म्याग्दी- गिभ पावर संस्थाले म्याग्दीका १५ भन्दा बढी बस्ती, स्वास्थ्य, शैक्षिक संस्था र सिँचाइ आयोजनामा सौर्य ऊर्जा जडान गरेको छ। अमेरिकाबाट आएका संस्थाका प्रतिनिधिले आफैं श्रमदान गरेर सौर्य ऊर्जा जडान गरेका हुन्।
केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा नपुगेको र लघुजलविद्युत् परियोजना निर्माण गर्न सम्भव नभएका दुर्गम बस्तीका साथै विद्यालय र शैक्षिक संस्थामा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि सोलार जडान गरेका हुन्।
मंगला गाउँपालिका-३ बान्द्रेमा म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न ५ किलोवाट क्षमताको सोलार जडान गरेका छन्। यसअघि मालिका गाउँपालिका-५ देवीस्थान र रघुगंगा गाउँपालिका-६ को पाखापानी स्वास्थ्य चौकीमा ७.३७ किलोवाट क्षमताको सोलार जडान गरेका थिए। बान्द्रेका सन्तोष गिरीले सौर्य ऊर्जा जडान गरेर म्याग्दी नदीको पानी ११५ मिटरमाथि रहेको नहरबाट १३ घरधुरीको २५० रोपनी जमिनमा १२ महिना सिँचाइ गर्ने सुविधा भएको बताए।
'बस्तीमुनिको म्याग्दी नदीको पानी खेर गए पनि सुक्खा याममा सिँचाइ अभावमा खेतीबाली लगाउन, सिँचाइ गर्न र ब्याड राख्न समस्या हुने गरेको थियो,' उनले भने, 'सोलारबाट लिफ्ट सिँचाइ भएपछि बाह्रै महिना खेती गर्न सकिने भएको छ।'
संस्थाका प्रतिनिधि र प्राविधिकसहित २६ जनाको टोलीले सोलार जडान र नदी किनारमा इनार बनाउन १२ दिन श्रमदान गरेका थिए। उनीहरूले मंगला माविमा कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई हस्तकला सम्बन्धी तालिम दिएका थिए।
सन् २०२१ को डिसेम्बर महिनायता बागलुङको ताराखोला स्वास्थ्य चौकी, धादिङको चौकी भञ्ज्याङमा सोलार मिल, पर्वतको चित्रेको स्वास्थ्य चौकीमा सौर्य ऊर्जा र सोलार मिल, मोदी गाउँपालिकाको लेरपार स्वास्थ्य चौकीमा सौर्य ऊर्जा गरेका संस्थामा आबद्ध सामाजिक कार्यकर्ता चित्र तिलिजा पुनले बताए। -रासस