको मौलिक संस्कृतिमा लोकदोहोरी भनेजस्तै हिपअप म्युजिकमा खेलिने दोहोरीलाई रायमाझी र्याप ब्याटल भन्छन्। ‘यो पनि निकै रचनात्मक हुन्छ,’ उनले थपे, ‘दुई व्यक्तिबीच हिप–अप म्युजिकको विधामार्फत र्याप ब्याटल हुन्छ। सो क्रममा एकअर्काविरुद्धका भडाँस पोख्ने मात्र नभई देशको सिस्टम, राजनीतिक विकृति, सामाजिक विषय वा विकृति लगायतमा एकअर्काले गतिलो प्रहार गरी र्याप गाउँछन्।’
यसपटकको स्थानीय तहको निर्वाचनमा उठेर काठमाडाैं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाह पनि र्यापर नै हुन्। र, उनलाई व्यावसायिक छवि बनाइदिने काम पनि ‘र बार्ज’ले नै गरिदिएको थियो।
सानेपामा विद्यालय समेत चलाइरहेका रायमाझीले किन लिए त ‘रअ बार्ज’को जिम्मेवारी आफ्नो काँधमा ? उनी भन्छन्, ‘एउटा इभेन्टमा म सहभागी भएको थिएँ। त्यसपछि भने आफैं केही गर्ने हुटहुटी भयो। अर्को कारण चाहिँ म आफैंलाई मन पर्ने र्यापर यमबुद्धको लेगेसी भएको कम्पनी हो, त्यही भएर पनि पुनः सुरु गर्ने सोच आयो।’
यम बुद्ध यो संसारमा नरहे पनि रअ बार्जलाई चिनाउने र आजसम्मको अवस्थामा ल्याउने काममा उनको महत्वपूर्ण भूमिका रहेको रायमाझी बताउँछन। फेरि, ‘रअ बार्ज’ यस्तो प्लेटफर्म हो, जहाँबाट लाहुरे, बालेन जस्ता धेरै चर्चित र्यापर जन्मिएका छन्, जो अहिले व्यावसायिक रुपमा सफल पनि मानिन्छन्।
‘रअ बार्ज’को जिम्मेवारी लिएपछि रायमाझी समेत हिजोआज हिप–अप म्युजिक प्रवर्द्धनमा जुटेका छन्। र्याप ब्याटलको पछिल्लो अडिसन २०२२ फेब्रुअरीबाट सुरु भएको छ। युवाहरुको अत्यधिक सहभागिता देखेर रायमाझी खुशी छन्। ‘मेरो उद्देश्य भनेको नेपाली म्युजिक र हिपअपलाई फ्युजन गरेर लैजाने हो।’ उनले भने, ‘नेपाली म्युजिकलाई विभिन्न देशसम्मै पुर्याउने हो।’
पछिल्लो समय समाजमा र्यापरहरु लागूऔषध दुर्व्यसनमा फस्ने गर्छन् भन्ने गलत धारणाको विकास हुँदैछ। रायमाझीले यो कुरा धेरै नजिकबाट बुझेका छन् र नै र्याप ब्याटललाई एन्टीड्रग क्याम्पेनसँग पनि जोडिदिएका छन्। ‘कुनै पनि लागू पदार्थ सेवन गर्नेलाई हामीले ब्याटलमा स्थान नै दिँदैनौं,’ रायमाझी भन्छन्, ‘कुलतमा फसेकाहरुलाई बाहिर निकालेर उपयुक्त काम र रोजगारी समेत दिने काम पनि गरिरहेका छौं।’
रायमाझी आएपछि उनले बेखर्ची र्यापरहरुलाई काम समेत दिएका छन्। त्यस्ता र्यापरहरुलाई बस्नेदेखि गरिखाने ठाउँसम्मको व्यवस्थापन गरिदिएको उनको भनाइ छ।
‘हामीले र्यापरहरुको व्यक्तित्व विकासलाई समेत विशेष ध्यान दिएर काम गरिरहेका छौं,’ रायमाझी भन्छन्, ‘इन्टरनेशनल मार्केट अनुकूलको ट्यालेन्ट हामी जन्माउँछौं, यो मेरो अठोट हो।’
रायमाझीको आफ्नो छुट्टै म्युजिक कम्पनी पनि छ। त्यसलाई समेत ‘रअ बार्ज’सँगै दौडाउन चाहेका छन्। ‘यहाँ ट्यालेन्टहरुलाई तयार गरी हाम्रो र्याप ब्याटल विभिन्न देशसम्म लिएर जान्छौं,’ उनले भने, ‘संसारमा म्युजिकमा लगानी गर्नेहरु अर्बपति भइसके। हाम्रोमा भने कलाकारिताप्रतिको दृष्टिकोण नै गलत छ। यसलाई आमूल सुधार गरी र्याप ब्याटल गर्ने प्रतिभाहरुले पनि राम्रो कमाउन सक्छन् भन्ने मान्यता स्थापित गर्नु छ।’
सुरुवातका दिनहरुमा हिपअप म्युजिकको नाम सुन्दा पनि मानिसहरु हाँस्थे, तर अहिले बिस्तारै कुरा बुझ्ने जमात ठूलो हुँदै गएको उनको ठम्याइ छ। ‘अब त मानिसले कुरा बुझ्न थाले। हिपअप र र्याप ब्याटललाई सबैले स्वीकारिसके। यो विधालाई बुझ्ने क्राउड पनि नेपालमा पाउन थालियो,’ उनी थप्छन्।
‘रअ बार्ज’का अभियन्ता लोकसंगीत र र्यापलाई फ्यूजन गरेर अगाडि बढ्न चाहन्छन्। ‘र्याप ब्याटल बाहिरको अवधारणा हो, तर यसलाई परिस्कृत गरेर नेपाली परम्परागत म्युजिकको समेत फ्यूजन गरी अगाडि बढ्न सकिने रहेछ,’ रायमाझी भन्छन्, ‘फेरि हामी र्याप ब्याटल र शो मात्र गर्न आएका होइनौं। योसँगै हामीले युवा पुस्तालाई ज्ञान पनि बाँड्नु छ। अझ एउटा र्यापरले र्याप गाएरै जीवन निर्वाह गर्नसक्ने अवस्था बनाउनु छ।’