राजविराज- भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी फरार रहेका देवरलाई बोदेबर्साइनबाट खटिएका प्रहरीले आज पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साह रहेको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएका वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेश पालको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो।
गत वर्ष २०७८ माघ २१ गते उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई घरमा खाना पकाइरहेको अवस्थामा जीउभरि पेट्रोल छर्की आगो लगाएका थिए।
उपचारका क्रममा भाउजू राजकुमारीको मृत्यु भएको थियो। भाउजूको मृत्युपश्चात् राजन फरार रहँदै आएका थिए। यसैबीच पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।