आइतबार, वैशाख १६, २०८१

स्थानीय निर्वाचनको परिणामबारे कुन दलको समीक्षा कस्तो?

एमालेभित्र अहिले तीन विषय चर्चामा छन्। पहिलो-पालिका नेतृत्वमा पराजित भए पनि लोकप्रिय मत पाएको दाबी सहितको आत्मसन्तुष्टि। दोस्रो- हारको प्रमुख कारण गठबन्धन, धाँधलीको आरोप। र, अन्तरघात अनि अनुशासनको प्रश्न।
 |  आइतबार, जेठ २२, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

आइतबार, जेठ २२, २०७९

काठमाडौं- स्थानीय तहको निर्वाचन सम्पन्‍न भएसँगै दलहरु परिणामको समीक्षामा छन्। देशभरका ७५३ पालिकामध्ये ७५२ तहको मत परिणाम सार्वजनिक भएको छ। बाजुराको बुढिगंगा नगरपालिकामा भने पुन: मतदान हुनेछ। यद्यपि निर्वाचन आयोगले मतदानको मिति तोकेको छैन।  

triton college

प्राप्त मतपरिणाम अनुसार ३२९ तह जितेको नेपाली कांग्रेस पहिलो दल बनेको छ भने २०७४ सालको निर्वाचनमा पहिलो बनेको नेकपा एमाले यसपटक दोस्रो दल बनेको छ। एमालेले २०५ तहमा जित निकालेको छ। नेकपा माओवादी केन्द्रले १२१ तह जित्दा जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टीले १६ तह जितेका छन्। राप्रपा लगायतका अन्य दल र स्वतन्त्र उम्मेदवारहरुले ३१ तह जितेका छन्।  

निर्वाचनको परिणामपछि राजनीतिक दलहरु जित र हारका कारण खुट्याउँदै आगामी रणनीतिहरु तय गर्न जुटेका छन्।  यस्तै अघि जितिरहेका तह गुमाउनुका कारण, स्वतन्त्र उम्मेदवारहरुको जबरजस्त उदयको अर्थको खोजी दलहरुको प्राथमिकतामा परेको देखिन्छ। स्थानीय तहको निर्वाचनमा बनेका समीकरण फेरबदल नभएको अवस्थामा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामको पूर्वानुमान अहिलेको नतिजाले दिनेछ। त्यसकारण दलहरुका लागि ताजा परिणामको विश्लेषण र समीक्षा महत्वपूर्ण हुन्छ। अहिले कतिपय दलले औपचारिक बैठक बोलाएर चुनावी मन्थन गरिरहेका छन् भने कतिपय दल अनौपचारिक समीक्षामा जुटेका छन्।  

एमालेभित्र अहिले तीन विषय चर्चामा छन्। पहिलो-पालिका नेतृत्वमा पराजित भए  पनि लोकप्रिय मत पाएको दाबी सहितको आत्मसन्तुष्टि। दोस्रो- हारको प्रमुख कारण गठबन्धन, धाँधलीको आरोप। र, अन्तरघात अनि अनुशासनको प्रश्न। 

कुन दलको कस्तो समीक्षा?

पहिलो दल बनेपछि कांग्रेसले गरेको छैन औपचारिक समीक्षा 

corrent noodles
Metro Mart

सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस स्थानीय निर्वाचनमा पहिलो दल बनेको छ। अघिल्लो निर्वाचनमा २६६ तह जितेको कांग्रेसले यसपटक ३२९ पालिकामा जित निकालेको छ। चुनावी परिणामपछि कांग्रेसले औपचारिक बैठक बेलाएर समीक्षा गरिसकेको छैन। सत्तारुढ पाँच दलीय गठबन्धनको सफलता-असफलताको समीक्षा कांग्रेसको प्राथमिकतामा छ। किनकी सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले कांग्रेसलाई धोका दिएको आरोप लगाइरहेका छन्। 

त्यो आरोपको उचित सम्बोधन गर्न नसके आगामी निर्वाचनमा राजनीतिक कोर्षले अर्कै मोड लिन सक्ने जोखिम छ।त्यसबारे जानकार कांग्रेसले गठबन्धन दलहरुलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने देखिन्छ। यस्तै पार्टी नेताहरुले अन्तरघातका कारण कतिपय स्थानीय तह गुमाउनु परेको बताउँदै आएका छन्। टिकट वितरणको पद्धतीसँग पनि कांग्रेस नेताहरु असन्तुष्ट देखिन्छन्। यी विषषमा कांग्रेसका नेताहरुले अनौपचारिक समीक्षा गरिरहेका छन्। अब देशभरका ७७ जिल्लामा जिल्ला समन्वय सिमितिको निर्वाचन सकिएलगत्तै बैठक बोलाएर समीक्षा गर्ने तयारी भइरहेको महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्। 

'०७४ को निर्वाचनमा नेपाली कांग्रेसले एक्लै लड्दै गर्दा २६६ तह जितेको थियो। त्यो बेला फाट्टफुट्ट तालमेल पनि भएको हो। हामीले अघिल्लोपटक भन्दा संख्यात्मक रुपमा पनि मत बढाएका छौं। स्वभाविक रुपमा पहिलो दल नेपाली कांग्रेस पार्टी बनेको छ,' शर्मा भन्छन्, 'सँगैमा अर्को सत्य के हो भने कतिपय ठाउँको परिणामहरु हेर्दा एक्लै लड्दा पनि जितेको भूगोलहरु तालमेल गर्दा पनि किन गुमायौं भनेर पनि हेर्नुपर्छ।'

उनले स्वतन्त्र उम्मेदवारहरुको उदय, टिकट वितरणको पद्धती र व्यवस्थापकिय कमजोरको समिक्षा आवश्यक भएको बताए । 'कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारहरुको उपस्थिति जे रह्यो, त्यसले दिएको सन्देश के हो? भन्ने कुरालाई पनि कांग्रेसले अलि गहिराइसँग हेर्नुपर्छ,' उनी भन्छन्, 'हामीले अझै यो भन्दा राम्रो रिजल्ट दिन सक्थ्यौं कि सक्दैनथ्यौं? भनेर हेर्ने हो भने पक्नै पनि सक्थ्यौं। यदि हाम्रो व्यवस्थापकीय कुरा राम्रो भएको भए, टिकट वितरणको पद्धतिमा राम्रो समन्वय भएको भए यो भन्दा राम्रो नतिजा ल्याउन सक्थ्यौं।'

यस्तै चुनावी परिणामपछि गठबन्धनमा देखिएका असन्तुष्टि र त्यसको सम्बोधन पनि कांग्रेसको प्राथमिकतामा छ। अहिले भएको तालमेलको समीक्षा गरेर मात्रै आगामी निर्वाचनमा प्रभावकारी तालेमल गर्न सकिने कांग्रेसको बुझाइ छ। 'जहाँ मिलेर पनि हारियो त्यसमा थप गहिरो विश्लेष्ण हुन जरुरी छ। मिलेर पनि हारेको भू-भागको गहिरोसँग आत्मनिरीक्षण, आत्मसमीक्षा र आत्मरुपान्तरणको कुरा गर्न सकेनौं भने त भोलि अर्को ठाउँ मिलेर पनि हार्ने खतरा हुन्छ,' शर्मा भन्छन्,  'त्यसैले अहिलेको परिणामलाई पनि गहिरोसँग विश्लेषण गरेर गयौं भने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो गठबन्धनले जित्छ।'

त्यसो त दोहोर्‍याएर उम्मेदवारी दिएका तह गुमाउनु परेको कांग्रेसको निष्कर्ष छ। प्रवक्ता डा. प्रकाशशरण महतले ५० तह अन्तरघातका कारण हार्नु परेको र दोहोर्‍याएर टिकट दिएका धेरै ठाउँमा पराजित हुनु परेको बताए। 'स्थानीय तहको निर्वाचनबाट पाठ सिक्नुपर्ने थुप्रै कुरा छन्। जहाँ हामीले दोहोर्‍याएर उम्मेदवारी दिएका छौं। त्यस्ता धेरै ठाउँमा हारेका छौं।'

एमाले: लोकप्रिय मतमा पहिलो बनेको दाबी, भित्रभित्रै अन्तरकलहको ज्वारभाटा 

२०७४ सालको परिणाममा पहिलो बनेको नेकपा एमाले यसपटक दोस्रो दलमा खुम्चियो। अघिल्लो निर्वाचनमा २९४ तह जितेको एमालेले यसपटक २०५ पालिका जितेको छ। निर्वाचन अघि अध्यक्ष केपी शर्मा ओलीले ६० प्रतिशत स्थानीय तह जित्‍ने दाबी गर्दै एमालेसँग भिड्ने तागत कसैसँग नरहेको दाबी गर्दै आएका थिए। तर चुनावी परिणामले भने एमालेलाई ठूलै धक्का दिएको छ। जसले एमालेमा अन्तरकलहको ज्वारभाटा पैदा गरिदिएको छ। यद्यपि एमाले नेताहरुले लोकप्रिय मतमा एमाले पहिलो दल बनेको दाबी गरिरहेका छन्। महासचिव शंकर पोखरेल लगायतका नेताहरु एमालेले लोकप्रिय मत पाएको पटक-पटक गर्दै आएका छन्।  

अघिल्लो पटकको तुलनामा यसपटक एमालेले ८९ पालिकाको नेतृत्व कम जितेको छ। तर पनि एमाले नेताहरुले लोकप्रिय मतको रटान लगाइरहेका छन्। जुन कार्यकर्ताको मनोबल कायम राख्ने प्रयत्नसँग जोडिएको देखिन्छ। 'एमाले चुनावमा एक्लै लड्दा पनि गठबन्धनले भन्दा धेरै जनमत प्राप्त गरेको छ,’ महासचिव शंकर पोखरेलले भन्दै आएका छन्, 'आज पाएको जनमतलाई ठूलो उपलब्धी ठानेर आगामी निर्वाचन पहिलो दल बन्छौं।’

एमालेले पनि चुनाव पछि औपचारिक बैठक बोलाएर चुनावी समीक्षा गरिसकेको छैन। तर एमालेभित्र अहिले तीन विषय चर्चामा छन्। पहिलो-पालिका नेतृत्वमा पराजित भए  पनि लोकप्रिय मत पाएको दाबी सहितको आत्मसन्तुष्टि। दोस्रो- हारको प्रमुख कारण गठबन्धन, धाँधलीको आरोप। र, अन्तरघात अनि अनुशासनको प्रश्न। 

एमाले नेताहरुले पराजयको प्रमुख कारण पाँच दलीय गठबन्धनलाई प्रमुख कारण बनाएका छन्। यस्तै निर्वाचनमा राज्य शक्तिको प्रयोग गरेर धाँधली गरिएको आरोप एमालेले मतपरिणाम आइनसक्दै विज्ञप्ति जारी गरेर लगाएको थियो। जेठ १ गते महासिचव पोखरेलले विज्ञप्ती जारी गरेर आचारसंहिता सच्चाउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौं स्थानमा बुथ कब्जा गरिएको र मतगणानामा पनि गठबन्धनले धाँधली गरेको आरोप लगाएका थिए।

त्यसयता एमाले नेताहरुले पटक-पटक चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन्। जेठ ३ गते प्रतिनिधिसभा बैठकमा बोल्दै नेता प्रदीप ज्ञवालीले चुनावमा राज्यशक्ति दुरुपयोग गरिएको आरोप लगाएका थिए। 'पहिला त सरकारले नै निर्वाचन गराउन चाहेको थिएन। अन्तिम समयमा पनि चुनाव सार्ने तयारी गरेको थियो। चुनावमा राज्य शक्ति प्रयोग गरेर धाँधली गरियो,' उनले भनेका थिए। 

ओलीले जेठ १२ गते प्रतिनिधिसभामा बोल्दै सरकार पक्षले बुथ कब्जा गरेको आरोप लगाएका थिए। 'सरकार पक्षले नै बुथ कब्जा गर्‍यो। मतदाताको हत्या गर्‍यो। जसरी भएपनि परिणाम आफ्नो पक्षमा पार्न सत्ता पक्ष लाग्यो। लोकतन्त्रको पक्षमा सरकार लागेन,' उनले भनेका थिए।

त्यसो त ओलीले जेठ १९ गते एमालेलाई नेताबाटै जोगाउन चुनौती देखा परेको बताएका थिए। 'जनताले एमालेलाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन्। तर समस्या हामीभित्रै देखिएको छ। आफ्नै पार्टीभित्र एउटाले अर्कोलाई हराउन खोज्दा दुवैले हार्ने स्थिती बन्यो,' पार्टीको एक कार्यक्रमा ओलीले भनेका थिए, 'नेताहरुबीच मेल भएन, स्पिरिट भएन। यथार्थमा पार्टीलाई कसरी बचाउने भन्ने चुनौती थपिएको छ।'

त्यसो त एमालेमा चुनावपछि अन्तरविरोध उत्कर्षमा पुगेको छ। नेता घनश्याम भुसाललाई अनुशासनको कारबाही गर्न सिफारिस गरिएपछि आन्तरिक अन्तरविरोध उत्कर्षमा पुगेको हो। केन्द्रीय अनुशासन आयोगले शनिबार भुसाललाई कारबाहीका लागि सिफारिस गरेको थियो। अध्यक्ष ओलीको आलोचना गरेकाले भुसालाई कारबाहीको सिफारिस गरिएको हो। भुसालले एक अन्तर्वार्तामा पराजयको जिम्मा अध्यक्षले लिनुपर्ने बताएका थिए। कारबाहीको सिफारिस भएपछि भुसालले आफू माथि बदलाभाव राखिएको प्रतिक्रिया दिएका छन्।  

तह थपेको माओवादी सन्तुष्ट, तर चेतावनीको भाषा 

नेकपा माओवादी केन्द्र यसपटकको परिणामप्रति सन्तुष्ट देखिएको छ। अन्तिम मतपरिणाम आउँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सफल भएको प्रतिक्रिया दिएका थिए। माओवादीले अघिल्लो निर्वाचनमा १०६ पालिका जितेको थियो। यसपटक माओवादीले १५ पालिका थप गर्दै १२१ पालिका जितेको छ। माओवादीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण समेत दिइसकेको छ। यस्तै पार्टी केन्द्रीय कार्यालयको बैठक बोलाएर चुनावी समीक्षा गर्न थालेको छ। आइतबार प्रचण्ड निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो। बैठकको एउटा मुख्य एजेन्डा निर्वाचनको समीक्षा हो।

माओवादीले अघिल्लो निर्वाचनभन्दा यसपटक कांग्रेससँगको तालमेल सफल बनेको ठहर यसअघि नै गरिसकेको छ। अध्यक्ष प्रचण्डले सार्वजनिकरुपमै अघिल्लो निर्वाचनमा भन्दा यसपटक सहजरुपमा चुनावी तालमेल भएको बताउँदै आएका छन्। उनले कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा अघिल्लो पटकभन्दा सहज भोट ट्रान्सफर भएको टिप्पणी गर्दै आएका छन्। त्यसो त उनी चुनावी परिणामप्रति सन्तुष्ट देखिन्छन्। 'चुनावको परिणामबाट म असन्तुष्ट चाहिँ छैन। हुन त यो भन्दा बढी नै अपेक्षा गरेकका थियौं। ठिक ढंगले गठबन्धन गरेको भए र तलसम्म प्रशिक्षित गर्न सकेको भए माओवादी दोस्रो बन्न सम्भव छ भनेर अघि बढेका थियौं,' उनले एक अन्तर्वार्ता क्रममा भनेका छन्, 'हाम्रै कमजोरी र गठबन्धनलाई व्यवस्थितरुपमा तलसम्म कार्यान्वयन गर्न नसक्दा सोचे जति आएन। जे आएको छ त्यो सन्तोषजनक नै छ।'

चुनावी परिणामप्रति सन्तोषजनक रहेको माओवादीले सत्ता साझेदार दलप्रति भने चेतावतीयुक्त भाषा बोलिरहेको छ। अध्यक्ष प्रचण्डले जेठ १८ गते कांग्रेसलाई ठेगान लगाइदिने चेतावनी दिएका थिए। 'माओवादीले बडो मिहनत गरेर कांग्रेसको प्रधानमन्त्री बनायो। तर अहंकार गर्‍यो भने हामीले एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगाउन लगाउन नपरोस्,' पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा उनले भनेका थिए। 

त्यसो त उनले आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको समेत भन्‍न भ्याएका छन्। चुनावी परिणामपछि कांग्रेसलाई ठेगाउन लगाउने चेतावी र प्रधानमन्त्रीको अफरलाई जोडेर फेरि बाम गठबन्धनको प्रयास भइरहेको चर्चा राजनीतिक वृतमा चलिरहेको छ। तर एमालेले भने कसैलाई प्रधानमन्त्रीको अफर नगरिएको बताउँदै आएको छ। कतिपयले भने प्रचण्डका ती अभिव्यक्ति कांग्रेससँग बार्गेनिङ पावर बढाउने अभिप्रायले आएको टिप्पणी गर्दै आएका छन्। परिणामले सन्तुष्ट देखिएको र चेतावनीको भाषा बोलिरहेको माओवादीले चुनावी समीक्षाको निष्कर्ष के निकाल्ला? प्रतिक्षाको विषय बनेको छ। राजनीतिक परिस्थितीले माओवादीले लिने निर्णय र चाल्ने कदमलाई निर्णायक बनाइदिएको छ।  

नेकपा एस : पहिलो परीक्षाको परिणामबाट असन्तुष्ट

गत भदौमा नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका रुपमा स्थानीय निर्वाचनमा पहिलो पटक परीक्षणका रुपमा जनतामाझ उपस्थित भएको थियो। नेकपा एसले यसपटक पोखरा महानगर, हेटौंडा उपमहानगरपालिका सहित २० पालिका जितेको छ। तर निर्वाचन परिणामप्रति सबैभन्दा बढी असन्तुष्ट नेकपा एस नै देखिएको छ। 

सम्मानजनक तालमेल नभएको र गठबन्धनका दलहरुले धोका दिएको विश्लेषण नेकपा एसको छ। पार्टीका नेताहरुले सार्वजनिकरुपमा अभिव्यक्ति दिँदा होस् वा पार्टी बैठको निष्कर्ष नै किन नहोस् गठबन्धनमा आवद्ध दलले अपमान गरेको र धोका दिएको ठहर नेकपा एसको छ। चुनावी समीक्षा गर्न शनिबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले धोका दिएको निष्कर्ष निकालेको थियो। नेकपा एसले समग्र चुनावी समीक्षाका लागि सूचना संकलन गर्न नेताहरुलाई प्रदेशगत जिम्मेवारी समेत दिएको थियो। पार्टीका सम्मानीत नेता झलनाथ खनालका अनुसार चुनावी परिणाम प्रति नेकपा एस बेहद असन्तुष्ट छ। 'हामी अलिक हैन, बेहद असन्तुष्ट छौं। यो पाँच दलको गठबन्धनभित्र सम्मानजनकरुपले गठबन्धन हुँदै भएन,' उनले भनेका छन्। 

आइतबार मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावी परिणामलाई लिएर कांग्रेसलाई निशाना साँधे। उनले कांग्रेसका नेता-कार्यकर्ताले तालमेलअनुसार इमान्दारितापूर्वक भोट नखसालेका कारण आफ्नो पार्टी पराजित हुन पुगेको बताएका थिए। 

जसपा र लोसपाको कस्तो समीक्षा?

पाँच दलीय गठबन्धनमा आवद्ध रहेको जनता समाजवादी पार्टी पनि चुनावी परिणामप्रति सन्तुष्ट देखिएको छैन। जसपाले यसपटक ३० पालिका जितेको छ। अघिल्लो पटक जसपा (संघीय समाजवादी पार्टी)ले ३४ स्थानीय तह जितेको थियो। यसपटक चुनावी तालमेल र प्राप्त परिणामप्रति जसपा असन्तुष्ट देखिन्छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबाट धोका भएको र कांग्रेस नसच्चिए गठबन्धन दुर्घटनामा पर्ने बताउँदै आएका छन्।

पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले भनेका छन्, 'विकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्‍ने सिद्धान्तमा म विश्वास गर्छु, त्यसमा केही हाम्रा सीमा पनि रहे त्यो प्रमुख कारण हो,' भट्टराईले भने, 'जुन ढंगले गठबन्धन गरियो गठबन्धन इमानदार भएन।'

यस्तो लोकतान्त्रिक समाजवादी पार्टीले यसपटक १६ पालिकामा जित निकालेको छ। अघिल्लो निर्वाचनमा लोसपा (तत्कालिन राजपा)ले २५ पालिका जितेको थियो। चुनावी समीक्षाका लागि लोसपाको केन्द्री कार्यकारिणी समितिको बैठक बसिरहेको छ। शनिबारको बैठकमा अध्यक्ष महन्थ ठाकुरले राज्य शक्तिको दुरुपयोग हुँदा आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको बताएका थिए। 


प्रकाशित: Jun 05, 2022| 19:29 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...