भक्तपुर- विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमिको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष मध्यपुरथिमी-५, चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्ने भएका छन् ।
चोडेमा चेंया पुन्हिया मेय प्वा : खनेगु जात्रा व्यवस्थापन समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोप हुन लागेको जात्रा र परम्परालाई जीवित राख्न आफूले यस वर्ष जिब्रो छेड्न लागेको बताए ।
स्थानीय युवाको पहलमा गत वर्ष बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर रोकिएको जात्रालाई पुनःसञ्चालनमा ल्याएपछि यस वर्ष पनि जात्रालाई निरन्तरता दिन श्रेष्ठ तयार भएका हुन् ।
श्रेष्ठले आफ्ना काका कृष्ण नानिचा श्रेष्ठले तीन पटकसम्म जिब्रो छेडेकाले आफू पनि यो जात्रा नरोकियोस् र निरन्तरता पाओस् भनेर जिब्रो छेड्न तयार भएको बताए ।
वीरेन्द्रभक्तले यस वर्ष आफ्ना पिताको आशोच बारेकाले जिब्रो छेड्न नहुने भएपछि बालक तयार भएका हुन् । जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिको श्रेष्ठ थरकै हुनुपर्ने प्रचलन छ ।
भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ जिब्रो छेडाएर सञ्चालन हुने जात्राका लागि आवश्यकपर्ने सियो बनाउन शनिबार सियो बनाउनेकर्मी नाय रामभक्त नकर्मीलाई पूजा लगेर भोज खुवाएपछि सियो निर्माण शुरु भएको छ । सियो निर्माण सकिएपछि करीब ४५ दिन फलामको १० इञ्च लामो सियोले जिब्रो छेडाउने प्रचलन छ । सियोलाई तेलमा डुबाएर राख्ने प्रचलन छ ।
आर्थिक अभावका कारण थिमीको जिब्रो छेड्ने जात्रा अब लोप हुन नदिने समितिका सदस्य रुपेश सुवा श्रेष्ठले जानकारी दिए । स्थानीयबाट संकलित रकमबाट जात्रा सञ्चालन गरिने भएको हो । यसका लागि गत वर्ष नै स्थानीयले समिति बनाएका थिए ।
पच्चीस वर्षअघिदेखि बन्द भएर लोप भएको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले विसं २०५२ मा जिब्रो छेडेर सञ्चालनमा ल्याएर आफैँले विसं ०५७ र ०६३ मा गरी १० वर्षमा तीनपल्ट जिब्रो छेडाएका थिए । त्यसबीचका समयमा भने जात्रा सञ्चालन गर्न सकिएको थिएन । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४