काठमाडौं– मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको ट्वीनअटर जहाजको ब्ल्याक बक्स भेटिएको छ।
शव संकलनका लागि गएको टोलीले आज बिहान ब्ल्याक बक्स भेटाएको हो। ककपिट भ्वाइस रेकर्डर भनिने यो बक्समा चालक दलका सदस्यले एकआपसमा गरेको संवाद र टावरसँग भएको संवाद रेकर्ड भएको हुन्छ। जहाज दुर्घटनामा पर्दा पनि यो नष्ट हुँदैन।
ब्ल्याक बक्सबाट दुर्घटनाको अन्तिम बेलासम्म चालक दलबीच भएका कुराकानीसँगै अन्य विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ। ब्ल्याक बक्स भेटिएसँगै उद्धारमा खटिएका सुरक्षाकर्मी फिर्ता भएका छन्।
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव संकलन भइसकेको छ। आइतबार बिहानदेखि हराएको जहाज १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। जहाजमा तीन जना चालक दलका सदस्य र १९ जना यात्रु थिए।
सरकारले जहाज दुर्घटनाको अनुसन्धान गर्न जाँच आयोग गठन गरिसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वरिष्ठ एरोनटिकल इञ्जिनियर रतिशचन्द्रलाल सुमन इन्चार्ज रहने गरी ५ सदस्यीय आयोग गठन गरिएको हो।
आयोगका सदस्यहरूमा क्याप्टेन दीपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ र वरिष्ठ मौसमविद् मणिरत्न शाक्य रहेका छन्। सदस्य सचिवमा भने सहसचिव बुद्धिसागर लामिछाने छन्।