काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका छन्।
गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले जानकारी दिए।
समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन्। यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाई नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको मन्त्रालयका सूचना अधिकारी भट्टराईले जानकारी दिए।