दैलेख- जिल्लाको नारायण नगरपालिकाले मानसिक स्वास्थ्यमा समस्या परेका बिरामी र तीनका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। एघार वडा रहेका नगरपालिकामा हालसम्म मानसिक स्वास्थ्य समस्यामा परेका १८९ परिवारका एक हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो।
विनियोजित बजेटबाट निःशुल्क बिमाका लागि रु सात लाख ५४ हजार ६०० खर्च भएको शाखा प्रमुख खड्काले बताए। उनले नारायण–५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरी मानसिक समस्या भएका नागरिकलाई परामर्श दिने गरिएको बताए।
मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिको उपचारमा सहजता ल्याउने उद्देश्यले उहाँहरूसहित परिवारका सदस्यको निःशुल्क स्वास्थ्य बिमा गरिएको नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बताए।
नारायण नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरेको बजेटबाट मानसिक स्वास्थ्य समस्यामा परेका १८९ परिवारका एक हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए।
प्रमुख खड्काले नागरिकमा पछिल्लो समय मानसिक समस्या बढ्दै गएकाले नगरपालिकाले १० जना मनोसामाजिक परामर्शकर्तामार्फत सेवा दिँदै आएको बताए। उनले आगामी दिनमा यस्ता प्रकारका नागरिक लक्षित कार्यक्रमहरूलाई नगरपालिकाले निरन्तरता दिने बताए।