काठमाडौं- राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतमसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
गौतमसहित बोर्डका प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीले योग्यता नपुगेका व्यक्तिलाई नियुक्ति गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०७२ असोज २ गते गोरखापत्रमा सूचना प्रकाशन गरी विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेको थियो। कृषि प्राविधिक र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिको आवेदन स्वीकृत गरी नियुक्ति दिएको भन्दै उजुरी परेपछि आयोगले अनुसन्धान गरेको थियो।
अनुसन्धानबाट न्यूनतम शैक्षिक योग्यता नपुगेको व्यक्तिलाई बदनियत राखी दरखास्त फाराम स्वीकृत गरी नियुक्त गरेको पाइएपछि आयोगले मुद्दा दायर गरेको जानकारी दिइएको हो।