काठमाडौं- तनहुँ र दाङबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम गाँजा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका–१ बस्ने २४ वर्षीय विशाल सुनार र सोही नगरपालिका–९ बस्ने २४ वर्षीय आकाश तामाङ रहेका छन्। ग१ख ६०१९ नम्बरको बसलाई अस्थायी प्रहरी पोष्ट मुग्लिङ पूलजिपबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
दाङको घोराही उपमहानगरपालिका–१७ भानु महराबाट करिब ७ ग्राम ८७ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१४ बस्ने २४ वर्षीय पुजनराज कुँवर लगायत छन्।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१७ भानु महरा बस्ने २७ वर्षीय सुबास जिएमको घरमा तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।