काठमाडौं- हजयात्राका लागि साउदी अरब जाने तीर्थालुहरूको शुल्क शतप्रतिशतभन्दा पनि बढीले वृद्धि भएको छ। गत हज वर्ष २०१९ मा २ लाख २९ हजार ७३१ रुपैयाँमा हज यात्रा गरिएकोमा यस वर्ष ४ लाख ६३ हजार ३९३ रुपैयाँ शुल्क कायम गरिएको नेपाल हज समितिले जानकारी दिएको छ। तोकिएको रकम जेठ २३ भित्र जम्मा गरिसक्न समेत समितिको आग्रह छ।
साउदी अरव सरकारले निर्धारण गरे अनुसार नै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले दाबी गरेको छ। हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी सरकारले निर्धारण गरे अनुसार नै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको दाबी गरे।
शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको चर्चा भईरहेका बेला अध्यक्ष मियाँको यस्तो जवाफ आएको हो। अध्यक्ष मियाँले यस वर्षको हजयात्रीहरुलाई आगामी असार १५ गते भित्र मक्का पुर्याइसक्ने गरी आवश्यक तयारी भइरहेको बताए।
'नेपाल हज समितिले तोकेको शुल्क रकमका सन्दर्भमा नेपाल हज समितिका अध्यक्ष तथा समितिका अन्य पदाधिकारीहरुलाई लक्षित गरी साउदी अरवमा हुने खाना र घरभाडा शिर्षकमा व्यापक अनियमितता गरिएको भनि गरिएको दुस्प्रचारप्रति नेपाल हज समितिको गम्भीर ध्यानाकर्षण भएको छ। गत हज वर्ष २०१९ मा हज यात्राका लागि कूल २ लाख २९ हजार ७३१ रुपैयाँ शुल्क एकीन भई हज यात्रा गरिएकोमा यस वर्ष ४ लाख ६३ हजार ३९३ रुपैयाँ शुल्क रकम एकीन भएको सन्दर्भमा विगतभन्दा यस वर्ष शुल्क रकम वृद्धि भएको यथार्थ नै हो। शुल्क रकम वृद्धि हुनुको मुख्यकारण साउदी अरव सरकारले निर्धारण गरेको शुल्क रकममा आएको वृद्धि नै हो,’ मियाँको दाबी छ।
समितिले छनौट भएका हजयात्रीहरुलाई तोकिएको शुल्क यही जेष्ठ २३ गते भित्र जम्मा गरि सक्न पनि सचेत गराएको छ। आर्थिक अवस्था कमजोर भएका इस्लाम धर्मावलम्वीहरुले हजयात्रा गर्न कठिनाई हुने भएकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउन पनि पहल भईरहेको समितिले जनाएको छ।