आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आमाको सम्झनामा बनेको 'राधा'

समाज जति शिक्षित र आत्मनिर्भर भयो, त्यति नै नारीले गर्नुपर्ने संघर्षका कथा मार्मिक छन्, दुखान्त छन्। मौलिक समाजमा मौलिक कथाको प्रमुख पात्र नारी नै भए। सुवर्णका लागि ती महिला पात्र आत्मविश्वासी लाग्छन्।
 |  आइतबार, जेठ २२, २०७९
nespernesper

राज सरगम

राज सरगम

आइतबार, जेठ २२, २०७९

२०३६ सालमा विद्यार्थी आन्दोलन चर्किएको थियो। र, यही साल चलचित्र निर्देशक सुवर्ण थापाकी आमाको मन पनि चर्कियो। 

triton college

मामाघर रौतहट चन्द्रनिगाहापुरबाट आमाबुवासँग नवलपरासी फर्किंदै थिए, सात वर्षका सुवर्ण। गाडी गुडिरहँदाको आवाजमा उनका बुवाआमाको गनगन पनि मिसिएको थियो। बुवाआमाको गनगन बालक अवस्थाका सुवर्णलाई उति चासो थिएन। अचानक उनका बुवा पतलिया भन्ने ठाउँमा गाडीबाट उत्रिए। पछाडि नफर्किकनै उनका बुवाले उनलाई र उनकी आमालाई छोडेर गए। 

बुवाले छोडेर जाँदै गर्दा आमाको मन दुखेको भेउ पाएनन् सुवर्णले। बुवाले छोडेर गएको सात वर्षजति बितिसकेको थियो। सुवर्ण १३ वर्षका भए। एकदिन हिउँदको पारिलो घाम ताप्दै मामाकी छोरीले बुवाका विषयमा कुरा गरेको थाहा पाए सुवर्णले।

‘एक साँझ भिनाजु त तगारोमा एक्कासि देखें। पहिला त जोगीजस्तो लाग्यो। पछि पो चिनें। लामो दाह्री पालेर आउनु भएको थियो,' किशोर सुवर्णले सुन्ने गरी दिदीले आफन्तसँग गरेको कुराकानी सम्झिए उनले।

दिदीले बयान गरिरहेको दाह्रीले सुवर्णको मन चस्स भएको थियो। पतलियाको सडक किनारमा गाडीबाट झरेर गएका उनका बुवा सुकिलो लुगामा थिए। दाह्री सफाचट पारेका थिए। तर, दिदीले बुवाको हुलिया बताइरहँदा किशोर सुवर्णमा गहिरो प्रभाव पर्‍यो। के कारणले होला– बुवाले आफ्नो हुलिया बदल्नु परेको! उनलाई धेरै दिन सोचमग्न बनाएको थियो। 

Metro Mart
vianet

कहिले रजहर, कहिले रौतहट, कहिले हेटौँडा र कहिले काठमाडौं गरेर हुर्किएका सुवर्णले आमासँग खुलेर बुवाको बारेमा कहिल्यै सोधेनन्। बुवाको बारेमा सोधे पनि चित्तबुझ्दो उत्तर कहिल्यै पाएनन्। 

आमाको ममताका कारण बुवाको अभाव सुवर्णलाई त्यति खट्किएन। तर, आमालाई बुवाको अभाव खट्किएको उनी महसुस गर्थे। आमाले बुवा कमाउन गएको कथा हालेर भुलाउन खोज्थिन्। एकदिन फर्किने आश देखाइरहिन्। बुवाको रमाइला किस्साहरू सुनाइरहिन्। तर, बाटोमा छोडेर जाने बुवालाई सम्झिएर सिरानी भिजाउन छोडिनन् आमाले। 

घर धानेर, केटाकेटी हुर्काएर हराएको लोग्ने पर्खिरहेकी आमालाई सन् २०१४ नोभेम्बरको एक साँझ सुवर्णले खुबै सम्झिए। सम्झनाभरि आमा आएपछि उनले ‘द सेक्रेट अफ राधा’को पहिलो खाका बनाए। र, कथालाई आफ्नै नसाहरूमा रगतलाई झैं बगाइदिए उनले।  

छोटो फिल्म 'मलामी'पछि, फिचर फिल्म 'सुनगाभा', 'फन्को', 'बाटोमुनिको फूल-२' जस्ता चलचित्र निर्देशन गरिसकेका सुवर्णलाई यो चलचित्र लेखनमा खुबै सास्ती भयो। यो पटक घरको कथा भन्ने प्रयास गरेका थिए। आफ्नो आमाले समाजसँग र आफैसँग गरेको द्वन्द्वलाई चित्रमा उतार्न खोज्दै थिए। त्यसैले धेरैपटक उनले आमालाई सम्झिए। 

१३ वर्षको उमेरमा सुनेको बुवाको त्यो लामो दाह्रीको कथाले ४९औं वसन्त हिँडिरहेका सुवर्णको मनमा अझै स्थान बनाएको छ। एक हरफ स्क्रिप्ट लेख्दा पनि उनलाई गाह्रो भएको थियो। राधासँगै नछुटेको त्यो लामो दाह्री हेर्ने रहर लामै वर्षपछि पूरा भएको थियो सुवर्णको। उनी भन्छन्, ‘एकदिन त्यो दाह्रीवाला मान्छे आए विल्कुल अपरिचित भएर, तैपनि मैले सोधिनँ कहाँ जानु भएको थियो भनेर।’

हराएका कति मानिस वर्षौंवर्ष आउँदैनन्। दशौँ, बिसौँ र तिसौँ वर्ष पनि आउँदैनन्। कोही कोही त कहिल्यै आउँदैनन्। तर, घरपरिवारका आफ्ना–आफन्तलाई फर्किने आश रहिरहन्छ। यस्तै आश गरेर बसेकी उनकी आमाको कथाले उनलाई डोर्‍यायो। उनले आमालाई पछ्याए। र, लेख्दै गए आफ्नो ल्यापटपमा। 

नारीलाई मुख्य पात्र बनाएर सिनेमा बनाउन रुचि राख्ने सुवर्णका लागि 'राधा'को स्क्रिप्ट तयार पारी ‘बुसन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा सहभागी गराए। स्क्रिप्ट पास भयो। फन्डिङ पाए। सिनेमा बनाउने हौसला बढ्यो। 

सिनेमा क्षेत्रमा लाग्नु अगाडि नै थिएटरसँग नजिक थिए सुवर्ण। २८ वर्ष अगाडि रंगकर्मी अनुप बरालसँग राष्ट्रिय नाचघरमा नाटक सिकेसँगै अभिनयमा लागेका थिए उनी। 

आफ्नो करियरको सुरुवात रंगमञ्चबाटै भएकाले सुवर्ण आफ्ना चलचित्रमा रंगमञ्चका कलाकार छुटाउँदैनन्। अझ यस चलचित्रमा त सौगात मल्ललाई निर्माण कार्यमा सहकार्य गराएका छन्। भन्छन्, ‘रंगमञ्च बिना त म अधुरो छु। र, मेरो करियरको सुरुवातमा भेटिएका साथी नै अहिले राधामा सहकार्य गरेका छन्।’ 

रंगमञ्चबाट उदाएका कलाकारको बाहुल्यता छ द सेक्रेट अफ राधामा। सृष्टिबाहेक सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुकार गुरुङ र अतिथि कलाकारमा दयाहाङ राई र निश्चल बस्नेतसमेत छन्।

१७ वर्ष अगाडि फ्रान्सेली केन्द्रको सहयोगमा उनी चलचित्र पढ्न फ्रान्स लागेपछि रंगमञ्च छुट्यो। तर, साथीहरू छुटेका थिएनन्। चलचित्र प्रविधि र निर्देशन पढेसँगै उनले क्रमशः चलचित्र बनाए। सन् २०१२ मा बनाएको चलचित्र ‘सुनगाभा’ले उनको प्रशंसा ह्वात्तै चुलियो। रंगकर्मी दिया मास्के, निशा अधिकारी, सौगात मल्लको मूख्य भूमिका छ त्यसमा। उनले रंगकर्मी सौगात मल्ल र दिया मास्केलाई छुटाएनन्।

नेपालको पहिलो समलिङ्गी चलचित्र हो, सुनगाभा जुन ८६औं एकेडेमी अवार्डका लागि विदेशी भाषा चलचित्र अन्तर्गत नेपालका तर्फबाट ४ चलचित्रमध्ये  छनोट गरी नेपाली समितिले ओस्कारमा सिफारिस गरेको थियो।

राधा नाम सम्झिनेबित्तिकै एक पौराणिक पात्र दिमागमा आउँछ। भगवान् श्रीकृष्णसँग बनेको पौराणिक किस्सा आज पनि उत्तिकै चर्चा हुन्छ। यस्तै प्रेमिल राधा आजको नारीमा कमै भेटिन्छन्। बरू, आजका राधाहरू विद्रोही छन्। संघर्षशील छन्। सुवर्ण भन्छन्, ‘द सेक्रेट अफ राधा पौराणिक राधा होइनन्। आधुनिक राधा हुन्, जसमा मेरी आमाको रिफ्लेक्ट पाउँछु।’

समाज जति शिक्षित र आत्मनिर्भर भयो त्यति नै नारीले गर्नुपर्ने संघर्षका कथा मार्मिक छन्। दुखान्त छन्। मौलिक समाजमा मौलिक कथाको प्रमुख पात्र नारी नै भए। सुवर्णका लागि ती महिला पात्र आत्माविश्वासि लाग्छन्, आधुनिक दिदीबहिनीहरु डिफेन्स लिन सक्छन्।’ 

पचासको दशकको अगाडिका महिला दिदीबहिनी तथा आमाहरू शिक्षाको कारण पछाडि परेका थिए। सुवर्ण आफ्नै परिवारमा भएको एक घटना सुनाउँछन्, ‘मेरो दिदीलाई पढ्न एकदम रहर थियो। तर, दिदी स्कुल जान थालेपछि दाइलाई समस्या भयो। उसले स्कुलमा पाउने आफ्नो स्वतन्त्रताका लागि दिदीलाई स्कुल नै पढ्न दिइएन। पछि दिदी गृहिणी बन्नुपर्‍यो।’

आफ्नो स्वतन्त्रतामा हस्तक्षेप होला कि भनेर दिदीबहिनीलाई स्कुल जाने अवसर नै बञ्चित गराउने समाजमा आमाको कथा सधैं ओझेलमा छ। आमाहरू मौन बसिदिएका छन्। आफ्ना खुशीका लागि भन्दा पनि परिवारको खुशीका लागि चुपचाप गृहिणी बनिदिएका छन्। 

‘मेरी आमाको मौनताको कथा के थियो मैले त कहिल्यै सोध्न पाइनँ। तर, म आमाकै कारण प्रेरित भएको हुँ,' बोल्दाबोल्दै उनले फेरि आमा सम्झिए। 

गाउँदेखि सहरसम्म महिला पात्रमै बढी कथा भेटिने बताउँछन् सुवर्णले। सबै कथा भन्न सकिँदैन, भन्ने खालका कथा प्रविधिका कारण भन्न सकिँदैन। फेरि नारी आफैंमा संवेदनशील पात्र हो। तिनका कथाले मानिसलाई ‘कनेक्ट’ गर्छन्। 

''द सेक्रेट अफ राधा'मा मिस नेपाल सृष्टि श्रेष्ठ छिन्। द सेक्रेट अफ राधा मिस नेपाल नै त होइन, तर महिला त हुन्। दुःखका आयामहरू फरक भएपनि, संघर्षका खुड्किला फरक भए पनि नारी मन त हो’, उनले भने।  

बाल्यकालमा देखेकी आमा सहनशील राधा थिइन्। अहिले उनका लागि उनकी श्रीमती देवकी विष्ट राधाझैं लाग्छ। तर, त्रेतायुगकी राधा प्रेममा समर्पित थिइन्, कलियुगमा राधा विद्रोही छिन्। प्रेमलाई सफल बनाउन देवकीले परिवार र स्वयंसँग द्वन्द्व गरिन्। ‘आजको राधा पौराणिक कालका जस्ता छैनन्। यी राधाहरू आफू र समाज गहिरो गरी बुझेका छन् र बुझाउन सक्छन्’, थापाले भने।

प्रेम हुनु स्वाभाविक हो। प्रेम कसले कोसँग गर्नुपर्छ भन्ने नेपाली समाजमा अझै सीमाहरू छन्। एकथरी युवती स्वयंका इच्छा–आकाङक्षा मारेर परिवारमा समर्पित छन्। केही युवतीहरू भने जातपात, उमेर, धर्म र अर्थ हेर्दैनन्। स्वयंमा आत्मनिर्भर महिलाहरू आफ्नो रुचि र निर्णयमा पनि स्वतन्त्र हुन्छन्। थापा भन्छन्, ‘राधाबिना कृष्ण पक्कै हिरो हुँदैनथे। मेरा लागि पनि त्यस्तै भयो।’

थापा महिलामैत्री छन्। काम र सोचलाई सम्मान गर्छन्। महिलाभित्र लुकेका कथालाई सिनेमा मार्फत उजागर गर्छन्। र बहस चलाउने आधार बुद्धिजिवी माझ छोडिदिन्छन्। भन्छन्, ‘अबको सिनेमामा महिला पात्र प्रमुख हुनुपर्छ। तिनले आफ्ना कथा आफ्नै शैलीमा भन्न पाउनुपर्छ। उनको सुनगाभा त्यसैको उदाहरण हो।  

यस्ता विषयमाथि पछिल्लो समय नेपाली सिनेमाले महिला पात्र प्रमुख राखेर कथा भन्न खोजेको लाग्छ उनलाई। भन्छन्,‘ अबको कन्सेप्ट, स्क्रीप्ट तयार गर्दा नै महिला पात्र लिड सोच्नुपर्छ।’ 

चल्तीका सिनेमाका कथालाई छोडेर फरक स्वादको कथा पस्किन खोजेको नकार्न सकिँदैन। आयातित कथालाई ‘रिमेक’ गरेझैं नेपाली सिनेमा बनाइन्थ्यो कुनै बेला। त्यसलाई पछाडि पारेर मौलिक कथालाई नेपाली सिनेमाले प्राथमिकतामा राखेको पनि छ। सुवर्णका अनुसार नेपाली सिनेमाले कथा भन्ने शैलीमा छलाङ चाहिँ लगाएको छ तर, प्रविधिले नेपाली सिनेमा उद्योगलाई अझै साथ नदिएको भन्न उनले छुटाएनन्, ‘अहिले पनि प्रविधिमा हामी कमजोर छौं। महङ्गो प्रविधिका कारण नेपाली सिनेमा अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिरहेका छैनौँ।’

लामो समय कान्तिपुर फिल्म एकेडेमीमा चलचित्र अध्यापन गराएका सुवर्ण इतिहास र राजनीतिमाथि बनेका नेपाली सिनेमामा प्राविधिक पक्ष एकदम कमजोर देख्छन्। प्रविधिले साथ नदिए पनि कथाले साथ दिएको बताउँछन् थापा। थापाले द सेक्रेट अफ राधामा कथाकै पक्ष बलियो बनाएको बताए। 

‘एक नेपाली महिला पात्रले नेपाली परिवेश र समाजमा गरेको संघर्ष अन्तर्राष्ट्रिय पात्रमा हुबहु भेटिँदैन। तर हामीले महिला पात्र मार्फत माटोको कथा भन्न सकियो भने त्यो नै अन्तर्राष्ट्रिय मञ्चहरूमा नौलो भइदिन्छ’, उनी भन्छन्, ‘राधा माटोको कथा हो, जसमा नेपाली नारी चरित्र मात्रै नभएर घाट, सारङ्गी, लाखे, लोककथासँग नजिक छ।’ 

यही आउँदो भाद्र २४ गते देशव्यापी प्रदर्शन गरिने ‘द सेक्रेट अफ राधा’ मौलिक चलचित्र बनेको जिकिर गर्छन् थापा। आज पनि महिलाले नेपाली समाजमा गरेको अनेक संघर्ष मध्ये कुनै एक संघर्षमार्फत उनी राधाको चरित्र स्थापित गर्न चाहन्छन्, जसरी धार्मिक ग्रन्थमा राधा स्थापित छिन्।  

प्रकाशित: Jun 05, 2022| 12:31 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।