काठमाडौं– कवि वाशु शशी बाँचेका भए अहिले ८४ वर्षका हुन्थे। ५७ वर्षमै महाप्रस्थान भए उनी। जीवनमा शशीले छोटो आयु पाए पनि कवितामा भने अझै बाँचिरहेका छन्।
कविता, गीत, नाटक, टेलिश्रृंखला र चलचित्रमा वाशु शशीको चर्चा अहिले पनि हुन्छ। शशी त्यस्ता प्रतिभा थिए, जो कवितामा बाँचे, फिल्ममा हँसाए, नाटकमा रुवाए।
कवि वाशु शशीसँग नजिकबाट संगत गरेका कवि तथा गीतकार कालीप्रसाद रिजाल, गणेश रसिक र चलचित्र निर्देशक यादव खरेल शशीलाई सम्झिरहन्छन्।
समकालिन साहित्यमा वाशु शशीसँग सँगसँगै संघर्ष गरेका कालीप्रसाद रिजालले गएको शुक्रबार ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ किताबको सार्वजनिक कार्यक्रममा सम्झिए, ‘वाशु शशी स्वयम्मा एउटा कविता थिए।’
जीवनका केही वसन्त काठमाडौं खाल्डोमा कवि वाशु शशीको संगतमा परेका रिजालका लागि शशी मानवतावादी कवि हुन्। ‘वाशु शशीले कवितामै जीवन व्यतीत गरे,’ रिजालले भने, ‘कवितामा बाँच्ने थोरै कविमध्ये वाशु शशी एक हुनुहुन्थ्यो।’
सरल कविता आम मान्छेसम्म पुर्याउन सकेको ‘जस’ दिन्छन् रिजाल वाशु शशीलाई। वाशु शशी मानिसका लागि खुला प्रेमपत्रजस्तै लाग्छन् रिजाललाई। रिजालले शशीलाई मानिसप्रतिको मोह अत्यधिक भएको कुरा सम्झिए, ‘दैविक शक्ति नै मानिस हो भन्थे शशी।
‘प्रेम नुहुनजस्तो कुरूपता केही हुन सक्दैन,’ कवि रिजालले वाशु शशीले भनेको सम्झिए’ ‘देश सीमानाहरूबाट बन्दैन, मानिसहरूबाट बनेको हुन्छ।’ कुनै एक गोष्ठीमा वाशु शशीलाई भेटेको सम्झिए रिजालले। यो भेट रिजाल संयोग पनि ठान्छन्। पहिलोपटक शशीले आफूबारे बोलेपछि अँगालो हालेको सम्झिए, ‘त्यो गोष्ठीमा मैले पनि कविता सुनाएको थिएँ। उहाँले मलाई अँगालो हाल्दै स्याबासी दिनुभयो।’
रिजालका अनुसार शशी एकदमै सरल र इमान्दार चरित्र बाँचे। रिजाल भन्छन्, ‘अरूको सिर्जनालाई दिल खोलेर प्रशंसा गर्ने र राम्रो सिर्जनालाई प्रकाशन गर्नमा सहयोग पनि पुर्याउने गर्थे।’
वाशु शशीका प्रतिनिधि कविता ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ किताबकै सन्दर्भमा वरिष्ठ चलचित्र निर्देशक यादव खरेल शशीलाई सम्झिँदै नोस्टाल्जिक भए, ‘शशीका कविताहरू फाट्टफुट्ट पढेपनि भेटघाट भएको थिएन। उहाँलाई भेट्नु अगाडि एकदिन हरिवंश र मदनकृष्ण फिल्म बनाउने प्रस्ताव लिएर आए। खरेलले फिल्म कसले लेखेको हो भनी सोधेका थिए।
‘वाशु शशीले’ मह जोडीले भनेको सम्झिए। फिल्मको नाम थियो ‘लोभीपापी’। यही फिल्मका कारण शशीसँग मेरो दोस्ती जम्यो।’
शशीले लेखेको लोभीपापी फिल्मको कथा पढेपछि निर्माण तथा निर्देशन गर्न हौसिएका थिए खरेल। त्यो बेला हास्यव्यंग्य चलचित्र दर्शकले रुचाउलान् भन्ने नसोचेको बताए। फेरि मदनकृष्ण र हरिवंश जस्ता कलाकार अहिलेको जस्तो ‘पपुलर’ पनि थिएनन्। उनीहरू पनि स्थापित हुने संघर्षमा थिए। खरेल भन्छन्, ‘लोभीपापी चलचित्र कथाले नै मलाई ‘कन्भिन्स’ गरेको थियो निर्माण–निर्देशन गर्न। शशीको लोभीपापी ‘नगद नारायण’ भन्ने कृतिबाट प्रभावित छ, जसमा कमेडी मात्रै थिएन, एउटा गहिरो कथा थियो, म्यासेज थियो।’
पहिलो हास्यव्यंग्य चलचित्र निर्माण र निर्देशन गर्न वाशु शशी विना सम्भव थिएन भन्छन् खरेल। र, खरेलले उनको सरल जीवन र काव्यिक बहुआयामको चर्चा गरे। ‘कविता लेखेर पाउने जति चर्चा नपाए पनि उनी आफ्नो समयका सर्वाधिक शक्तिशाली कवि हुन्।’
जीवनका केही वसन्त काठमाडौं खाल्डोमा कवि वाशु शशीको संगतमा परेका रिजालका लागि शशी मानवतावादी कवि हुन्। ‘वाशु शशीले कवितामै जीवन व्यतीत गरे,’ रिजालले भने, ‘कवितामा बाँच्ने थोरै कविमध्ये वाशु शशी एक हुनुहुन्थ्यो।’
वैयक्तिक स्वतन्त्रता र आर्थिक सम्पन्नताको बीच रहेको भिन्नतालाई वाशु शशीले निकै गम्भीर ढंगले लेखेको खुलेरै प्रशंसा गरे। खरेलले आफ्नो छोरा सम्राट खरेलले निर्माण गर्न चाहेर वाशु शशीको एक सिर्जनामाथि फिल्म बनाउन चाहे। आजको समयमा महिलाका पक्षमा लेखिएको त्यत्तिको सिर्जना पढेकै छैन भने खरेलले। उनले भने, ‘महिलाको वेदनामाथि त्यति बलियो सिर्जना मैले पढेको छैन।’
खरेलले शशीको संगतले कविता र फिल्मका कुरा मात्रै गरेनन्, नेपाल परिवार नियोजन संघको अवधारणा र त्यसको कार्यान्वयनलाई चुस्तदुरुस्त बनाउनमा वाशु शशीको योगदान पनि सम्झिए।
त्यसैगरी गणेश रसिकले वाशु शशीका गीत सम्झिए, ‘गीतकारले लेखेका गीतमा केवल तुकबन्धी मात्रै हुन्छ, कविका गीतमा विम्ब–प्रतीकलाई उचित प्रयोग गरिएको हुन्छ, जुन वाशु शशीका गीतमा पाइन्छ।“
मानवीयता, राजानीतिक र सामयिक व्यंग्य, प्रेम र जीवन–जगतका मसिना विषयलाई कविता बनाएका शशीका कविताले अबको पुस्तालाई काव्यिक कुरा गरे रसिकले।
‘मसँग यौटा तारा छ मायाको’ गीत एक समयमा ओठओठमा झुण्डिएको थियो। यसका स्रष्टा वाशु शशी थिए। कमला श्रेष्ठको स्वरमा रहेको यो गीत उनको निधनपछि गणेश रसिकको संगीतमा तयार भएको थियो।
कृतिका सम्पादक राजकुमार बानियाँले वाशु शशी लेखनाथ, देवकोटा, सम, भूपि, रिमालहरूको लहरका कवि भएको र नयाँ पुस्ताले उनका कविता पढ्न नपाएकोमा आफूले यो कृति ल्याउन प्रयास गरेको बताए। वाशु शशी कुनै पद वा पुरस्कारका कारण कवि भएका होइनन्, आफ्नो ५७ वर्षे जीवनमा उनले ती चिजको सामान्य स्पर्श समेत गरेनन्।
’पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ को भूमिकामा बानियाँ लेख्छन्– आमाको मृत्युपछिको एक्लोपनले वाशुदेव वैद्यलाई वाशु शशी बनायो। र, ‘पानी गल्दैन’ जस्तो सुन्दर काव्य लेखे।
पुरस्कारले साहित्यकारलाई भिखारी र परस्कार गुठीका पदाधिकारीलाई व्यापारी बनाएको उनलाई टड्कारो बोध थियो। उनकी जीवनसंगिनी जुलुम वैद्यलाई यत्तिका वर्षसम्म पनि वाशु शशी नभएजस्तो लाग्दैन। भरे आउँछन्, भोलि आउँछन् जस्तो लाग्छ। उनी भनिरहेकी छन्, ‘मलाई त कतै घुम्न गएजस्तो लाग्छ।’
वाशुदेव वैद्यले आफ्ना माइला दाजु गोविन्ददेव वैद्यले गोविन्द वियोगी लेख्न थालेपछि आफूलाई पनि वाशु शशी लेख्न थालेका थिए। शशी खास गरेर कविका रूपमा नै सुप्रसिद्ध छन्। साथै उनले नाटककारका रूपमा पनि आफ्नो नाम सुन जस्तै चम्काए। उपन्यास र गीत लेखनका पनि उनी अब्बल दर्जाका स्रष्टा हुन्। अनुवादमा पनि उनले त्यस्तै चर्चा बटुलेका थिए।
क्यान्सरका कारण ०४९ चैत ४ गते स्वर्गीय भएका शशीका अनुवादसहित नेपाली र नेवारी भाषामा गरेर दुई दर्जन कृति प्रकाशनमा छन्।