बिहीबार, असार ४, २०८३

लोकल मदिराले 'गुल्जार' छन् सीमाका बजार

बिर्ख शाही, नेपाली सिमा नाकाका कमान्डर, भन्छन्, 'हामी यस्ता दुई-चार बोतल ओसारपसार गर्नेलाई समात्दा-समात्दा थाकिसकेका छौँ, तर उनीहरु प्रयास गर्नबाट थाक्दैनन्।'
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

दिनभरको गर्मीले साँझको शितल हावालाई बाटो छाड्दै गर्दा सिमाना पार गरेर भारतबाट नेपालतर्फ लाग्ने भीडको लर्कोमा 'प्रष्ट' परिवर्तन देखिन थाल्छ। भीडमा अघिल्लतिर देखिन्छन् नेपाली - जसमध्ये अधिकांश महिला छन्। दैनिक उपभोग्य सामग्री पारिपट्टी सस्तो पाइने भएकाले उनीहरू भारतमा नै खरिद गर्न रुचाउँछन्। रङ्गिन सारीको पहिरनमा सजिएका दुई महिला मिलेर ठूलो भारी घिस्याउँदैछन्। रिक्साको पछाडि बसेका पुरुषको हातमा पङ्खा छ- जो वेगले आफैँ घुमिरहेको छ। यस लहरमा नेपाल छिर्नेका हात विरलै खाली देखिन्छन्।

National life

घाम अस्ताउँदै जाँदा अँध्यारोले छोप्दै जान्छ अनि अर्को भीडको शृंखला नेपाल प्रवेश गर्छ। यसपटक भित्रिनेमा भने रित्ता हात लिएका भारतीय पुरुष छन्।

पाइन्टभित्र सर्ट हालेका, बिहान पालिस गरिएका जुत्ता लगाएका सरकारी जागिरेलाई सिमानामा उनीहरुका गाडीले उतार्दिन्छन्। दिनभर प्रयोग गरेका औजार झोलामा हालेर साइकलका ‘ह्यान्डल’मा झोला झुन्ड्याएका पुरुष ‘पाइडल’ मार्दै आउँछन्।

९ बजेपछि प्रहरीले छेउछाउका भट्टी बन्द गराउनुभन्दा अघि दुई-चार घुँट्की रक्सी पिउन छिरेका हुन्- यस भीडका सदस्यहरु।

राजनीतिक तनावका शृंखलाबाहेक नेपाल-भारत सिमानाको खुला नीति दुवै देशका जनताका लागि फराकिला आर्थिक विकल्पहरुको उदाहरण बनेको छ। यहाँको लोकप्रिय सवारी साधन मोटरसाइकलको उदाहरण हेरौँ - भारतमा पार्ट-पूर्जा सस्ता छन्, नेपालमा इन्धन।

Shivam cement

यस खुलापनको स्थानीय मद्यपानकर्ताले झनै मज्जाले आनन्द उठाइरहेका छन्। नेपालसँग ६ सय किलोमिटरभन्दा बढी सीमा जोडिएको भारतीय राज्य विहारमा सन् २०१६ देखि मादक पदार्थको बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। त्यसपछि सिमानाका नेपाली बस्तीहरुमा स-साना भट्टी पसल तथा रेस्टुरेन्टको यो उद्योग राम्रैसँग फस्टाएको छ।

नेपालका भट्टीका एउटा कुनामा सस्ता रक्सीका दुई बोतल लिएर बसेका एक भारतीय किसानका अनुसार महिलाकै मतले मुख्यमन्त्रीले निर्वाचन जितिरहेका छन्। किनभने मदिरामा प्रतिबन्ध लगाएदेखि महिला खुसी र आभारी छन्।
मद्यपानले निम्त्याउने आर्थिक समस्या, घरेलु हिंसा, इत्यादिको न्यूनीकरणका लागि लगाइएको यस्तो प्रतिबन्धलाई विहारका महिलाले साथ दिएका छन्। मदिरासँग पक्राउ परे सजाय ठूलै छ। पहिलो पटक मदिरा व्यापार (सेवन) गरेको फेला पर्नेले दशौँ हजार रुपैँया तिर्नुपर्ने हुन्छ। अथवा एक महिना जेल सजाय भोग्नुपर्ने हुन्छ। फेरिफेरि पक्राउ पर्नेले एक वर्षसम्म जेल सजाय भोग्नुपर्ने व्यवस्था विहारमा छ।

राज्यमन्त्री नीतीश कुमारको सरकारका अनुसार यस्तो प्रतिबन्ध पश्चात विहारभित्र हिंसा तथा अपराधका घटनामा कमी आएको छ। यद्यपि, सीमा पार गर्ने सहजताले भने उक्त कानूनको प्रभावकारिता अवश्य कम गरेको छ।

प्रतिबन्धले चुनौती पनि थपेको छ। अदालत मद्यपान सम्बन्धित मुद्दाले भरिएका छन्। राज्यले वर्षेनी मदिराबाट उठ्ने लाखौँ कर गुमाइरहेको छ। तर मदिराको उपभोग जारी छ, दोब्बर अनि तेब्बर मूल्यमा।

नेपालका भट्टीका एउटा कुनामा सस्ता रक्सीका दुई बोतल लिएर बसेका एक भारतीय किसानका अनुसार महिलाकै मतले मुख्यमन्त्रीले निर्वाचन जितिरहेका छन्। किनभने मदिरामा प्रतिबन्ध लगाएदेखि महिला खुसी र आभारी छन्।

तर तिनै किसान गुप्ताजीका अनुसार राज्यको त्यस्तो नीतिले मदिराको मूल्यमा वृद्धि मात्र भएको छ। रक्सी सेवन गरेर कानुन उल्लंघन गरेले गुप्ताजीले आफ्नो पूरा नाम भने बताउन चाहेनन्।

त्यसपछि उनले तेस्रो बोतल पनि किने। गम्छामा पोको पारे। पोकोलाई साइकलको पछाडि च्यापेर ‘म मातेको छैन’ भनी चिच्याउँदै सीमा पारीको विहारतर्फ साइकलको गति बढाए।

नेपाल-भारतको खुला सिमाना फराकिलो छ। त्यस्तै छ सिमा नजिकको ‘मदिरा-दृश्य’को विविधता।

भारतका अलि हुने-खानेहरू जनकपूरसम्म आउँछन्। जहाँ ‘भट्टी’को साटो एसीजडित बार छन्। जहाँ लोकल रक्सीको साटो विदेशबाट आयातित मदिरा पाइन्छ। जहाँ मनमोहक दृश्यहरुले आँखा तान्छन्। अनि कहिले-काहीँ जहाँ अप्रिय दृश्य पनि देखिन्छन्।

जनकपुरको एउटा बारमा मदिराले मात्दै गरेका पुरुष वेटरलाई बोलाउन थाल्छन्। अनि अलि परतिरको अर्को होटलमा बिहारमा लगाइएको प्रतिबन्धको धङधङी अझै देखिन्छ- दुई पुरुष बियरका बोतल टेबलमुनि लुकाएर रित्याउँछन्।

नेपालको एक विश्वविद्यालयमा प्राध्यापन पेसा गर्ने उमेश यादवका अनुसार मातेका मान्छेले खडा गर्ने सानातिना दुईचार ओटा समस्याबाहेक खुला सीमाले ठूलो आर्थिक आयाम बोकेको छ। 'मातेपछि अवश्य समस्या सिर्जना हुन्छ,' उनी भन्छन्, 'तर प्रहरीले सुल्झाइहाल्छ।'

सिमानाको मरुवाही क्षेत्रमा धेरैजसो पिउने कार्यक्रम आँपका बोटमुनि हुने गर्छ। यहाँ हुने वनभोजमा खानाका भाँडामा भन्दा ध्यान बोतलका सीसीमा हुने गर्छ।

स-साना समूहमा भएका पुरुष प्लास्टिकका बोतलबाट घुँट्क्याउदै मजाक गर्न व्यस्त बन्छन्। छेउमै आ-आफ्ना साइकल अड्याएका हुन्छन्। अरु रुखमुनि बसेर हात थापिरहेका हुन्छन्- आफ्नो भागको बोतलको प्रतीक्षामा। कोही साथीहरुको साथमा पिइरहेका हुन्छन्। कोहि अस्ताउँदो घामलाई हेर्दै आफ्नै सोचका साथमा।

एक ग्राहक रविकुमारलाई ‘गोल्डेन ओक’ चाहिएको रहेछ। गोल्डेन ओक स्थानीय सस्तो मदिरा हो। भारततिर औँल्याउदै कुमार भन्छन्, 'पारि रक्सी पाइँदैन।' उनी पिउनका लागि हप्तामा दुई पटक नेपाल धाउँछन्, त्योभन्दा बढी पिउन अर्थले साथ नदिने उनको भनाइ छ।

बगैँचाबाट डेढ किलोमिटर परको एउटा भट्टीका मालिकले सुरक्षालाई मध्यनजर गर्दै सीसी क्यामेरा जोडेका थिए। तर, आफूलाई खिचिरहेको डरले ग्राहक आउन बन्द भएपछि उनले सीसी क्यामेरा हटाउनु परेको थियो।

'हामी पहिले शिक्षासम्बन्धी सामग्री बेच्थ्यौँ, अहिले मदिरा बेच्छौँ,' कुन्दन मेहता भन्छन्। कुन्दन ५ वर्षअघिसम्म विहारमा स्टेसनरी पसल चलाउँथे। त्यसपछि उनले नेपालमा होटल नवरङ्ग खोले। मुस्कुराउँदै उनी भन्छन्, 'आजभोलि म ‘पढाई धेरै भयो केटा हो, अब पिउन थाल’ भन्ने गरेको छु।'

भित्र, बाँसको खम्बामा अड्याइएको टेलिभिजनमा क्रिकेटको प्रत्यक्ष प्रसारण भइरहेको छ। भित्ताभरि बलिउडका सुन्दर अभिनेत्रीहरुका पोस्टर देखिन्छन्, अनि साथै हिन्दू गुरु र घोडाका तस्बिर पनि। 

एक ग्राहक रविकुमारलाई ‘गोल्डेन ओक’ चाहिएको रहेछ। गोल्डेन ओक स्थानीय सस्तो मदिरा हो। भारततिर औँल्याउदै कुमार भन्छन्, 'पारि रक्सी पाइँदैन।' उनी पिउनका लागि हप्तामा दुई पटक नेपाल धाउँछन्, त्योभन्दा बढी पिउन अर्थले साथ नदिने उनको भनाइ छ।

बुढीऔँला ठड्याएर मदिरालाई संकेत गर्दै 'पिउनलाई' हातकै संकेतले 'पैसा चाहिन्छ' भन्छन्।

सिमानाबाट एक घण्टा टाढाको बैंकका कर्मचारी २२ वर्षीय अंकितको हप्ता निकै कस्टकर बनेको रहेछ। हप्ताभरि उनलाई सयौँबाट ऋण उठाउनु पर्ने जिम्मेवारी सुम्पिइएको रहेछ। बस चढेर कामदेखि सिधैं उनी यहाँको तारेको माछा खान आएका हुन्। अलिकति मदिरा बोकेर फर्किनुपर्ने भएकाले उनले पनि आफ्नो पूरा नाम खुलाउन चाहेनन्।

'मदिराले कामको तनावबाट अलिअलि राहत दिन्छ,' उनले भने।

अंकितले बिल तिर्दै दुई बोतल मदिरा पनि खरिद गर्छन्। काउन्टरमा सुन्तले रङ्गको सारी लगाएकी नेपाली महिला कुरिरहेकी हुन्छिन् - अलिकति पैसा कमाउने आसमा। उनको दैनिकी नेपालबाट अंकितजस्तै पुरुषका लागि भारतसम्म बोकेर मदिरा पुर्याइदिनमा बित्छ।

'ल हिँडौँ, बस छुट्ला,' अंकितले ती महिलालाई भन्छन्।

'रोजी-रोटी' भन्दै ती महिला मुसुक्क हाँस्छिन्।

सारीमा बेरेर कम्मरमा बोतल अड्याएकी उनी बाटो तताउँछिन्।

बिर्ख शाही, नेपाली सिमा नाकाका कमान्डर, भन्छन्, 'हामी यस्ता दुई-चार बोतल ओसारपसार गर्नेलाई समात्दा-समात्दा थाकिसकेका छौँ, तर उनीहरु प्रयास गर्नबाट थाक्दैनन्।' बिर्खको सैनिक टोलीले थोरै मात्रामा बोक्नेलाई केही नगर्ने उनले बताए। उनीहरुको ध्यान ठूलै मात्रामा मदिरा ओसारपसार गर्नेहरूमाथि छ।

(न्यूयोर्क टाइम्सका लागि मुजिब मसल र भद्र शर्माले तयार पारेको यो सामग्रीको भावानुवाद विनायक कार्कीले गरेका हुन्।)

प्रकाशित: Jun 03, 2022| 08:53 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।