काठमाडौं– यही जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम उडान गरेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो। मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो। जसमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र २ जर्मन नागरिकको निधन भयो। दुर्घटनामा निधन भएकाहरुको शव पोस्टमार्टम गरेर बिहीबार परिवारलाई जिम्मा लगाइएको छ।
पछिल्लो दुर्घटनासँगै नेपालको हवाई यात्रा असुरक्षित भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। नागरिक उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसमको खराबीका कारण हुन सक्ने दुर्घटना रोक्न भन्दै उडान अनुमतिका लागि इनरुट मौसम (उडान हुने विमानस्थल र गन्तव्य विमानस्थलबीचको मौसम, जुन रुटमा विमान उड्छ) पनि सफा हुनुपर्ने प्रावधान लागू गरेको छ। यसबाट विमान सेवा कम्पनीहरुमा अन्योल पनि देखिएको छ।
मुस्ताङ दुर्घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको छ। केही दिनमा नै छानबिनि समितिले यसबारेमा जानकारी गराउने नै छ। जोमसोम उडान भरेको तारा एयरको विमान दुर्घटनालाई लिएर विज्ञहरुले विभिन्न तर्कहरु अघि सारेका छन्। कसैले खराब मौसम त कसैले पुरानो विमानलाई दुर्घटनाको कारण पहिल्याएका छन्। तर वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा पुरानो विमानका कारण दुर्घटना हुन नसक्ने दाबी गर्छन्। उनले पुरानो विमानका कारण दुर्घटना नहुने र विमान पुरानो अर्थात् उड्ने समय सकिएपछि चल्दै नचल्ने अवस्थामा पुग्ने बताए।
पाइलटको सेफ्टीमा कहिल्यै पनि कसैले जोखिम नमोल्ने उनको भनाइ छ। जोमसोम उडान गरेको विमानका क्याप्टेन प्रभाकर घिमिरे स्वयं नै स्टल एयरफिल्ड र स्टल एयरक्राफ्टको विज्ञ रहेको उनले सुनाए। नेपालमा स्टल एयरफिल्ड र स्टल एयरक्राफ्टमा विज्ञ घिमिरेसरहको कमै भएको उनको भनाइ छ।
मौसम पूर्वानुमान महाशाखा र विमानस्थल टावरले मौसमसम्बन्धी पूर्ण रिपोर्ट दिएको तर बीचमा अचानक आएको प्रतिकूल मौसमलाई तालमेल गर्न नसक्दा दुर्घटना भएको हुनसक्ने उनको आकलन छ।
अध्यक्ष थापाले नेपालको मौसम बुझ्न सक्दा सम्पति र बुझ्न नसक्दा समस्या हुने किसिमको रहेको बताए। क्याप्टेन घिमिरेले इनरुटमा अचानक आएको प्रतिकूल मौसमको अवस्थालाई म्यानेज गर्न नसक्दा यो दुर्घटना भएको हुनसक्ने उनको अनुमान छ। इनरुटमा आएका समस्याहरुको पाइलट स्वयंले नै समाधान गर्नुपर्ने र गर्न सक्ने उनले बताए।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा थापाले पाइलटले खराब मौसममा नपसेर नजिक रहेको पोखरा फर्किने वा वागलुङको विमानस्थलमा जाने प्रक्रिया चाल्न सकेको भए दुर्घटनाबाट बच्न सकिने अवस्था रहने बताए। उनले भने, ‘प्रभाकर घिमिरे तारा एयरको सेफ्टी डाइरेक्टर पनि हो। उडान भर्ने वा नभर्ने, क्लाउडमा पस्ने–नपस्ने, इनरुट परिवर्तन गरेर क्लाउड क्षेत्र (बादलले घेरेको) पार गर्ने वा मौसम अनुकूल नभए उडान भर्दिन भन्ने अधिकारसमेत पाइलटकै हातमा हुन्छ। एयरलाइन्सले प्रेस दिएर कोही पाइलट उड्दैन।’
उडान भरिसकेपछि सबै अधिकार पाइलटको हातमा हुने भएकोले समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा प्राविधिक कुरा नरहेको थापाले बताए। क्याप्टेनसमेत रहेका थापाले उडान भरिसकेपछिका समस्या अनुभवको आधारमा नै समाधान गर्नुपर्ने बताए। उनले हरेक विमानको आफ्नै लाइफ हुने र तोकेको समयपछि विमान चल्न नसक्ने उनले बताए। पहिले मनसुनको बारेमा नागरिक उड्डयन प्राधिकरणको पहलमा धेरै जानकारी र अपडेटहरु आउने गरेको भएपनि त्यो क्रमशः कम हुँदै गएको उनले बताए।
थापाले भने, ‘एयर ट्राफिक कन्ट्रोलर र पाइलटहरुको बीचमा मौसमको बारेमा जानकारीको कमी हुनु पनि दुर्घटनाको माध्यम बन्न सक्छ।’ अध्यक्ष थापाले हेलिकोप्टरमा दुई जना पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय वैज्ञानिक नभएको तर्क गरे। हेलिकोप्टरमा एउटा मात्रै इन्जिन हुने र सानो ठाउँ हुनाले त्यो प्रभावकारी नहुने उनको तर्क छ।
अध्यक्ष थापाले हेलिकोप्टरको क्षमता अल्टिच्युट बढ्दै जाँदा कम हुँदै जाने र भार पनि कम हुँदै जानुपर्ने मान्यता भएकोले दुईजना पाइलटको अर्थ नरहेको बताए। नागरिक उड्डयन प्राधिकरणले जेठ १७ गते सम्भावित दुर्घटनालाई कम गर्न हेलिकोप्टरमा पनि दुईजना पाइलट अनिवार्य गर्नुपर्ने बताएको थियो।
नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीले नेपालको मौसमको भर नहुने भएकोले मौसमलाई ध्यान दिएर मात्रै उडान भर्नुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘दुर्घटना हुनु नै राम्रो कुरा होइन। यद्यपि हाम्रोमा केही बढीजस्तो देखिएको छ। तर हाम्रो टोपोग्राफिकल कन्डिसन, वेदरको प्याटर्न छिनछिनमा चेन्ज हुने, ठाउँठाउँमा चेन्ज हुने, यी कुराहरुले हाम्रोमा अलि धेरै दुर्घटना अन्य देशको तुलनामा धेरै देखिएको मात्रै हो।’
छानबिन समितिले दिएको प्रतिवेदन पाइलट, विमानस्थल, प्राधिकरण, विमान कम्पनीलगायत सरोकारवाला सबै निकायले पालना गर्नुपर्नेमा उनले जोड दिए।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्व महानिर्देशक क्षेत्रीले पोखराबाट जोमसोम उडान गरेको तारा एयर मौसमका कारण दुर्घटनाग्रस्त भएको हुनसक्ने बताए। उनले अब सरकारले र विमानस्थलहरुले साथै सम्बन्धित निकायले मौसम छलेर कसरी सुरक्षित उडान गर्ने भन्ने कुरामा सोच्न आवश्यक रहेको बताए। खराब मौसम छल्न कुन उपाय अवलम्बन गर्ने जस्ता कुराहरु विस्तृत रुपमा अध्ययन गरेर सरकार, मौसम विभाग र विमानस्थलले सामूहिक रुपमा कार्य गर्नुपर्नेमा उनले जोड दिए। एयरलाइन्स बिजनेसमा एयरलाइन्स भन्दा पनि नियामक निकायको बढी भूमिका रहने भन्दै उनले नियामक निकायले अनुसन्धान कार्य गरिरहेको बताए। पछिल्लो समय पाइलटमाथि विमान संस्थाले दिने गरेको दबाबलाई उठाइए पनि पाइलटलाई दबाब दिने काम कुनै एयरलाइन्सबाट नहुने दाबी गरे।
क्षेत्रीले नेपालमा १५ वर्षभन्दा पुरानो विमान ल्याउन नपाइने कानुन बनेको र विमान पुरानो नहुने बरु त्यसको लाइफटाइम हुने बताए। मौसम विज्ञान विभाग, विमानस्थल टावर र पाइलटबीचमा इन्टर रिलेसन कम हुँदै गएकोमा उनको चिन्ता छ। पछिल्लो समय नागरिक उड्डयन प्राधिकरणले वर्षमा दुई पटक एयर ट्राफिक कन्ट्रोलरको तर्फबाट सिभिल एभिएसनले परीक्षणमूलक कार्यक्रम सञ्चालन गरिरहेको र त्यसमा अझै सुधार गर्नुपर्ने उनले बताए।
उनले भने, ‘टावरसँग पाइलट कनेक्ट हुनुपर्छ। वेदर बिग्रियो भनेर फ्लाइट नै क्यान्सिल गरेर बसेर पनि हुँदैन। बरु यसमा डाउट लागेमा क्यान्सिल गर्ने, डाइभर्ट गर्ने गर्नुपर्छ। नयाँ टेक्नोलोजीलाई विकास गरेर कसरी सुरक्षित बनाउने त्यसमा पनि हामी जानुपर्छ। हाम्रो सेफ्टी पहिलाभन्दा राम्रो भएको छ।’
पूर्वमहानिर्देशक क्षेत्रीले हेलिकोप्टरमा दुईजना पाइलट राख्ने निर्णय सबैको लागि ठिक नभए पनि केही स्थान, परिवेश र हेलिकोप्टरका लागि उचित नरहेको बताए। मौसम प्रतिकूल रहेका बेला एकजना पाइलटले भन्दा दुवै पाइलटको निर्णयले परिपक्वता देखाउने र सभावित दुर्घटनालाई निम्तिन नदिने उनले बताए।