जनकपुरधाम- असई थमन विक हत्याको आरोप लागेका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन्। जिल्ला अदालत महोत्तरीमा सोमबार भएको सुनवाईमा न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले शर्मालाई तारेखमा रिहा गर्न आदेश दिएको हो।
सोमबार जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका शर्माको करिब तीन घण्टा बयान लिइएको थियो। बयान सकिए लगत्तै न्यायाधीश प्याकुरेलको इजलासमा थुनछेक बहस भएको थियो।
शर्माको तर्फबाट कानुन व्यवसायी ज्ञानेन्द्र लाल कर्ण, रमेश पाण्डे र देवेन्द्र ठाकुरले बहस गरेका थिए भने शर्माको विपक्षमा सरकारी वकिल सुदिप दंगालले बहस गरे। उच्च अदालत जनकपुरले १५ साउनमा थमन हत्याका अभियुक्त शर्मासहितका व्यक्तिहरुलाई पक्राउ गर्न जिल्ला अदालत महोत्तरीको नाउँमा परमादेश जारी गरेको थियो।
परमादेश जारी भएको १३ दिनपछि राज्यमन्त्री शर्मा अदालतमा हाजिर भएका हुन्। शर्मा सोमबार बिहान आफ्ना अंगरक्षक र कानुन व्यवसायीसहित अदालत पुगेका थिए। उच्च अदालतले परमादेश जारी गरेपछि राज्यमन्त्री शर्माले अदालतको निर्णयलाई सम्मान गर्ने प्रतिक्रिया दिएका थिए।
राज्यमन्त्री शर्मा उच्च अदालतको परमादेशपछि अदालतमा उपस्थित भएपनि घटनाका अन्य अभियुक्तहरु अझै प्रहरीको खोजीमा रहेको बताइएको छ।
थमन हत्याको आरोपमा जलेश्वर नगरपालिकाका नगर प्रमुख रामशंकर मिश्रलगायत २८ जनालाई अभियुक्त बनाइएको छ। २८ जना अभियुक्त मध्येय प्रहरीले यसअघि तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरु मध्येय मोहन ठाकुर तारेखमा रिहा भइसकेका छन् भने अन्य दुईजना पुर्पक्षका लागि थुनामा छन्।
पछिल्लो मधेश आन्दोलनको क्रममा आन्दोलनकारीको आक्रमणबाट घाइते भएका असई थमन विकलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा तत्कालीन महोत्तरी गाविसको सोनुषडा भन्ने ठाउँमा गाडीबाट थुतेर हत्या गरिएको थियो । विककी पत्नी शोभा गहतराजले हत्यामा संलग्नहरुलाई कारबाहीको सजायको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेकी छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४