काठमाडौं- सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीसंग फेरि लिखित स्पष्टिकरण सोधेको छ । प्रबन्ध निर्देशक राजभण्डारीलाई हटाउने नियतले सरकारले शुक्रबार तपाईलाई किन नहटाउने भन्दै स्पष्टिकरण मागेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बुधबारको मन्त्रिपरिषदको निर्णय अनुसार राजभण्डारीको कामकारबाहीप्रति असन्तुष्टि जनाउदै सरकारले स्पष्टिकरण मागेको बताए । ‘शुक्रबार लिखित स्पष्टिकरणको लागि टेलिकममा पत्र पठाइएको छौं,’ उनले भने जवाफ आउन बाँकी नै छ ।’
टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले पनि सरकारले प्रबन्धक निर्देशक भण्डारीलाई सोधिएको लिखित स्पष्टिकरणको पत्र शुक्रबार पाएको बताइन् । उनको अनुसार जेठ ३० गते मात्रै पनि पहिलो पटक प्रबन्धक निर्देशक भण्डारीलाई लिखित स्पष्टिकरण सोधिएको थियो ।
‘६ महिनाको सिमा अबधि राखेर टेलिकमले सञ्चालन गरेको र गर्नुपर्ने परियोजना सम्बन्धमा स्पष्टिकरण मागेको थियो,’ उनले थपिन् ‘तर दुई महिना नबित्दै अर्को तपाईलाई किन नहटाउने भन्ने आसयको स्पष्टिकरणको पत्र शुक्रबार बुधबारको मन्त्रिपरिषदको निर्णयअनुसार पठाएको छ ।’
सरकारले यसलाई विधि पुर्याउनका लागि मात्र स्पष्टिकरण सोधेको स्रोतले बतायो। यसरी स्पष्टिकरण सोधेपछि अदालतले हटाउने निर्णय बदर गर्दैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४