काठमाडौं- पूर्वी पहाडी जिल्लाको चेम्जोङ गाउँ। त्यही गाउँको १९ वर्षीय युवकले एक युवती (सोल्टिनी)लाई भगाएर ल्याएपछि गाउँका बुढापाका मिलेर विधिपूर्वक टिकाटालो गर्छन्। कुखुरा काटेर, तोङ्बा बाँडेर दुईचार भाइ जम्मा भएर भोज खान्छन्।
चेम्जोङ गाउँमा युवकको विवाह सम्पन्न भएपछि दुलहीको माइती शेर्मा गाउँमा बुढ्यौली सहितको आफन्तहरू ‘चोरको स्वर’ बुझाउन हिँड्छन्। हरेक समुदायमा भागी विवाह गरिसकेपछि माइतीसँग ढोगभेट फुकाउने चलन छ। तर, लिम्बु समुदायमा दुलाहाको आफन्तले माइती समक्ष गरेको ढोगभेट फुकाउने विनम्रता नै ‘चोरको स्वर’ हो।
केटाकेटीले मन मिलेर विवाह गरे पनि तपाईको छोरीले कुनै दुःख पाउने छैन र कुनै दुःख दिनेछैनौं भनी वचन दिनुपर्ने हुन्छ। तर, माइती पक्षले सजिलै विश्वास गर्दैनन्। र, स्वीकार्दैन पनि।
दुलाहा पक्षले ल्याएको कोसेली राखेर मेलमिलापको कुरा गर्दागर्दै दुलहीको भाई बेलाबेला आक्रोशमा झम्टिन्छन्। दुवै पक्ष हात हालाहाल हुन्छ। बुढापाकाले सम्झाउँछन्। सम्झाउने र सम्झिने कोसिस निकै रोचक हुन्छ। खुकुरीको भरमा दुलहीका आफन्तले शक्ति नै प्रदर्शन गर्छन्। दोहोरो घोचपेच निक्कै चले पनि मानवीय सद्भाव कम हुँदैन।
‘तपाई र हाम्रो माङ्गेना नै मिल्दैन’, भन्दै माइती पक्ष ठसको मस हुँदैन। आपसी मनमुटाव भएका कारण दुवै गाउँबीच सांस्कृतिक र सामाजिक दम्भ छ। चेम्जोङ गाउँको चेली ल्याउँदा शेर्मा गाउँकालाई खुबै लखेटेका थिए। र पनि, परम्परागत मायाप्रेम गर्ने शैलीले कुटुम्बेरी साइनो जोडिन भने छोडेको छैन।
राजनीतिक कारणले विकासमा पछ्यौटे परेको शेर्मा गाउँका स्थानीयलाई चेम्जोङ गाउँको विकाससँग निकै इर्श्या छ। बाटो, मोटर, बिजुली, शेर्मा गाउँमा कहिले पुग्ला भनेर चिन्तित पनि छन्, स्थानीय। त्यसैले दुवै गाउँ जोड्ने पुल नाघेर चेम्जोङ गाउँका सोल्टिनीहरू शेर्मा गाउँका सोल्टीसँग भाग्छन् भन्ने कुराले दुवै गाउँबीच कलह छ। कतिसम्म मतभेद थियो भने शेर्मा गाउँका युवकले चेम्जोङ गाउँबाट केटी भगाएको झोँकमा झोलुङ्गे पुलका तार नै काट्ने गरियो। शेर्मा गाउँका तन्नेरी र चेम्जोङ गाउँको तन्नेरीबिच बेलाबेला लफडाकै कारण पुल भत्काउने कोशिस गरिएको थियो।
सानैमा आमा गुमाएकी नन्दलाई भाउजुले दिएको मातृ-स्नेहका कारण उनका आँखामा आफ्नै छोरीको विदाई गरेझैँको पीडा झल्केको छ। नन्दको विवाहमा लाग्ने खर्चप्रति भाउजुको चिन्ता र माइतीले चोरको स्वर नस्वीकार्दा बर्षौ माइत जान नपाएको दुःखको दृश्यले एकछिन दर्शकलाई स्तब्ध बनाउँछ।
सामाजिक वैरभावबाट गुज्रिएका दुई गाउँका तन्नेरी सोल्टा-सोल्टेनीले मन मिलेर बिहे गरिदिन्छन्, जसका कारण दुवै गाउँबीच सामाजिक रितितिथि र सद्भाव झल्किन्छ। लिम्बु समुदायमा हुने प्रचलित विवाह सम्बन्ध र नातालाई स्थापित गर्न खोजिने सामाजिक रितितिथि नै चोरको स्वरमा भेटिन्छ।
‘लौ है आदङ्वासेहरू केही गल्ती पो भयो कि’, बुढापाकाले भाँती पुर्याएर गरेको कुराकानी मिट्टो लाग्छ। अन्य, समुदायलाई मात्रै नभएर लिम्बु समुदायका पछिल्ला नयाँ पुस्तामाझ पनि यस्तो विवाह प्रचलन विस्तारै हराउँदै गएको नकार्न सकिँदैन। आजका नयाँ पुस्तालाई चोरको स्वर नाटकले लिम्बु समुदायमा हुने विवाह चलनलाई बुझाउन सक्छ।
लिम्बु समुदायको विवाह चलनमा बोलिने लवज, केटा र केटीका आफन्तमा हुने सद्भाव, प्रेम, आदर, गहिरो छ। खानपानमा लिम्बु समुदाय कति उदार छ भन्ने पनि देख्न सकिन्छ।
रंगमञ्चमा प्रयोग भएको ‘सेट’ निकै भव्य लाग्छ।
दुई गाउँलाई जोड्ने झोलुङ्गे पुल आफैँमा सामाजिक सद्भाव बचाइराख्ने ‘बिम्ब’ हो। सोल्टी-सोल्टेनीलाई एक बनाउने पहिलो खुट्किलो झोलुङ्गे पुल नै हो।
लिम्बु समुदायको घरघरमा बनाइने घरेलु जाँड, घरघरै पालिने सुङ्गुर, कोसेलीमा अनिवार्य दिइने घरेलु मदिराको बोतल, तोङ्बा, विवाहमा बजाइने च्याब्रुङ, गुन्द्री, जाँड बनाउनु, बुङ्गुर काट्नु, भोज पकाउनुलगायत ‘प्रप्स्’ मौलिक छन्। पाहुनालाई बस्ने ठाउँ बनाउन साच्चैँको पराल बिछ्याएको छ।
यस्तो लाग्छ दर्शक स्वयम् विवाह भोजमा सामिल भइरहेका छन्। साँच्चै, एकछिनलाई खाँट्टी लिम्बु गाउँमा पुगेको महसुस हुन्छ। लिम्बु समुदायका छोरी चेलीको त्याग, परिवारप्रतिको कर्तव्य निर्वाह गर्न आवश्यक सहनशीलताजस्ता मार्मिक पक्ष दुलहीको भाउजुको कथाले दर्शाएको छ।
सानैमा आमा गुमाएकी नन्दलाई भाउजुले दिएको मातृ-स्नेहका कारण उनका आँखामा आफ्नै छोरीको विदाई गरेझैँको पीडा झल्केको छ। नन्दको विवाहमा लाग्ने खर्चप्रति भाउजुको चिन्ता र माइतीले चोरको स्वर नस्वीकार्दा बर्षौ माइत जान नपाएको दुःखको दृश्यले एकछिन दर्शकलाई स्तब्ध बनाउँछ।
दुई फरक गाउँका अलि भिन्न परिस्थिति तर उस्तै प्रचलन, परिवेश र चालचलन निकै प्रिय लाग्छन्। सोल्टा-सोल्टिनीमा पलाउने प्रेम र पूर्वेली भाकाको दोहोरी सुनिरहुँ लाग्छ।
नाटकलाई थप जीवन्त प्रकाश संयोजनले बनाएको छ। त्यसैगरी च्याब्रुङको ताल (लिम्बु समुदायको मौलिक बाजा) को पार्श्व संगीत अझ गजब छ।
म्युजिक भिडियो निर्देशन गर्दै आएका नवीन चौहानको पहिलो प्रयास सफलताको नजिक छ। लिम्बुवान क्षेत्रमा हुने सांस्कृतिक चलनलाई कथामा बुन्न नवीन चौहानको प्रयास सराहनीय छ। मौलिक कथालाई स्वादिलो, चोटिलो र संवेदनशीलताको मिश्रण दिने प्रयास गरेका छन्।
नाटकले लिम्बु समुदायमा हुने विवाह चलनलाई जस्ताको त्यस्तै प्रस्तुत गर्न सफल भएपनि गहिरो कथा बोक्न भने चुकेको छ।
वैचारिक लडाइँ र विकासे योजनाले रैथाने संस्कृति लोप हुन पुगेको सन्दर्भ छुस्स जोडिएको छ। विकासे डोजरले चिहान डाँडा खन्न थालेपछि स्थानीय बुढापाकाको चिन्ता निकै हृदयस्पर्शी छ। यता स्वायत्त लिम्बुवान राज्य भएको हेर्न शेर्मा गाउँको युवाको सपना अझै मरेको छैन। तर, त्यो कथा विवाहकै खानपानमा हराएको छ।
थापागाउँस्थित मण्डला थिएटरमा मन्चन भइरहेको नाटक चोरको स्वर गीतसंगीतमा निरन्तर सफल भएको आर्टमाण्डुको पहिलो प्रस्तुती हो।
कलाकारको जीवन्त अभिनय नाटकको थप बलियो पक्ष हो। निर्देशकद्वय अनिल सुब्बा र अन्वेश राई थुलुङले कलाकारलाई स्वतन्त्र छोडिदिएका छन्।
निर्देशक सुब्बा स्वयंम् अभिनय गरेका छन्। साथै रूपेश लामा, कवि राई, लक्ष्मी योङहाङ, इँगिहोपो कोइँच सुनवार, संगीता थापामगर वेदना लगायत कलाकारको अभिनय रहेको छ। नाटकको अन्तिममा पृष्ठभूमिमा सुनिने आवाजले लिम्बु समुदायमा बोलिने विम्बात्मक भाषा निकै यादगार लोभलाग्दो छ: सेवारो १ तपाईहरुको गाउँघरमा एउटा सुन्दर फूल फुलेको रहेछ। फूलको बासना हाम्रो गाउँसम्म पुगेछ। त्यसलाई हाम्रो भमराले मन पराएछ। अनि त्यो फूललाई हाम्रो भमराले चुँडेर लगेछ।